बाग्मती सभ्यता समिति खानेपानी मन्त्रालय मातहत ल्याउन माग



काठमाडौं । खानेपानी मन्त्रालयले अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समिति आफ्नो मन्त्रालय मातहत हुनुपर्ने माग गरेको छ ।

अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समिति गठन आदेश, २०७३ संसोधन गर्दै समितिलाई खानेपानी मन्त्रालय मातहत ल्याउने माग गर्दै खानेपानी मन्त्री उमाकान्त चौधरीले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा प्रस्ताव पेश गरेका छन् ।

तर, चौधरीले पेश गरेको प्रस्ताव मन्त्रिपरिषद्को बैठकमा छलफल गर्ने गरि मुख्य सचिव शंकरदास बैरागीले दर्ता गर्न मानेका छैनन् ।

हाल समिति सहरी विकास मन्त्रालय मातहत छ । आफ्नो मन्त्रालय मातहत रहेको कार्यालय सार्ने प्रस्ताव दर्ता गर्दा सहरी विकासमन्त्री रामकुमारी झांक्रीको दबाबमा मुख्य सचिव बैरागीले मन्त्री चौधरीको प्रस्ताव थन्काएर राखेका छन् ।
प्रधानमन्त्रीले सहरी विकास मन्त्रालय मातहत रहेको समिति सार्नु नभनेकाले पनि मुख्य सचिवले प्रस्ताव दर्ता गर्न नमानेको स्रोतको भनाइ छ ।

समितिमा स्यानिटरी समुहको कर्मचारी आयोजना निर्देशक हुने र सहरी विकास मन्त्रालयमा स्यानिटरी समूहको कर्मचारी नरहेको दाबी गर्दै समिति खानेपानी मन्त्रालय मातहत आउनु पर्ने मन्त्री चौधरीको प्रस्ताव छ ।

नेपाल सरकार कार्यविभाजन नियमावलीमा सरसफाइ सम्बन्धी नीति बनाउने, राष्ट्रियस्तरका प्रशोधन सहितका बृहत ढल बनाउने जिम्मेवारी मन्त्रालयको भएकाले अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समिति खानेपानी मन्त्रालय मातहत आउनु पर्ने खानेपानी मन्त्रीको माग छ ।

यस्तै, मन्त्रालय मातहतको खानेपानी तथा ढल व्यवस्थापन विभागले समेत देशभर ढल व्यवस्थापनको काम गरिरहेकाले ढल व्यवस्थापनको विज्ञता समेत मन्त्रालयसँग भएको मन्त्री चौधरी गरेको प्रस्तावमा उल्लेख छ ।

बाग्मती नदी र यसका सहायक नदीहरुको उद्गमस्थलदेखि कटुवाल दहसम्मको नदी प्रणाली प्रदुषणमुक्त गराई संरक्षण र सम्वर्द्धन गरी उपत्यकाको वातावरणीय स्वच्छता, पवित्रता र सुन्दरता कायम गर्ने, नदी प्रणालीसँग सम्वद्घ ऐतिहासिक, पुरातात्विक एवं साँस्कृतिक सम्पदाहरुको संरक्षण गर्ने, समग्र बाग्मती सभ्यताको पहिचान एवं जगेर्ना गर्नुका साथै एकीकृत जलस्रोत व्यवस्थापन तथा अन्य प्राकृतिक स्रोतको समुचित व्यवस्थापन गर्ने उद्देश्यले नेपाल सरकारले अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समिति गठन गरेको थियो ।

२०५१ चैत २८ गते समितिको गठनपछि समेत बाग्मती नदीमा देखिने गरि सुधारका कामहरु भने भएका छैनन् ।
अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति अध्यक्ष उद्धवप्रसाद तिमिल्सिना कार्यालय कुन मन्त्रालय मातहत राख्ने भन्ने सरकारको निर्णयमा भर पर्ने बताउँछन् ।
‘काठमाडौँ उपत्यकाका नदीमा सफा पानी बगाउने पनि समिति आवश्यक छ,’ तिमिल्सिना भन्छन्, ‘कुन मन्त्रालय मातहत समिति राख्ने भन्ने राजनीतिक निर्णय हो ।’


क्लिकमान्डु