राजस्व छलीका विषयमा अनुसन्धान गर्दा व्यवसायी आन्दोलित, राजमार्ग अवरुद्ध



काठमाडौं । राजस्व अनुसन्धान विभागले गलत कार्य गर्नेको खातापाता नियन्त्रणमा लिन खोजेपछि व्यवसायी आन्दोलित भएका छन् ।

बिहीबार झापास्थित शनिश्चरे लाइन, बिर्तामोड बजारमा रहेको साह कपडा पसलमा राजस्व अनुसन्धान विभागको इटहरीमा रहेको कार्यालयले छापा हान्दा व्यवसायीले अवरोध गरेका छन् । व्यवसायीको विरोधकाबीच बल प्रयोग गर्दै कार्यालयका कर्मचारीले पसल शिल गरेका छन् ।

साह कपडा पसलले भन्सार छलि गरि ल्याएका सामान बिक्री गरिरहेको भेटिएपछि कार्यालयले छापा हानेको थियो ।
व्यवसायीलाई पूर्व जानकारी नदिई सिधैँ आएर छापा मारिएको भन्दै बिर्तामोड उद्योग बाणिज्य संघले बिहीबार दिँउसो १ घण्टा पूर्वपश्चिम राजमार्ग समेत अवरुद्ध गरेको थियो ।

बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश सिवाकोटी राजस्व अनुसन्धानका कर्मचारीले गुण्डागर्दीे शैलीमा पसल शिलबन्दी गरेकाले बाध्य भएर १ घण्टा सडक अबरुद्ध गर्नुपरेको बताउँछन् ।

‘हामीले गलत गर्ने व्यवसायीलाई बचाउनु पर्याे भनेका छैनौँ’, शिवाकोटी भन्छन्, ‘बसेर समन्वय गरौँ भन्दा राजस्वका कर्मचारी भाग्नु हुन्छ । पसलमा नाबालक बसेको समयमा शिलबन्दी गर्नु हुन्छ । त्यस्तो अवस्थामा हामीले आन्दोलन नगरेर के गर्ने ?’
अध्यक्ष शिवाकोटी संघले सहजकर्ताको रुपमा काम गर्न खोजेको दाबी गर्छन् ।

तर, स्रोतका अनुसार संघले साह कपडा पसलमा कार्यालयले लगाएको सिल तोड्नु पर्ने माग गरेको छ । राजस्व अनुसन्धान विभागका महानिर्देशक प्रकाश पौडेल विभाग मताहतको कार्यालयले कानून बमोजिम अनुसन्धान गरेको भन्दै व्यवसायीले भन्दैमा सिल नतोडिने बताउँछन् ।

विवाद बढ्दै गएपछि झापाका प्रमुख जिल्ला अधिकारी छबि रिजालले शुक्रबार ८ बजे व्यवसायीसँग छलफल गर्ने भएका छन् ।
घटना के थियो ? गत साता इलाका प्रहरी कार्यालय उर्लाबारीले नक्कली बील बिजकसहित लत्ताकपडा भएको एउटा पिक अफ गाडी नियन्त्रणमा लिदैँ राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको थियो ।

गाडीमा सुरवाल, कुर्ता, साडी, लगायतका सामानहरु थिए । कार्यालयले गाडी नम्बरका आधारमा भेइकल एण्ड कन्साइनमेन्ट ट्रेकिङ सिस्टम (भिसिटिएस) चेक गर्दा अचम्मको तथ्य खुल्यो । उक्त गाडीले लामो समयदेखि नक्कली बिल प्रयोग गर्दै एक ठाउँबाट अर्काे ठाउँमा मालसामान ओसार पसार गर्ने गरेको भेटियो ।

विराटनगरमा रहेको एक पसलले त्यस गाडीमा सामान पठाउने गरेको कार्यालयको अनुसन्धानले देखाएको छ । कार्यालयले विराटनगरको उक्त पसलमा समेत छापा मार्दै कागजात नियन्त्रणमा लिने तयारी गरेको छ ।

झापा घर भएकी एक महिलाको नाममा रहेको उक्त गाडी तस्करीमा प्रयोग भएको पहिलो पटक भने होइन् । गत भदौमा समेत सोही गाडी भद्रपुर भन्सार कार्यालयबाट समेत भन्सार छलि कार्यमा प्रयोग भएको पाइएको छ ।

कार्यालयले उक्त गाडी जफत गर्ने प्रयास गरेपनि जिल्ला अदालतले गाडी जफत नगर्न आदेश दिएको थियो । त्यसपछि गाडीले विराटनगरबाट सामान ढुवानीको काम गरिरहेको छ । प्रहरीले कार्यालयमा गाडी बुझाएको एक साता हुँदा समेत गाडी धनी भने सम्पर्कमा आएका छैनन् ।

विगतदेखि नै तस्करीमा प्रयोग भइरहेको गाडीमा फेरी पनि भन्सार छलिका सामान ल्याएको पाइएपछि कार्यालयले अनुसन्धान अगाडी बढाएको थियो । अनुसन्धानका क्रममा उक्त गाडीले सामान बिक्री गर्ने पसलको जानकारी कार्यालयले भिसिटिएबाट पत्ता लगायो । सरकार २०७५ बाट भिसिटिएस प्रणाली कार्यान्वयनमा ल्याएको छ । जसमा एक ठाँउबाट अर्को ठाँउमा सामान ओसार पसार गर्दा भिसिटिएस प्रणालीमा तथ्याङक राख्नुपर्ने व्यवस्था छ ।

चोरी निकासी गरेर ल्याइएका सामान उक्त गाडीले झापाका तीनवटा पसलमा वितरण गर्ने गरेको गरेको तथ्य भिसिटिएस प्रणालीमा भेटियो । बुधबार राजस्व अनुसन्धान कार्यालयका अधिकृत प्रकाश सुवेदी नेतृत्वको टोली साह कपडा पसलमा छानबिन गर्ने उद्देश्यले इटहरीबाट बिर्तामोड गएका थिए । तर, सुवेदीको नेतृत्वको टोलीलाई बिर्तामोड उद्योग बाणिज्य संघका पदाधिकारीले अवरोध गरे । यस्तै, साह कपडा पसलका सञ्चालकले समेत खरिद खाता, बिक्री खाता र स्टक बुक केही नभएको बताए । त्यसपछि सुवेदी नेतृत्वको टोलीले पसलमा सिल लगाउने प्रयास गरेपनि संघले अवरोध गरेपछि उक्त टोली कुनै कारबाही नगरी फिर्ता भएको थियो ।

राजस्व अनुसन्धान विभागका महानिर्देशक प्रकाश पौडेलले प्रारम्भिक अध्ययनमा शंकास्पद कारोबार भएको देखिएको बताए । उनले संघको विरोधले कार्यालय डराएर अनुसन्धान नगर्ने हो भने विभागको काम नै प्रभावित हुने तर्क गर्दै राजस्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख तिर्थराज खनाललाई अनुसन्धान अगाडी बढाउन निर्देशन दिए ।

त्यसपछि, खनालले झापाका प्रमुख जिल्ला अधिकारी छबि रिजालसंग समन्वय गर्दै कार्यालयका अधिकृत सुवेदी नेतृत्वको टोलीलाई फेरी बिहीबार बिर्तामोड पठाएका हुन् ।

बिहीबार राजस्वको टोली साह कपडा पसलमा प्रहरी सहित पुगेको थियो । कार्यालयको टोली पुग्दा पसलमा दुई जना बालबालिका मात्रै थिए ।

कार्यालयका अधिकारी प्रहरीसहित पुगेपछि पसलका सञ्चालक फरार भएको दाबी खनालको छ । तर, संघका अध्यक्ष शिवाकोटी भने पसल सञ्चालक खाना खान गएको बताउँछन् ।

कार्यालयले बल प्रयोग गर्दै साह कपडा पसललाई शिलबन्दी गर्याे । त्यसपछि, संघका अध्यक्ष शिवाकोटीको नेतृत्वमा १ घण्टा पूर्व पश्चिम राजमार्ग अवरुद्ध गर्दै पसलमा लगाएको सिल तोड्न माग गरिएको हो ।

राजस्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख तिर्थराज खनाल व्यवसायीले विरोध गर्दैमा सिल खोल्न नसकिने बताउँछन् ।
‘व्यवसायीले भने अनुसार अनुसन्धान गर्ने हो केही काम गर्न सकिदैन,’ खनालले क्लिकमाण्डूसँग भने, ‘प्रारम्भिक अनुसन्धानमा शंकास्पद कारोबार देखिएपछि मात्रै हामीले साह कपडा पसलबाट कागजात नियन्त्रणमा लिन खोजेका हौँ । तर, उहाँहरु केही कागजात नभएको बताउनु हुन्छ । त्यस्तो अवस्थामा शिलबन्दी नगरेर के गर्ने ?’

कार्यालयले दुःख दिने नियतले अनुसन्धान नगरेको खनाल बताउँछन् । खरिद, बिक्रि बिल र स्टक मिल्छ भने कारबाही नै नहुने खनालको भनाइ छ । ‘हाम्रो काम नै अनुसन्धान गर्ने हो । व्यवसायीले यसरी अनुसन्धान गर्नुस् त भन्न पाउँदैन होला’ खनाल भन्छन्, ‘यदी पसल धनीले निवेदन दिदैँ अनुसन्धानमा सहयोग गरे हामी पसल बन्द गर्दैनौँ । हामीलाई त कागजात चाहिएको हो । पसलको स्टक गणना गरेर हामी अनुसन्धान गर्छाै । तर, व्यवसायीको दबाबमा अनुसन्धान नगर्ने भन्ने हुँदैन् ।’

‘कानून अनुसार कारबाही अगाडी बढाउँदा हामी पछाडी हट्ने भन्ने हुन्न नी’, खनाल भन्छन् । अब साह कपडा पसलको खरिद, बिक्रि खाताको बृहत अनुसन्धान हुने उनको भनाइ छ । संघका अधिकारीहरु भने राजस्व अनुसन्धान विभागका कर्मचारीले हुकुमी शैलीमा व्यवसायीलाई तर्साउन खोजेकाले विरोध गर्नु परेको बताउँछन् ।

‘प्रेसर ग्रुप बनाउन पाउने त संविधानको व्यवस्था हो’ संघका अध्यक्ष शिवाकोटी भन्छन्, ‘हामीले गलत गर्नेलाई जोगाउनु पर्छ भनेकै छैनौं । बच्चाका अगाडी व्यापार गर्नु चोरी गर्नु हो भन्ने जसरी शिल लगाउनु भएन् भन्ने हो ।’


क्लिकमान्डु