ठूला करदाता कार्यालयले ३ दिनमा २१ अर्ब राजस्व उठायो



काठमाडौं । ठूला करदाता कार्यालयले ३ दिनमा २१ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ ।

ठूला करदता कार्यालयका प्रमुख शिवलाल तिवारीका अनुसार चैत २८ गते २ अर्ब, २९ गते ८ अर्ब ५० करोड र ३० गते १० अर्ब ५० करोड रुपैयाँ राजस्व संकलन भएको हो ।

कार्यालयले चालु आर्थिक वर्षको चैत मसान्तसम्म १ खर्ब ३० अर्ब रुपैयाँ कर संकलन गरेको छ । जुन कार्यालयलाई चालु आर्थिक वर्षको चैत मसान्तसम्म दिइएको लक्ष्यको ८६ प्रतिशत हो ।

आन्तरिक राजस्व विभागले ठूला करदाता कार्यालयलाई चालु आर्थिक वर्षको चैत मसान्त सम्म १ खर्ब ५१ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य दिएको थियो ।

चालु आर्थि वर्षमा लक्ष्य अनुसार राजस्व संकलन नभए पनि गत वर्षभन्दा १० अर्ब रुपैयाँ बढी राजस्व संकलन भएको छ । कार्यालयले गत आर्थिक वर्षमा चैत मसान्तसम्म १ खर्ब २० अर्ब रुपैयाँ राजस्व संकलन गरेको थियो ।

चालु आर्थिक वर्षमा कार्यालयमा करदाताको संख्या घट्नुको साथै राजस्व लक्ष्य पनि धेरै भएकाले लक्ष्य अनुसार राजस्व संकलन हुन नसकेको कार्यालय प्रमुख तिवारीले जानकारी दिए ।

‘चालु आर्थिक वर्षमा लक्ष्यको ८६ प्रतिशत राजस्व संकलन गरेपनि गत वर्षभन्दा १० अर्ब रुपैयाँ बढी राजस्व संकलन गरेका छौँ,’ तिवारीले क्लिकमाण्डूसँग भने, ‘असार मसान्तसम्म पनि गत वर्षभन्दा बढी नै राजस्व संकलन हुन्छ ।’


क्लिकमान्डु