जलविद्युतको प्रचुर सम्भावना भएपनि आवश्यक पर्ने विद्युत उत्पादन गर्न सकोनौं: उर्जामन्त्री भुसाल



काठमाडौं । उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले जलस्रोतको सही उपयोग गरेर आर्थिक तथा सामाजिक विकासलाई उठाउनु तत्कालको आवश्यक्ता भएको बताइन् ।

बुधबार ललितपुरमा आयोजित पानी, उर्जा, खाद्य तथा परिस्थितिकीय प्रणालीजन्य बहुआयामिक फाइदाहरुको प्राप्ती विषयक कार्यक्रममा मन्त्री भुसालले यस्तो बताइन् । उनले जलश्रोत व्यवस्थापनमा धेरै चुनौतिहरु रहेको भन्दै आजको आवश्यक्ता नै जलश्रोतको व्यवस्थापन गर्नु रहेको बताइन् ।

मन्त्री भुसालले जलवायु परिवर्तनका कारण नेपालमा कृषि, वन, स्वास्थ्य, जैविक विविधता लगायतका विभिन्न क्षेत्रमा समस्या परिरहेको बताइन् । उनले जलवायु परिवर्तनको असरले हिमनदी, अतिवृष्टि, अनावृष्टि, अल्पवृष्टि जस्ता प्राकृतिक प्रकोपले समग्र क्षेत्रलाई असर पारिरहेको बताइन ।

नेपालमा जलविद्युतको प्रचुर सम्भावना भएपनि पनि सकेजति विद्युत उत्पादन गर्न नसकिएको बताइन् । उनले प्रविधिलाई कृषि, बजारीकरण, सीप र संस्थागत पक्षहरुसँग एकीकृत गर्न जरुरी रहेको भन्दै त्यसका लागि आवश्यक खाका तयार पार्नुपर्ने आवश्यक्ता देखा परेको बताइन् ।

‘जलश्रोतको उचित व्यवस्थापन गर्नु हाम्रो आवश्यक्ता हो । जलश्रोतको सही उपयोग गरेर हाम्रो आर्थिक तथा सामाजिक विकासलाई उठाउनु हाम्रो तत्कालको आवश्यक्ता हो । यद्यपी जलश्रोत व्यवस्थापनमा धेरै चुनौतिहरु छन् । ८० प्रतिशतभन्दा बढी पानी वर्षातको बेलामा मात्र उपलब्ध हुने भएकोले बाढी, पहिरो जस्ता विपत्तिसँग पनि लडिरेहका छौँ’ उनले भनिन्, ‘हाम्रो ठूलो आर्थिक श्रोत क्षति हुँदै आएको छ । त्यसैगरी अन्य समयमा नेपालको धेरै क्षेत्रमा खडेरीको समस्या पनि हुने गरेको छ । त्यतिमात्रै होइन, हाम्रो हिमाली देश नेपालमा कृषि, वन, स्वास्थ्य, जैविक विविधता लगायतका विभिन्न क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव परेको छ ।’

खानेपानी, सिंचाइ र विद्युत उत्पादनका लागि पनि सुक्खा याममा पानीको अभाव हुँदै आइरहेको उनको भनाइ छ । नेपालमा जलविद्युतको प्रचुर सम्भावना भए पनि सकेजति विद्युत उत्पादन गर्न नसकिएको प्रविधिलाई कृषि, बजारीकरण, सीप र संस्थागत पक्षहरुसँग एकीकृत गर्न जरुरी रहेको उनको भनाइ छ ।

मन्त्री भुसालले भूमिगत जलश्रोतलाई दिगोरुपमा प्रयोग गरेर तराईको जमिन सिञ्चित गर्न सके त्यसले सामाजिक तथा आर्थिक विकासमा ठूलो योगदान गर्ने विश्वास व्यक्त गरिन् । उनले बहुपक्षीय चुनौतिहरुलाई सम्बोधन गर्न एकीकृत जलश्रोत व्यवस्थापन तथा जलश्रोतको बहुपक्षीय उपयोग गर्न आवश्यक रहेको उल्लेख गरिन ।


क्लिकमान्डु