मोबाइल वालेटमा नयाँ व्यवसायीक मोडल, डिजी पेले मुलुकभर दिँदैछ ३०० फ्रेन्चाइज



काठमाडौं । मुलुकमा डिजिटल पेमेन्टको कारोबार बिस्तारै उकालो लागिरहेको छ । मोबाइल वालेटदेखि बैंकहरु डिजिटल भुक्तानी गराउन विभिन्न स्किमहरु पस्किरहेका छन् ।

बजारमा मोबाइल वालेटहरुले आफ्नो बजार हिस्सा बनाउने अनेक प्रयास गरिरहेको बेला ‘डिजी पे’ले नौलो आइडियाको पस्किएकोछ ।

त्यो हो, ‘डिजी पे फ्रेन्चाइज’ । ‘डिजी पे’को फ्रेन्चाइज दिएर ‘स्थानीय बजार पार्टनरसिप’ गर्ने योजना उसको छ । जुन योजनाले दुर्गम र मुलुकभर डिजी पेलाई पुर्याउन सकिने उनीहरुको विश्वास छ ।

बजारमा ‘ठूला प्लेयर’हरु छन् । यो बेला नयाँ आइडिया र विजनेस मोडलमा नआउने हो भने बजारमा टिक्न गाह्रो छ । यही कुरालाई ध्यानमा राखेर स्थानीय बजार पार्टनरसिपको योजना अगाडि ल्याएको बताउँछन् डिजी पेका अध्यक्ष दिवाकरबहादुर पाण्डे ।

‘दूरदराजमा डिजी पेको सेवा पुर्याउने सबैभन्दा राम्रो माध्यम स्थानीय विजनेस पार्टनरसिप हो,’ उनी भन्छन्, ‘यसमा जोडिन ठूलो क्राइटेरिया छैन । लगानी गर्न चाहनेहरु जोडिन सक्नुहुन्छ ।’

पे्रmन्चाइजको मुख्य उद्देश्य डिजी पेलाई नेपालभर फैलाउने हो । हरेक फ्रेन्चाइजहरुले ३÷४ जना कर्मचारी राखेर महिनाको ४ लाखसम्म आम्दानी गर्न सक्ने उनको भनाइ छ ।

३ सयसम्म फ्रेन्चाइज खोल्ने योजना उनको छ । जहाँ एक हजारभन्दा धेरैले रोजगारी पाउनेछन् ।

डिजी पेको फ्रेन्चाइज मोडल भनेको डिजी पेको स्थानीय बजारमा लगानीको हिस्सेदार बन्ने हो । कुनै पनि व्यक्तिले निश्चित क्षेत्र लिएर त्यहाँको डिजी पेको बजार हेर्न सक्ने छन् । जस्तो कि, महानगरपालिका, नगरपालिका, वडाका आधारमा फ्रेन्चाइज दिन सकिने पाण्डेले बताए ।

यसरी फ्रेन्चाइज लिँदा प्राविधिकदेखि मार्केटिङ मोडलमा डिजी पेले सहयोग गर्नेछ । फ्रेन्चाइज लिनेलाई सामान्य कम्प्युटरको ज्ञानबाहेक अन्य प्राविधिक दक्षता आवश्यक नभए पनि हुन्छ । फ्रेन्चाइज लिनेले भौगोलिक क्षेत्रअनुसार लगानी गर्नुपर्ने छ ।

‘बजार कसरी पेनिट्रेसन गर्ने भनेर मोडल हामीसँग छ,’ पाण्डे भन्छन्, ‘त्यसका आधारमा फ्रेन्चाइज लिनेहरुले व्यवसाय गर्न सक्नुहुन्छ ।’

यस फ्रेन्चाइजमा उत्कृष्ट आम्दानीको मोडल रहेको उनको भनाइ छ । ‘एक वर्षमा आफ्नो उठाउन सक्ने आधार हामीसँग छन्,’ पाण्डे भन्छन् ।

मुलुकभरमा २-३ सय फ्रेन्चाइज खोल्न योजना बनाएका पाण्डेले फ्रेन्चाइज लिन आउने पहिलो १० जना विभिन्न सुविधा र छुटको व्यवस्था गरेको बताए ।

लोयल्टी पोइन्टबाट सामान किन्न सकिने

सामान्यत वालेटमा पैसा नभइकन कारोबार गर्न सकिँदैन । डिजी पे भनेको वालेटमा पैसा नभए पनि कारोबार गर्न सकिने एप हो भन्छन् पाण्डे ।

उनले यसलाई नगदमा पनि कारोबार गर्ने एकमात्र मोबाइल वालेट भएको बताउँछन् ।

डिजी पेबाट भुक्तानी गर्दा हरेक ग्राहकले लोयल्टी प्वाइन्ट पाउँछन् । त्यो लोयल्टी प्वाइन्टलाई ‘गोल्ड क्यास’ भनिन्छ ।

डिजी पेले हरेक करोबारमा २ प्रतिशत रकम ग्राहकलाई गोल्ड क्यास दिन्छ । मानौं एक हजारको कारोबार भयो भने २० रोयल्टी प्वाइन्ट पाइन्छ ।

अब यसरी जम्मा भएको गोल्ड क्यासलाई डिजी पेमा आवद्ध भएका पसलहरुमा गएर सामान किन्न सकिन्छ ।

‘तपाईंहरुले सामानको मूल्यअनुसार गोल्ड क्यास दिएर सामान किन्न सक्नुहुन्छ,’ पाण्डे भन्छन्, ‘यस्तो सुविधा अन्य कुनै पनि वालेटमा छैन ।’

कति क्वाइनले कति सामान किन्न सकिन्छ भन्ने कुरा पसलअनुसारको फरक पर्ने उनी बताउँछन् ।
डिजी पेको एपमा ‘नियर वाई’ भन्ने अप्सनमा ३ सयभन्दा धेरै पसल र मर्चेन्टहरु छन् । यीहरुले डिजी पेको ‘गोल्ड क्यास’ पेमेन्ट लिन्छन् ।

डिजी पेमा गोल्ड क्यास बजार भन्ने छ । त्यहाँ सयौैं प्रोडक्टहरु छन् । डिजी पेमा रहेको त्यो गोल्ड क्वाइन प्रयोग गरेर सामान र सेवाहरु प्रयोग गर्न सकिने उनको भनाइ छ ।

‘हरेक खर्चमा कमाइ गर्नुहोस् भन्ने हाम्रो मोटो छ,’ उनी भन्छन्, ‘तपाईं आफ्नो रकम खर्च गरिरहँदा कमाई पनि भइरहेको हुन्छ ।’

यसरी शुरु भयो डिजी पे

नेपाल एयरलाइन्समा जागिरे बुबासँग धेरै ठाउँ घुम्ने अवसर पाएका पाण्डेले आफ्नो व्यवसायीक करियर भने ट्राभल एजेन्टबाट गरेका थिए ।

यति ट्राभल्समा ७ वर्ष काम गरे । यहाँबाट पर्यटन उद्योगको बारेमा जान्ने बुझ्ने मौका पाएको उनको भनाइ छ ।

त्यसपछि उनले जागिर खान गए गोर्खा ब्रुअरीमा । यहाँ मार्केटिङको काम गर्दा बजारको अवस्था धेरै बुझे ।
‘यो मेरो आइसब्रेकिङ समयको थियो,’ पाण्डे भन्छन्, ‘बजारमा सामान किनिदिनुस् भनेर हिँड्दा बजारको प्रकृत्ति बुझ्न पाएँ ।’

उनले गोर्खा ब्रुअरीमा साढे तीन वर्ष काम गरे ।

सन् २००२ मा ‘आवर नेपाल डट कम’ भन्ने आइटी कम्पनी खोले । यो एक वेवसाइट थियो जसबाट विश्वका कुनै पनि व्यक्तिले नेपालको कुनै पनि विषयमा जानकारी लिनसकून भन्ने उदेश्यका साथ खोलिएको थियो ।

बजार विस्तारै विकसित हुँदै गइरहेको थियो । इन्टरनेटको विकास भइरहेको थियो भने स्मार्टफोनको प्रयोग बढ्दो थियो । मोबाइल वालेटहरु आउन थाले ।

सन् २००५ मा साथीहरुको नेटवर्क बनाउने भनेर ‘क्लब अन’ भन्ने नेटवर्क बनाएका थिए । उनीहरु बजारमा जान्थे । बजारमा के के भइरहेको छ । ग्राहकको माग कस्तो छ भनेर छलफल हुन्थ्यो ।

साथीहरुको सल्लाह आयो मोबाइल वालेटको बजार राम्रो छ ।

त्यहीबाट डिजी पे खोल्ने निर्णयमा पुगे थिए पाण्डे । दुई साथी पार्टनरमा राखेर सन् २०१७ यो स्थापना भयो । पछिल्लो एक वर्षदेखि आधिकारिक अनुमतिपत्र पाएपछि बजार विस्तार गर्न तीव्र पारेका छन् ।

नेपालमा पहिलो पटक डिजिटल भोटिङको शुरुवात उनकै कम्पनीबाट भएको पाण्डे बताउँछन् । एसएमएस भोटिङ भइरहेको बेला डिजिटल भोटिङ पनि गर्न सकिन्छ भनेर एक प्रतियोगितामा डिजिटल भोटिङको शुरुवात गरेको उनको भनाइ छ ।

दुई वर्ष कोरोना संक्रमण भएपछि अहिले बजारमा नयाँ आशासहित अगाडि बढेको छ । यहीबेला आक्रमकरुपमा बजार विस्तारमा लाग्ने सोच उनीहरुको छ । त्यसैले फ्रेन्चाइज मोडलमा अगाडि बढेको उनले बताए ।

काठमाडौंमा सीमित रहेको व्यवसायलाई काठमाडौं बाहिर पनि जाने सोच बनाइरहेका छन् उनी । ‘यसको लागि हामीलाई स्थानीय पार्टनरको आवश्यकता पर्छ,’ उनी भन्छन् ।

५ करोडभन्दा धेरै लगानी भएको कम्पनीमा २० जना कर्मचारी छन् । अब फ्रेन्चाइज मोडलमार्फत् थप लगानी गर्दै अगाडि बढ्ने योजना कम्पनीको छ । डिजी पे एक लाखभन्दा धेरै डाउनलोड भएको पाण्डेलेबताए ।

‘फ्रेन्चाइज मोडलले डिजिटल पेमेन्ट सिस्टममा गेमचेन्जरको काम गर्नेछ,’ भविष्यप्रति पूर्णआशावादी छन् पाण्डे ।


सन्तोष न्यौपाने