अर्थतन्त्र संकट उन्मुख हुँदा समेत अर्थमन्त्रीको टालटुले जवाफ, देखिएन गम्भीरता



हरेक महिना विदेशी मुद्राको सञ्चिति घटिरहँदा समेत अर्थमन्त्री जनार्दन शर्मा अर्थतन्त्रका सबै परिसूचक सामान्य अवस्थामा रहेको भन्दै सफेद् झुट बोलिरहेका छन् ।

काठमाडौं । आइतबार प्रमुख प्रतिपक्षी दल नेपाल कम्यूनिष्ट पार्टी (एमाले)बाट अर्थमन्त्री बनेका तीन जना नेताले नेपालको अर्थतन्त्र संकटको बाटोमा गइरहेको बताए ।

सरकारले तत्काल उचित कदम नचाले श्रीलंकाभन्दा पनि खराब अवस्था आउने उनीहरुको चेतावनी थियो । पूर्वअर्थमन्त्रीहरु विष्णुप्रसाद पौडेल, सरेन्द्र पाण्डे र डा. युवराज खतिवडाको भनाइ सञ्चार माध्यमले प्राथमिकताका साथ सम्प्रेषण गरे ।
समाजिक सञ्जालमा समेत अर्थतन्त्र संकटमा रहेको भन्दै अर्थमन्त्री जनार्दन शर्माको आलोचना भएपछि सोमबार (आज) अर्थमन्त्रालयले आकस्मिक पत्रकार सम्मेलन आयोजना गर्याे ।

पत्रकार सम्मेलनमा अर्थमन्त्री शर्मा आइतबार नेकपा एमालेको कार्यक्रमलाई काउन्टर दिने गरी प्रस्तुत भए । पत्रकार सम्मेलनको शुरुमै अर्थमन्त्री शर्माले विदेशी मुद्राको सञ्चिति पर्याप्त रहनुका साथैं अर्थतन्त्रका सबै परिसूचक सामान्य रहेकाले अर्थतन्त्रमा कुनै संकट नआएको दाबी गरे ।

‘अर्थतन्त्र खराब छ भनेर व्यवसायी र जनतालाई भ्रम छर्ने काम भइरहेको छ,’ शर्माले भने, ‘केही व्यक्तिले नेपालको अर्थतन्त्रलाई श्रीलंका जस्तो चाहन्छन् । तर, हामी उहाँहरुको चाहना पूरा हुन दिन्नौँ ।’

पछिल्लो समय अर्थतन्त्र खराब अवस्थामा छ भनेर चर्चा हुनुको मुख्य कारण हो, निरन्तर विदेशी मुद्राको सञ्चिति घट्दै जानु । र, भविष्यमा समेत विदेशी मुद्राको सञ्चिति बढ्ने कुनै दरिलो आधार नदेखिनु ।

यो समस्या आउनुमा अर्थमन्त्री शर्मा मात्रै जिम्मेवार छैनन् । २०७४ चैत २७ गते तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले जारी गरेको श्वेतपत्रमा समेत अर्थतन्त्रमा संरचनात्मक समस्या रहेको उल्लेख गरेका थिए ।

करिब ३ वर्ष अर्थमन्त्री रहेको खतिवडाले समेत उच्च आयात र न्यून निर्यात हुने, कृषिजन्य उत्पादनमा समेत बढिरहेको परनिर्भरता, अनउत्पादक क्षेत्रमा बैंक वित्तीय क्षेत्रको बढ्दो कर्जा प्रवाह रोक्न सकेनन् । यस्तै खतिवडाले शर्मा जस्तो अर्थतन्त्र बिगारेको आरोप पनि खेप्नु परेन् ।

तर, खतिवडापछि अर्थमन्त्री बनेका विष्णुप्रसाद पौडेलले पनि आयातमा निर्भर अर्थतन्त्रलाई केही परिवर्तन गर्न सकेका होइनन् । शर्मा पनि उनीहरुकै बाटोमा छन् ।

तर, शर्मा धेरै आलोचित किन भए त ?

विगतका वर्षहरुमा नेपालमा हुने कुल आयातमध्ये ७० प्रतिशतसम्म रेमिट्यान्स हुन्थ्यो । जसले गर्दा विदेशी मुद्राको सञ्चितिमा खासै असर पर्दैन थियो । तर, चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा १३ खर्ब ८ अर्ब रुपैयाँ बराबरको आयात हुँदा रेमिट्यान्स भने ६ खर्ब ३१ अर्बमा सीमित छ ।

विगतका वर्षहरुमा १० देखि १५ प्रतिशतसम्मले बढ्ने गरेको रेमिट्यान्स चालु आर्थिक वर्षमा ४.९ प्रतिशतले घटेको छ । यस्तै यो वर्ष आयात पनि ३९ प्रतिशतले बढेको छ । जसले गर्दा नेपाललाई यो वर्ष बढी विदेशी मुद्रा आवश्यक भयो । तर, उल्टो विदेशी मुद्रा आउने प्रमुख स्रोत रेमिट्यान्स ४.९ प्रतिशतले घट्यो ।

जसले गर्दा यो वर्ष साउनमा १३ खर्ब ७१ अर्ब रुपैयाँ बराबर रहेको विदेशी मुद्रा फागुन मसान्तसम्म पुग्दा १७ प्रतिशतले घटेर ११ खर्ब ७१ अर्ब कायम भएको छ ।

उक्त विदेशी मुद्राले ६.८ महिनामा वस्तु तथा सेवा आयात गर्न पुग्छ । सामान्यतया ७ महिनाभन्दा कम अवधिको वस्तु तथा सेवा आयात गर्ने विदेशी मुद्रा हुनलाई संकटको शुरुवात भनिने गर्छ ।

नेपालमा विदेशी मुद्राको सञ्चिति घट्नुको अर्काे कारण हो, चालु आर्थिक वर्षमा अपेक्षा अनुसार वैदेशिक सहयोग र वैदेशिक लगानी नआउनु ।

अर्थमन्त्री शर्माको पार्टी नेकपा माओवादी केन्द्रले एमसीसीका विषयमा प्रष्ट धारणा बनाउन नसक्दा समेत दाताहरु नेपालमा मन खोलेर सहयोग गर्न इच्छुक देखिएन् । जसले गर्दा चालु आर्थिक वर्षमा प्रक्षेपण गरिएको ३ खर्ब ४२ अर्ब वैदेशिक साहयता र ऋणमध्ये १ खर्ब २६ अर्ब रुपैयाँ मात्रै आउने निश्चित भएको छ । यदि वैदेशिक सहयोग पनि लक्ष्य अनुसार प्राप्त भएको भएपनि भुक्तानी सन्तुलन २ खर्ब ४७ अर्बले नेगेटिभ हुने थिएन् ।

आगामी दिनमा नेपालमा विदेशी मुद्रा बाहिरिने क्रम रोकिने त्यसको सट्टा विभिन्न क्षेत्रमा विदेशी मुद्रा भित्रिने गरी सरकारले केही नयाँ नीति लिएको भए अर्थमन्त्री शर्माले भने जस्तै देशको अर्थतन्त्र संकटमा नरहेको मान्न सकिने थियो ।

तर, अर्थमन्त्री शर्माले अर्थतन्त्र चलायमान भइरहेको, कोरोना महामारीपछि ९८ प्रतिशत उद्योग सञ्चालन भइसकेको, लक्ष्यअनुसार सरकारले राजस्व संकलन गरिरहेकाले अर्थतन्त्र ठीक बाटोमा रहेको दाबी तर्क संगत देखिदैन् ।

अर्थमन्त्री शर्मा आफैं हुण्डीलगायतका अवैध कारोबार बढ्दा पूँजी पलायन हुने क्रम बढेको बताउँछन् । तर, शर्मा अर्थमन्त्री भएपछि कुनै पनि ठुला हुण्डी कारोबारी कारबाहीको दायरामा आउन सकेका छैनन् । जसले गर्दा रेमिट्यान्स आप्रवाह समेत घटेको जानकारहरु बताउँछन् । तर, अर्थमन्त्री शर्मा भने कोरोना महामारीले कम्पनीले कर्मचारीलाई बढी दिएको पैसा कटाउँदा यो वर्ष रेमिट्यान्स घटेको बताउँछन् ।

यस्तै सरकारले चालु आर्थिक वर्षमा उच्च दरले बढेको आयात प्रतिस्थापन गर्ने गरिकेही काम गर्ने सम्भावना देखिएको छैन । चालु आर्थिक वर्षमा कुल राजस्वको करिब ५० प्रतिशत भन्सार विन्दुमा संकलन गर्ने सरकारको लक्ष्य छ । त्यसबाट पनि सरकारले बढीभन्दा बढी आयात गर्न खोजेको देखिन्छ ।

सोमबार आयोजित कार्यक्रममा अर्थसचिव मधु मरासीनीले लक्ष्य अनुसार राजस्व संकलन हुने दाबी गरे । लक्ष्य अनुसार राजस्व संकलन हुन्छ भन्नुको सिधा अर्थ हुन्छ, आयात रोक्ने सरकारको मनसाय छैन ।

जबकी नेपाल राष्ट्र बैंकले आयात रोक्ने एलसी नखोल्ने निर्णय गरेको छ । आयात पनि रोकिने र लक्ष्यअनुसार पनि राजस्व संकलन हुने कसरी हुन्छ त्यसकालागि असार मसान्तसम्म पर्खिनु पर्छ ।

भन्नलाई त अर्थमन्त्री शर्माले विदेशी मुद्राको सञ्चितिमा आएको गिरावट रोक्न तत्कालका लागि आयात रोक्न लागिएको बताए ।
अर्थमन्त्री शर्माले आयात रोक्ने निर्णय केही समयका लागि मात्रै हुने बताएका छन् । तर, रेमिट्यान्स बाहेक विदेशी मुद्रा ल्याउने अन्य स्रोत नदेखिएको आयात खुल्ला हुँदा विदेशी मुद्राको सञ्चिति झनै घट्ने देखिन्छ ।

अर्थसचिव मरासिनी पर्यटन क्षेत्र चलायमान हुँदा समेत विदेशी मुद्रा भित्रिने क्रम बढ्ने आशामा छन् । अर्थमन्त्री शर्माले त विदेशी पर्यटकलाई भिसामा छुट दिनेलगायतका विषयमा सरकारले सोचिरहेको समेत बताए ।

तर, अर्थमन्त्री शर्मा र अर्थसचिव मरासिनीलाई पर्यटन नेपालमा विदेशी मुद्रा भित्र्याउनु कुनै महत्वपूर्ण स्रोत होइन् भन्ने थाहा छैन् ।

नेपालले कोरोना महामारी शुरु हुनु पूर्व आर्थिक वर्ष २०७४/७५ मा पर्यटनबाट ६७ अर्ब ९ करोड रुपैयाँ (करिब ५ करोड ६० लाख अमेरिकी डलर) बराबरको विदेशी मुद्रा आर्जन गरेको थियो । जबकी उक्त वर्ष नेपालीले विदेश घुम्दा ७९ अर्ब ५९ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा खर्च गरेका थिए ।

यस्तै कोरोना महामारीले असर गरेको २०७५/७६ मा पर्यटनबाट ६० अर्ब ८८ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा आर्जन भएको थियो । तर, त्यस वर्ष नेपालीले विदेश घुम्दा ५३ अर्ब १३ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा खर्च गरेका थिए ।
कोरोना महामारीले धेरै असर गरेको २०७६/७७ मा पर्यटन क्षेत्रबाट ७ अर्ब २६ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा आएको थियो भने सोही वर्ष नेपालीले विदेश घुम्दा ३२ अर्ब ८० करोड रुपैयाँ खर्च गरेका थिए ।

चालु आर्थिक वर्षको ७ महिनामा पर्यटनबाट ११ अर्ब ७ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा आर्जन भएको छ । जबकी नेपालीले यहीँ अवधिमा विदेश घुम्दा ३६ अर्ब ३० करोड रुपैयाँ खर्च गरिसकेका छन् ।

नेपालमा कोराना महामारी शुरु हुनुअघि पर्यटन क्षेत्रबाट नेपाल भित्रिने भन्दा नेपालीले विदेश घुम्दा खर्च हुने पैसा १२ अर्ब ५० करोडले बढी थियो । चालु आर्थिक वर्षको ७ महिनामा त्यस्तो पैसा २५ अर्ब २३ करोड रुपैयाँले बढी छ ।

कोरोना महामारी नभएर पर्यटन क्षेत्र चलायमान भएको भए समेत नेपालमा पर्यटन क्षेत्रबाट भित्रिने पैसाभन्दा बाहिरिने पैसा धेरै हुने थियो । यसरी हेर्दा कोरोना महामारीले पर्यटन क्षेत्र प्रभावित हुँदा विदेशी मुद्राको सञ्चिति घट्यो भन्ने तर्कमा कुनै दम छैन ।
नेपालले एक वर्षका अहिलेसम्म आर्जन गर्ने नसकेको पैसा श्रीलंकाले पर्यटन खराब हुँदा समेत आर्जन गरिरहेको छ । गत फेब्रुअरीमा नै श्रीलंकाले पर्यटनबाट १७ करोड ३६ लाख अमेरिकी डलर कमाएको थियो ।

अर्थमन्त्री शर्मा नेपालमा पर्यटन आगमन बढ्दा विदेशी मुद्रा सञ्चिति बढ्छ भन्ने अपेक्षामा छन् । जबकी नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार हालसम्म नेपालले पर्यटनबाट एक आर्थिक वर्षमा धेरै कमाएको ५ करोड ६० लाख अमेरिकी डलर मात्रै हो ।

पर्यटन क्षेत्रको ठूलो कारोबार अनौपचारिक माध्यमबाट हुने हुँदा कानूनी माध्यमबाट भित्रिने रकम कम भएको पर्यटन व्यवसायीहरु बताउँछन् ।

पूर्वअर्थमन्त्री खतिवडाले श्वेतपत्रमा उल्लेख गरेजस्तै अर्थतन्त्रको संरचनात्मक समस्या समाधान नगर्दासम्म आयातमा निर्भर नेपालमा अर्थतन्त्रको स्वरुपमा केही परिवर्तन हुने सम्भावना देखिन्न ।

उच्च दरमा बढेको आयात कसरी घटाउने ? विदेशी मुद्राको सञ्चिति करसी बढाउने ? कृषि उपजको आन्तरिक उत्पादन कसरी कसरी बढाउने ? सरकारले कहाँ कहाँ हस्तक्षेप गर्न लागेको हो ?

यस्ता आधारभूत विषयमा केही प्रष्ट नगरी लक्ष्यअनुसार राजस्व संकलन गरेका आधारमा अर्थतन्त्रको अवस्था ठीक ठाउँमा रहेको भन्दै अर्थमन्त्री शर्माले गरेको दाबी पत्याउने कुनै आधार देखिदैन् ।


शरद ओझा