भोलिदेखि ‘क्यूएफएक्स दरबार मल’ सिनेमा हल सञ्चालन हुँदै, टिकट मूल्य १२ सय



काठमाडौं । दरबारमार्गस्थित क्यूएफएक्स दरबार मल सिनेमा हल नयाँवर्षदेखि सञ्चालनमा आउने भएको छ ।

वैशाख १ गतेदेखि भारतीय सिनेमा केजीएफ च्याप्टर २ र ए मेरो हजुर ४ चलचित्र चल्नेछन् । जसमा सिनेमा हलमा कुल ८ वटा शो देखाइनेछ । जसमा केजीएफ च्याप्टर २ ले शुरुवाती दिनमा ६ शो पाएको छ भने ए मेरो हजुर ४ ले २ वटा शो पाएको छ ।

दरबार मल सिनेमा हल क्यूएफएक्ससँग जोडिएको पछिल्लो सिनेमा घर हो । यसअघि क्यूएफएक्स अन्तर्गत काठमाडौं सुन्धाराको सिभिल मल, ठमेलको छाँया सेन्टर, ललितपुरको लबिम मल, क्यूएफएक्स भक्तपुर, क्यूएफएक्स वन स्टप, क्यूएफएक्स दमौली, क्यूएफएक्स बुटवल, क्यूएफएक्स जाल्मा, क्यूएफएक्स बिराटनगर र क्यूएफएक्स बागेश्वरी सञ्चालनमा छन् ।

‘यहाँ सबै जनाका लागि लक्जरी सिट राखिएको छ । सिटमा हुने बटन थिचेर सुत्न मिल्ने पनि बनाउन सकिन्छ । हलमा सिनेमा देखाइने पर्दा १३/३० फिट राखिएको छ,’ सञ्चालक राजेन्द्र शाक्यले भने ।

दर्शकले सिनेमा हेर्दा खर्चेने समय आरामदायी होस् र सेवा सुविधा पनि सोही अनुसारले पाउन सकून भन्ने उद्देश्य रहेको उनको भनाइ छ ।

यो सिनेमा हलमा टिकट मूल्य भने अन्य सिनेमा हलको तुलनामा महंगो तोकिएको छ । तर टिकट मूल्य अनुसार दर्शकले सेवा सुविधा पनि पाउने शाक्यको भनाइ छ ।

उनका अनुसार वैशाख १ गतेको शोमा दुबै सिनेमा हेर्नका लागि टिकटको मूल्य १२ सय रुपैयाँ तोकिएको छ ।

‘हामीकहाँ उपलब्ध हुने सुविधा नै हो, एउटा हलमा ५० वटा मात्रै सिट हुनेछन् । सबै फोल्डिङ सिट हुनेछन् । सुतेरै सिनेमा हेर्न सकिन्छ,’ शाक्यले भने ।


क्लिकमान्डु