हेटौंडा कपडा उद्योग र बुटवल धागो कारखाना निजी क्षेत्रलाई सञ्चालन गर्न दिने सरकारको निर्णय



काठमाडौं। सरकारले लामो समयदेखि बन्द रहेका दुई उद्योग सञ्चालनको जिम्मेवारी निजी क्षेत्रलाई दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको बैठकले २०५७ सालदेखि बन्द रहेका हेटौंडा कपडा उद्योग र बुटवल धागो कारखाना निजी क्षेत्रलाई सञ्चालन गर्न दिने निर्णय गरेको अर्थमन्त्रालय स्रोतले जानकारी दिएको छ ।

‘मन्त्रिपरिषदले निजी क्षेत्रलाई लिजमा उद्योग सञ्चालन गर्न दिने सैद्दान्तिक निर्णय गरेको छ,’ स्रोतले भन्यो, ‘अब केही दिनमा उद्योग कसरी कसलाई सञ्चालन गर्न दिने, सरकारले के–कस्तो सहुलियत दिने भन्ने विषयमा मोडालिटी तयार हुनेछ ।’

नोक्सानमा रहेका र बन्द भएका उद्योग निजी क्षेत्रलाई निश्चित मोडालिटीमा सञ्चालन गर्न दिने गरी मन्त्रिपरिषदले निर्णय गरेको स्रोतको भनाइ छ ।

विगतमा जस्तो यस पटक सरकारले उद्योगको सम्पत्ति बिक्री नगरी निश्चित अवधिका लागि लिजमा उद्योग सञ्चालन गर्न दिन लागेको हो ।

यसअघि नेपाल धागो उत्पादक संघले सरकारले उद्योग सञ्चालन गर्न दिए ३ हजार ५ सय जनालाई रोजगारी दिने गरी उद्योग मन्त्रालयमा प्रस्ताव पेश गरेको थियो।

संघले गार्मेण्ट, होजियारी, धागो उत्पादन, कपडा उत्पादनमा रहेका व्यवसायीको लगानीमा कम्पनी स्थापना गर्दै अन्तर्राष्ट्रिय स्तरको व्यवस्थापन कम्पनी ल्याई उद्योग चलाउने प्रस्ताव उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पेश गरिसकेको छ ।

संघले १ अर्ब रुपैयाँ सेयर पूँजी लगानी गर्ने, सरकारले सहुलियतपूर्ण ब्याजदरमा ३ अर्ब रुपैयाँ ॠण लगानी गर्नुपर्ने समेत प्रस्ताव गरिएको छ ।

संघले विद्युत् महशुलमा सहुलियत दिए विदेशमा निर्यात गर्न सक्ने गरी प्रतिस्पर्धी मूल्यमा लत्ताकपडा उत्पादन गर्ने समेत प्रस्ताव गरिएको छ ।

उद्योग मन्त्रालयले गरेको अध्ययनमा समेत निजी क्षेत्रबाट उद्योग चलाउँदा सरकारलाई फाइदा हुने र बन्द रहेका संरचना समेत प्रयोगमा आउने भन्दै हेटौंडा कपडा उद्योग र बुटवल धागो कारखाना सञ्चालन गर्नुपर्ने सुझाव दिइएको थियो ।

उद्योग मन्त्रालयको प्रस्तावमा अर्थमन्त्रालय सहमत भएपछि मन्त्रिपरिषदको बैठकले रुग्ण उद्योग निजी क्षेत्रलाई सञ्चालन गर्न दिने निर्णय गरेको हो ।


क्लिकमान्डु