ऊर्जामन्त्री भुसालद्वारा जलविद्युत् आयोजनाका लगानी गर्न एडीबी उपाध्यक्षसमक्ष आग्रह



काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग एसियाली विकास बैंक (एडीबी)का उपाध्यक्ष सिचीन छिनबीच भेट भएको छ ।

सोमबार मन्त्रालयमा भएको भेटमा मन्त्री भुसालले नेपालको विकासमा एडिबीले पुर्याएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा ऊर्जा उत्पादन र वितरणमा महत्वपूर्ण सहयोग हुने विश्वास व्यक्त गरिनु् ।

ऊर्जा एवं सिँचाइका क्षेत्रको विकासबाट नेपाललाई समृद्ध बनाउन सकिने भएकाले त्यसमा अन्तर्राष्ट्रिय निकायसँग सहयोगको अपेक्षा रहेको मन्त्रीको भनाइ थियो ।

पछिल्लो समय नेपाल–भारतबीच ऊर्जा क्षेत्रमा महत्वपूर्ण सहकार्य शुरु भइ विद्युत व्यापार शुरु भएको उल्लेख गर्दै मन्त्री भुसालले नेपालका ठूला आयोजना सम्पन्न गरेर अझै क्षेत्रीय स्तरमा व्यापार गर्न सकिने नीतिगत बाटो पनि खुलेको बताइन् ।

‘बङ्गलादेश, भुटान, भारत र नेपालमाझ ऊर्जा व्यापार गर्ने नीतिगत समझदारी जुटेको छ । केही वर्षभित्र नै हामीले ती देशमा विद्युत निर्यात गर्ने अवस्था आउँछ,’ उनले भनिन् ।

आगामी दिनमा देशभर बाह्रै महिना गुणस्तरीय विद्युत उपलब्ध गराउने गरी ऊर्जा मन्त्रालयले तयारी गरिरहेको जानकारी गराउँदै मन्त्री भुसालले जलासययुक्त जलविद्युत आयोजनामा लगानी गर्न एडिबीलाई आग्रह गरेकी छन् ।

उनले पूर्व–पश्चिम प्रशारणलाई निर्माणमा पनि एडिबीको सहयोग विस्तार हुने विश्वास व्यक्त गरिन ।

त्यस अवसरमा एडिबीका उपाध्यक्ष छिनले नेपालले ऊर्जा क्षेत्रमा महत्वपूर्ण काम गरेको र अन्तरदेशीय विद्युत व्यापार नेपालका लागि महत्वपूर्ण भएको उल्लेख गरे ।

‘भारतसँग ३६५ मेगावाट विद्युत व्यापार गर्ने सहमति नेपालका लागि महत्वपूर्ण खुड्कीला हो, यसले आगामी दिनमा फड्को मार्ने मैले विश्वास गरेको छु,’ उनले भनेका थिए र

जलविद्युत् र जलस्रोतका क्षेत्रमा एशियाली विकास बैंकले निरन्तर सहयोग गर्ने विश्वास दिलाउँदै अध्यक्ष छिनले एडिबीको लगानी रहेका महत्वपूर्ण १० वटा महत्वपूर्ण आयोजनाहरूको कार्यान्वयन अवस्थालाई आफूहरूले नियालीरहेको बताए । उनले विद्युतको आन्तरिक खपतमा जोड दिन सुझाव दिँदै कोइलाबाट सञ्चालन भएका उद्योगलाई पनि विद्युतले प्रतिस्थापन गर्नुपर्नेमा जोड दिए ।


क्लिकमान्डु