अर्थतन्त्र गम्भीर मोडमा भएपनि श्रीलंका जस्तो डरलाग्दो स्थिति छैनः प्रचण्ड



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्र समस्यामा भएपनि श्रीलंकाको जस्तो डरलाग्दो अवस्था नभएको बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालको २४औं वार्षिकोत्सव समारोहमा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

‘नेपालको अर्थतन्त्र श्रीलंकाजस्तो डरलाग्दो स्थिति भयो भन्ने त होइन, भोलि अप्ठ्यारो स्थिति आउनसक्छ,’ प्रचण्डले भने, ‘अहिले नै समाधानको लागि पहल शुरु भइसकेको छ । उपाय निकाल्छौं ।’

यो विषयमा आफूले प्रधानमन्त्रीसँग बृहत्तर छलफल गर्न आवश्यक छ भनेको जानकारी दिँदै भने, ‘अर्थतन्त्रलाई दुर्घटनातिर जानबाट रोक्नुपर्छ भनेका छौं । अर्थतन्त्रलाई सम्हालेर लैजानेतर्फ हाम्रो प्रयास जारी छ ।’

उनले देशमा ठूला–ठूला परिवर्तन भएपनि जनताको जीवनस्तरमा कतिको परिवर्तन भयो ? भन्ने कुरा महत्वपूर्ण रहेको सुनाए ।

‘सिंहदरबारको अधिकार गाउँमा पुगेको भएपनि जनताले यसको अनुभुति गर्न पाए कि पाएनन् भन्ने कुरा हो । आर्थिक तरलताको अवस्था छ, अर्थतन्त्र अहिले गम्भीर मोडमा छ । यसबारेमा हामीले गम्भीर चर्चा गर्यौं,’ उनले भने ।

माओवादी केन्द्रकै नेता जनार्दन शर्मा अर्थमन्त्री छन् ।

प्रचण्डले आगामी तीनै तहको निर्वाचनमा गठबन्धन हुने बताएका छन् । गठबन्धन आवश्यकत्ताले जन्मिएको भन्दै यो निर्वाचनसम्म कायम रहने स्पष्ट पारे ।

‘गठबन्धन एउटा सन्भर्दमा जन्मिएको हो । संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षाका लागि बनाएका हौं । कांग्रेसले पनि गठबन्धन कायम राखेर जाने भन्ने निर्णय गरिसकेको छ । अब कुनै द्धिविधा छैन । निर्वाचन शान्तिपूर्ण र निष्पक्ष हुन्छ,’ उनले भने ।


क्लिकमान्डु