तनहुँ जलविद्युत आयोजनाको प्रसारण लाइन विस्तार तीव्र, २० वटा टावर बन्यो



तनहुँ । तनहुँ जलविद्युत् आयोजनाले प्रसारण लाइन विस्तार कार्य तीव्र बनाएको छ । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारस्थित १४० मेगावाट विद्युत् उत्पादनको लागि निर्माणधीन उक्त आयोजनाले २० वटा टावर निर्माण गरेको छ ।

दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइनको ९४ टावरमध्ये ४१ वटाको जग निर्माण गरी २० टावर गाड्ने काम सम्पन्न गरेको हो । आयोजनाको मुख्य काम तीन प्याकेजमा विभाजन गरी निर्माण अघि बढाइएको आयोजनाको प्रवर्धक कम्पनी तनहुँ हाइड्रोपावरका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले जानकारी दिए ।

आयोजनाको पहिलो प्याकेजअन्तर्गत १४० मिटर अग्लो बाँध निर्माण कार्य सोङ्गदा कर्पोरेशन, भियतनाम–कालिका कन्सट्रक्सन प्रालि नेपाल जेभीले गरिरहेको छ । जसअन्तर्गत अहिले मुख्य बाँध निर्माणका लागि नदी फर्काउनका लागि आवश्यक संरचना, बाँध रहने स्थानको माथिल्लो भाग पुग्ने पहुँच सडक निर्माण कार्य भइरहेको उनले बताए ।

सिनो हाइड्रो कर्पोरेशन, चीनले आयोजनाको सुरुङ, विद्युत गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायत दोस्रो प्याकेजको निर्माण गरिरहेको छ भने भूमिगत विद्युत गृह खन्ने काम अन्तिम चरणमा पुगेको छ । एक हजार ४१८ मिटर लामो मुख्य सुरुङ खन्ने कार्य भइरहेको छ । अहिलेसम्म करिब ३०० मिटर मुख्य सुरुङ खनिएको छ ।

केइसी इन्टरनेशनल, भारतले आयोजनाको तेस्रो प्याकेजअन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण कार्य गरिरहेको छ । आयोजनाले ग्रामीण विद्युतीकरण कार्यक्रमअन्तर्गत तनहुँमा विद्युतीकरणको कार्य पनि गरिरहेको छ । आयोजनाको समग्र निर्माण विसं २०८३ असार जेठभित्र सक्ने लक्ष्य राखिएको छ ।

कम्पनीको पूँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कूल लागत प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत गरी ५० करोड ५० लाख अमेरिकी डलरमा एडीबीको १५ करोड रुपैयाँ रहेको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाले १८ करोड ४० लाख रुपैयाँ, युरोपियन लगानी बैंकले ८ करोड ५० लाख र सरकार÷नेपाल विद्युत् प्राधिकरणले ८ करोड ६० लाख व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।


क्लिकमान्डु