राष्ट्र बैंकले गर्यो दिपेन्द्र अग्रवालको गोल्डम्यान इन्भेस्टमेन्टको बैंक खाता रोक्का



काठमाडौं । नेपाल राष्ट्र बैंकले गोल्डम्यान इन्भेस्टमेन्ट कम्पनीको बैंक खाता रोक्का गरेको छ ।

राष्ट्र बैंकले चैत तेस्रो साता सबै बैंक तथा वित्तीय संस्थालाई पत्राचार गर्दै उक्त कम्पनीको नाममा रहेको खाता बन्द गर्न निर्देशन दिएको छ । कम्पनीले १० वर्षमा १०० गुणा प्रतिफल दिने भन्दै सर्वसाधारणलाई लगानी गर्न आह्वान गरिरहेको थियो ।

कम्पनी खोलेर निश्चित अवधि तोकेर नै १०० गुणा प्रतिफल दिने भन्दै प्रचार गरेपछि धितोपत्र बोर्डले के आधारमा कम्पनीले उक्त प्रतिफल दिन सक्छ प्रश्न उठाएको थियो ।

अहिलेसम्म कुनै पनि आम्दानी नगरेको कम्पनीले सर्वासाधारणबाट उक्त पैसा उठाएर प्रतिफल के कसरी दिन सक्छ भन्दै अनुसन्धानको लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, अर्थ मन्त्रालय, अर्थमन्त्रालयमार्फत गृह मन्त्रालयमा समेत पत्र पठाएको थियो ।

सेयर लगानीकर्ता दीपेन्द्र अग्रवालले सञ्चालन गरेको कम्पनीले सामाजिक सञ्जाल, कम्पनीको वेवसाइट, युटुबमा भिडियो मार्फत पैसा संकलन गर्न लागेको र त्यसले वित्तीय अपराध र गठी गर्न खोजेको र त्यसलाई प्रश्रय दिन खोजेको भन्दै यस विषयमा राष्ट्र बैंकमा समेत उजुरी पुगेको थियो । उजुरी पुगेपछि राष्ट्र बैंकले कम्पनीको खाता रोक्का गरेको स्रोतको दाबी छ ।


क्लिकमान्डु