विद्युतीय ऊर्जा प्रयोग गरेर रसायनिक मल उत्पादन कम्पनी स्थापना गर्छौः मन्त्री भुसाल



काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विद्युतीय ऊर्जा प्रयोग गरेर रसायनिक मल उत्पादन कम्पनी स्थापना गर्न लागेको बताएकी छिन् ।

नेपालका लागि क्यानाडाका नवनियुक्त राजदूत क्यामरुन डिन म्याकेले सँगको भेटमा यस्तो बताएकी हुन् । उनले यी क्षेत्रमा क्यानाडाले आर्थिक तथा प्राविधिक सहयोग गर्न सक्ने जानकारी गराइन् ।

‘विद्युत खपतका लागि हाल प्रयोग हुँदै आएको पेट्रोलियम सार्वजनिक सवारी साधनलाई विद्युतीय साधनमा रुपान्तरण गर्दै छौँ’ उनले भनिन् ‘विद्युतीय ऊर्जा प्रयोग गरेर रसायनिक मल उत्पादन कम्पनी स्थापना गर्न चाहन्छौँ । यी क्षेत्रमा क्यानाडाले आर्थिक तथा प्राविधिक सहयोग गर्न सक्छ ।’

उनले नेपालले स्वच्छ ऊर्जाको विकास र व्यापारलाई प्रवद्र्धन गरिरहेको अवस्थामा क्यानडाले आर्थिक एवं प्रविधिक रुपमा सहयोग गर्न सक्ने उल्लेख गरिन् ।

भेटमा ऊर्जामन्त्री भुसालले विगतमा क्यानाडाले नागरिक उडड्यन, ग्रामीण तथा पर्वतीय विकास, नवीकरणीय ऊर्जा एवं खाद्य सुरक्षाजस्ता क्षेत्रमा सहयोग गरेको बताइन् । उनले क्यानाडामा ठूलो सङ्ख्यामा नेपालीको बसोबास रहेको उल्लेख गर्दै जनस्तरीय एवं सांस्कृतिक सम्बन्ध दुई देशबीचको महत्वपूर्ण पाटो भएको स्मरण गरिन् ।

मन्त्री भुसालले नेपालको विकासमा क्यानाडाले गर्दै आएको सहयोग निरन्तर रहने विश्वाससमेत व्यक्त गरिन् । उनले आपसी हितका विषयमा द्विपक्षीय र बहुपक्षीय मञ्चहरूमा नेपाल–क्यानाडा सहकार्य निरन्तर रहनेमा आशा व्यक्त गरिन् ।

भेटमा राजदूत म्याकेले स्वच्छ ऊर्जाको विकासमा नेपालले प्रशंसनीय काम गरिरहेको उल्लेख गर्दै आफ्नो देशको सरकारी एवं निजी क्षेत्रले सहकार्य गरेर नेपालमा आवश्यक पर्ने प्राविधिक सहकार्य गर्ने बताए । क्यानाडाका निजी क्षेत्रले नेपालका निजी क्षेत्रसँग सहकार्य गर्ने उचित वातावरण सिर्जना गर्न आफूले पहल गर्ने उनले विश्वास दिलाए ।


क्लिकमान्डु