पूर्वअर्थमन्त्री राखेर एमालेले अर्थतन्त्रको अवस्थाबारे धारणा सार्वजनिक गर्ने



काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले देशको विद्यमान आर्थिक अवस्थाको बारेमा पार्टीको धारणा सार्वजनिक गर्न आइतबार पत्रकार सम्मेलन गर्ने भएको छ । उक्त कार्यक्रममा ३ जना पूर्वअर्थमन्त्रीहरु विष्णु पौडेल, सुरेन्द्र पाण्डे र युवराज खतिवडा रहने छन् ।

आइतबार मध्यान्न साढे १२ बजे कुपन्डोलस्थित होटल हिमालय पत्रकार सम्मेलन गर्न लागिएको केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

‘मुलुकको आर्थिक अवस्थाका बारेमा पार्टीको धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलनको आयोजना गरिएको हो,’ उनले भने ।

शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्र बिग्रँदै गएको बताएका थिए । अध्यक्ष ओलीले अर्थमन्त्रीका कारण अर्थतन्त्र ध्वस्त भएको तर अर्थतन्त्र बचाउन लागिपरेका गभर्नरलाई सरकारले निलम्बन गरेको बताएका थिए ।

राष्ट्र बैंकका गभर्नरको निलम्बनको विषयलाई पत्रकार सम्मेलनमार्फत् एमालेले बलियोसँग पार्टीको धारणा सार्वजनिक गर्ने बताइएको छ ।

तत्कालीन ओली सरकारले ०७७ बैशाखमा महाप्रसाद अधिकारीलाई राष्ट्र बैंकको गभर्नर नियुक्ति गरेको थियो । आफ्नो सरकारले नियुक्ति गरेको गभर्नर हटाएपछि एमाले यो सरकारसँग रिसले चुर भएको छ ।

ओलीले अर्थतन्त्र विगार्ने मान्छेले नै गभर्नरलाई अर्थतन्त्र विगारेको आरोप लगाएको बताए ।

अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्र विगारेको संकेत गर्दै ओलीले भने, ‘मुखभरी रौं भएको मुसोले धान खायो तर एउटा पनि रौं नभएको भ्यागुत्तोलाई कारबाही भयो ।’

बिहीबार बसेको मन्त्रीपरिषदको बैठकले गभर्नरले अर्थतन्त्र विगारेको भन्दै उनलाई निलम्बन गरी छानविन गर्न सर्बोच्च अदालतका पूर्वन्यायधीसको संयोजकत्वमा कमिटि गठन गरेको थियो ।

‘अर्थतन्त्र जोगाउन लागि परेको एउटा राष्ट्र सेवक र अर्थशास्त्री बुझेको व्यक्तिलाई सरकारले कारबाही गर्यो रे,’ ओलीले भने, ‘विगार्ने एउटा, कारबाही भोग्ने अर्को ।’

अर्थतन्त्र जोगाउन लागिपरेका गभर्नरलाई सरकारले हटाएर बलिको बोको बनाउन खोजेको उनको भनाइ थियो ।


क्लिकमान्डु