नबिल बैंकद्वारा नयाँवर्षमा क्यूआरमार्फत् हुने कारोबारमा क्यासब्याक योजना शुरु



काठमाडौं । नबिल बैंकले महिला तथा युवा क्यूआर मर्चेन्टलाई लक्षित गर्दै नयाँवर्षको अवसरमा क्यूआर कारोबारमा आधारित क्यासब्याक योजना सार्वजनिक गरेको छ ।

नबिल बैंक र संयुक्त राष्ट्र पूँजी विकास कोषको सहकार्यमा आधारित ‘क्यूआर कोड महिला र युवाका लागि नबिल बैंक डिजिटल प्रवद्र्धन’ परियोजना अन्तर्गत यो योजना शुरु गरिएको हो ।

विशेष गरी कोभिड–१९ पछिको अवस्थामा डिजिटल वित्तीय समाधानमार्फत महिला र युवा उद्यमीहरूको प्रवर्द्धन गर्ने उद्देश्यको साथ यो योजना शुरु गरिएको छ ।

संयुक्त राष्ट्र संघको परिभाषा अनुसार १८ देखि २४ वर्षको उमेर भएका युवा उद्यमी जसको स्वामित्वमा व्यवसाय भएको वा जसले प्रत्यक्ष रुपमा व्यवसाय सञ्चालन गरिरहेकालाई युवा भनिन्छ ।

शुरुमा एक हप्ताका लागि सञ्चालन गरिने योजनामा महिला तथा युवा क्यूआर मर्चेण्टले गर्ने क्यूआर एवं महिला तथा युवा क्यूआर मर्चेन्टले गर्ने क्यूआर कारोबारमा ५ प्रतिशत वा अधिकतम प्रतिकारोबार २०० रुपैयाँ र प्रतिदिन प्रतिमर्चेन्ट अधिकतम ५०० रुपैयाँसम्म क्यासब्याक प्रदान गरिनेछ । यो योजना २०७९ वैशाख १ गतेदेखि लागू हुनेछ ।

योजनामार्फत् नबिल बैंकले ठूलो मात्रामा नयाँ महिला र युवा क्यूआर मर्चेन्टलाई बैकिङ्ग च्यानलमा भित्र्याउने, उनीहरुलाई डिजिटल वित्तीय समाधानहरू प्रदान गरी दिगो वित्तीय रूपान्तरणलाई बढावा दिने लक्ष्य लिएको छ ।


क्लिकमान्डु