प्रम देउवाको भारत भ्रमण ऊर्जा क्षेत्रको बिकासमा ऐतिहासिक फड्कोः इप्पान



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणको क्रममा गरेको सम्झौताचका कारण नेपालको समग्र ऊर्जा क्षेत्रको बिकासमा ऐतिहासिक फड्को मार्ने स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नोपल (इप्पान) को ठहर छ । भ्रमणका क्रममा दुई देशबीचका कार्यकारी प्रमुखबिच भएको यो सहमतिले ऐतिहासिक फड्को मार्ने इप्पानको तर्क छ ।
भ्रमणका क्रममा भारतले नेपालको जगेडा बिजुली खरिद गर्ने, नेपालको बिजुली बंगलादेशसम्म जान दिने, पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत प्रतिवेदन (डीपीआर) दु्रतगतिमा बनाउन निर्देशन दिने, जलस्रोत र जलबिद्युतका मामिलामा आपसी सम्मान र आपसी सहमति कायम गर्ने सहमति भएकोप्रति इप्पान खुसी व्यक्त गरेको छ ।
यस्तो सहमतिले दुवै देशहरुले उर्जाको सहज उपभोग गर्ने आधार निर्माण भएको छ भने दुबै देशले अर्थतन्त्रको दु्रत बिकास गर्दै आर्थिक समृद्धिको यात्रामा सहकार्य गर्न मार्गप्रशस्त भएको इप्पानको ठहर छ । छिमेकी मुलुक भएको नाताले नेपाल र भारतबिच आर्थिक क्षेत्रमा हुने यस्तो सहमतिबाट दुबै देशहरुले पर्याप्त आर्थिक उपलब्धीहरु हासिल गर्नुका साथै दुबै मुलुकको आर्थिक कुटनीतिको क्षेत्रमा समेत नयाँ शिराबाट सम्बन्ध बिकास र बिस्तार हुने इप्पानको भनाइ छ ।
भारतीय नरेन्द्र मोदीको घोषणाले नेपालको उर्जा उद्योगमा संलग्न आम उद्यमीहरुलाई उत्साहित र नयाँ आशाको सन्चार गराएको जारी विज्ञप्तिमा उल्लेख छ ।
‘पहिलो पटक भारतले नेपालसँग जलस्रोत र जलविद्युतका मामिलामा आपसी समानता र आपसी सम्मानका आधारमा वार्ता गर्ने सहमति हुनु अर्को ठूलो उपलब्धीका रुपमा हामीले लिएका छौं’ जारी विज्ञप्तिमा उल्लेख छ ।

भिजन स्टेटमेन्टमा जलविद्युतको संयुक्त विकास गर्ने, सीमापार प्रसारण लाइन निर्माण गर्ने, दुईतर्फी विद्युत आयात–निर्यात गर्ने, दुवै देशको ग्रीड (प्रसारण लाइन) सिंक्रोनाइज (एक रुप) तुल्याउने, संस्थागत सहयोग, ज्ञान र प्रविधिको हस्तान्तरण गर्ने कुरा पनि प्राथमिकताका साथ उल्लेख भएका छन् । दुई देशबीच पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको डीपीआर दु्रतगतिमा बनाउन आफ्ना सम्बद्ध अधिकारीहरुलाई निर्देशन दिने बुँदा पनि भिजन स्टेटमेन्टमा समेटिएको छ ।
अबको आवश्यकता भनेको दुई देशका कार्यकारी प्रमुखहरुबिच भएको यो सहमतिको इमानदारितापूर्वक कार्यान्वयनको हो । यो सहमति पूर्ण कार्यान्वयन भयो भने नेपाल–भारतबीचको आर्थिक, सामाजिक र राजनीतिक सम्बन्धले नयाँ उचाइ लिने इप्पानको ठहर छ ।


क्लिकमान्डु