२ खर्ब ६६ अर्बको प्रस्ताव, ३३ अर्ब बराबरको विदेशी लगानीको प्रतिवद्धता स्वीकृत



काठमाडौं । उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारीले चालु आर्थिक वर्षको चैत मसान्तसम्म उद्योगमा ३३ अर्ब बराबरको विदेशी लगानीको प्रतिवद्धता स्वीकृत भएको बताएका छन् ।

महानिर्देशक तिवारीले चालु आर्थिक वर्ष २०७८÷०७९ को चैत मसान्तसम्म विदेशी लगानीसँग सम्बन्धित १५५ वटा विभिन्न परियोजनाहरु प्रस्ताव भएर विदेशी लगानी स्वीकृत भइसकेको बताएका हुन् ।

उद्योग विभागले चालु आर्थिक वर्षको चैत मसान्तसम्म २ खर्ब ६६ अर्ब रुपैयाँ बराबरको कुल प्रस्तावित विदेशी तथा स्वदेशी लगानीको उद्योग दर्ता गरेको छ । गत आर्थिक वर्षमा सोही अवधिमा विदेशी तथा स्वदेशी लगानीमा १ खर्ब ३९ अर्ब रुपैयाँ बराबरको विदेशी तथा स्वदेशी लगानीका उद्योग दर्ता भएको विभागले बताएको छ ।

तिवारीले उद्योग विभागमा दर्ता प्रक्रियालाई नियाल्दा क्रमशः उद्योग दर्ता गर्ने, विदेशी लगानी स्वीकृत गर्ने क्रम बढीरहेको बताए । महानिर्देशक तिवारीले बिस्तारै उद्योगहरु आफ्नो क्षमतामा सञ्चालन हुने र नियमित उत्पादनतर्फ अग्रसर भइरहेको दाबीसमेत गरे । उनले स्वदेशी लगानीका उद्योगहरु चालु आर्थिक वर्षमा अहिलेसम्म २१६ वटा उद्योग विभागमा दर्ता भएको बताए ।

महानिर्देशक तिवारीले उद्योगहरुले उत्पादन क्षमता बढाउने, पूँजी वृद्धि गर्ने, स्थानान्तरण गर्ने लगायतका उद्योग प्रशासनसँग सम्बन्धित कामहरु पनि उद्योग विभागमा वृद्धि भइरहेको बताए ।

‘कोरोना भाइरसको असर सबै क्षेत्रमा परेको छ । उद्योगधन्दा, लगानी क्षेत्रलाई पनि यसले ठूलो नोक्शान पु¥याएको छ । बिस्तारै अब हामी यसबाट बाहिर निस्किँदै छौँ । उद्योग विभागको हिसावले हेर्दा अहिले उद्योग दर्ता गर्ने, विदेशी लगानी स्वीकृत गर्ने क्रम बिस्तारै बढ्दो छ । कोभिडको बेलामा उद्योगधन्दाहरु पूर्ण क्षमतामा चल्न नसकेका, धेरै उद्योगहरु बन्द भएका नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, राष्ट्रिय योजना आयोगले पनि अध्ययन गरेर त्यसको प्रतिवेदन पनि सार्वजनिक भइसकेका छन् ।’ उनले भने ।

अब बिस्तारै उद्योगहरु आफ्नो क्षमतामा सञ्चालन हुने र नियमित उत्पादनतर्फ अग्रसर भएको उनले बताए । कोरोना महामारीकै बीच हालसम्म करिव ३३ अर्ब बराबरको विदेशी लगानीको प्रतिवद्धता र त्योसँग सम्बन्धित भएर १५५ वटा विभिन्न परियोजनाहरुमा प्रस्ताव भएर विदेशी लगानी स्वीकृत भइसकेको उनले जानकारी दिए । विभागले अन्य स्वदेशी लगानीका विभिन्न उद्योगहरु पनि यो आर्थिक वर्षमा अहिलेसम्म २१६ वटा उद्योगहरु हामीले दर्ता गरिसकेको छ ।

‘विभिन्न अरु उद्योगहरुले उत्पादन क्षमता बढाउने, पूँजी वृद्धि गर्ने, स्थानान्तरण गर्ने लगायतका उद्योग प्रशासनसँग सम्बन्धित कामहरु अहिले भइरहेका छन् । कोभिडपछि बिस्तारै हामी अघि बढीरहेका छौँ,’ उनले भने ।

महानिर्देशक तिवारीले हालसम्म उद्योग विभागमा दर्ता भएका उद्योगहरुमध्ये ५९ प्रतिशत उर्जामा आधारित रहेको र लगभग २२ प्रतिशत उद्योग उत्पादनमूलक क्षेत्रमा रहेको बताए । उनले विदेशी लगानीका उद्योगहरुमा पनि एक तिहाई उद्योगहरु सर्भिस सेक्टरमा र म्यानुफ्याक्चरिङ क्षेत्रमा करिव २३ प्रतिशतमात्र रहेको जानकारी दिए । तिवारीका अनुसार उत्पादनमुलक उद्योगहरुको हिस्सा अपेक्षाकृत रुपमा उद्योगको संरचनाभित्र बढाउन सकिएको छैन ।

‘उद्योग विभागमा दर्ता भएका उद्योगहरु मध्ये ५९ प्रतिशत इनर्जी बेशमा छन् । सर्भिस सेक्टर पनि हाम्रोमा ठूलो छ । हाम्रो उद्योगहरुमा २०÷२२ प्रतिशत उद्योग म्यानुफ्याक्चर सेक्टरमा छन् । विदेशी लगानीको प्रस्पेक्टिभबाट हेर्ने हो भने विदेशी लगानीको सबैभन्दा ठूलो एक तिहाई उद्योगहरु सर्भिस सेक्टरमा नै छन् ।’ उनले भने, ‘म्यानुफ्याक्चरिङ क्षेत्रमा हेर्ने हो भने विदेशी लगानीका उद्योगहरु पनि करिव २३ प्रतिशत छन् । उत्पादनमुलक उद्योगहरुको हिस्सा अपेक्षाकृत रुपमा हाम्रो उद्योगको संरचनाभित्र बढाउन सकेका छैनौँ ।’

तिवारीले उद्योग संरचनालाई बलियो बनाउन बनाइएको एकलबिन्दु सेवाकेन्द्रबाट अपेक्षाकृतरुपमा सेवा प्रवाह गर्न नसकेको बताए । उद्योग प्रशासनसँग सम्बन्धित सबै कामहरु, सबै सेवा सुविधाहरु एकै थलोबाट उपलब्ध गराउने लक्ष्यका साथ शुरु गरिएको एकलबिन्दु सेवाकेन्द्रमा सरकारका निकायहरु सबैको प्रतिनिधित्व हुने गरी बनाए पनि सबै एजेन्सीका प्रतिनिधित्व हुन नसक्नु र प्रतिनिधित्व भएकालाई पूर्णरुपमा अधिकार प्रदान गर्ने, छुट्टै कानून बनाउने वा पर्याप्त अधिकार दिने कुरामा अझै पनि कमी भएको उनको भनाइ थियो ।


क्लिकमान्डु