मोतीपुर-सन्धिखर्क १३२ केभी प्रशारण लाइन र सन्धिखर्क सबस्टेसन सञ्चालनमा, ५ जिल्लामा विद्युतकाे समस्या नहुने



अर्घाखाँची । कपिलवस्तुको मोतीपुरबाट अर्घाखाँचीको सन्धिखर्कसम्मको १३२ किलोभोल्ट (केभी) डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको छ ।

यसैगरी, सोही प्रसारण लाइनअन्तर्गत सन्धिखर्क नगरपालिका–६ फुदवाङमा निर्माण गरिएको १३२ केभी सबस्टेसन पनि सञ्चालन आएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले शनिबार सन्धिखर्कमा आयोजना गरिएको कार्यक्रममा प्रशारण लाइन र सबस्टेसनको उद्घाटन गरिन् ।

प्रशारण लाइन र सबस्टेसन सञ्चालनमा आएपछि त्यहाँबाटै स्थानीय क्षेत्रमा विद्युत आपूर्ति गरिएको छ । यसबाट कपिलवस्तु, अर्घार्खाची, पाल्पा, गुल्मी, प्यूठान जिल्लाको विद्युत आपूर्ति भरपर्दो र गुणस्तरीय हुनेछ । विद्युतको प्राविधिक चुहावट पनि कम हुने छ ।

अहिले बुटवलबाट ३३ केभी प्रसारण लाइनमार्फत अर्घार्खाची, पाल्पा, गुल्मीमा विद्युत आपूर्ति हुँदै आएको थियो । ३३ केभी प्रसारण लाइन धेरै लामो हुँदा लाइन ट्रिप भएर झ्याप्प झ्याप्प वत्ति जाने र भोल्टेजको समस्या थियो । साथै प्राविधिक चुहावट पनि थियो ।

उद्घाटन कार्यक्रममा मन्त्री भुसालले अर्घाखाँचीमा निर्माण भएको पहिलो १३२ केभीको उच्च भोल्टेजको प्रसारण लाइन र सबस्टेसन सञ्चालनमा आएकोले यस क्षेत्रमा विद्युत आपूर्ति गुणस्तरीय तथा भरपर्दो हुने र समग्र विकासका लागि मेरुदण्ड तयार भएको बताइन् ।

यस भेगका उपभोक्ताले झ्याप्प झ्याप्प बत्ति गएको गुनासो गर्ने गरेको उल्लेख गर्दै भुसालले अब त्यस्तो समस्या समाधान भएकोले वत्ति बाल्न मात्रै नभएर खाना पकाउन पनि विद्युत प्रयोग गर्न आग्रह गरिन् ।

‘हामीसँग पर्याप्त मात्रामा रहेको पानीलाई विद्युत र सिंचाइमा रुपान्तरण गरी विद्युत उत्पादन गरौं, कृषि गरौं आत्मनिर्भर अर्थतन्त्र निर्माणतर्फ अगाडि बढौं’ उनले भनिन्, ‘अमेरिकी डलर बिक्री गरी भारतीय रुपैयाँ खरिद गरेर आयात गरिएको खाना पकाउने ग्याँसलाई विद्युतको प्रयोगमार्फत विस्थापित गरौं ।’

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीकरणका लागि बजेट अभाव नभएको उल्लेख गर्दै दुई वर्षभित्र सबैको घरमा विद्युत पुर्याउन विद्युतीकरणलाई ‘लास्ट माइल’को रुपमा अगाडि बढाइएको बताए ।

कपिलवस्तुको बाणगंगा नगरपालिका–७ स्थिति १३२ केभीको मोतीपुर सबस्टेसनबाट सुरु भई अर्घाखाँचीको शीतगंगा नगरपालिका हुँदै ३८ किलोमिटर १३२ केभी डबल सर्किट प्रसारण लाइन सन्धिखर्क सबस्टेसनमा ल्याइएको छ । प्रसारण लाइनमा १०६ वटा टावर निर्माण गरिएको छ ।

बुर्तिवाङ–पौदी–अमराई–तम्घास–सन्धिखर्क–गोरुसिंगे १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत मोतीपुर–सन्धिखर्क प्रसारण लाइन र सन्धिखर्क सबस्टेसनको निर्माण गरिएको हो । मोतीपुर सबस्टेसनको गत ३ चैतमा उद्घाटन गरिएको थियो ।

मोतीपुर –सन्धीखर्क प्रसारण लाइनको निर्माणका लागि २०७४को चैतमा सिग्मा कोन जेडएस स्टील जेभीसँग ठेक्का सम्झौता भएको थियो । प्रसारण लाइनको अनुमानित लागत करिब ७० करोड रुपैयाँ रहेको छ ।

सन्धिखर्कमा १३२-३३ केभी, ३० एमभिए र ३३÷११ केभी, १६ एमभिए क्षमताको पावर ट्रान्सफर्मरहरु रहेका छन् । सबस्टेसनबाट चार वटा ३३ केभीका फिडर निकाली अर्घा, हंशपुर र ठाडा सबस्टेसन र तीन वटा ११ केभीका फिडरबाट विद्युत वितरण गरिएको छ ।

विगतमा प्यूठानको झिम्रुक र गुल्मीदेखि लामो दुरीको ३३ केभीबाट विद्युत आपूर्ति हुँदा लाइन ओभरलोड हुने समस्या हुँदै आएकोमा अब त्यस्तो समस्या समाधान भएको प्राधिकरणका प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले बताए ।

उनले प्रसारण लाइन र सबस्टेसनको निर्माणपछि प्राविधिक चुहावटमा कमी प्राधिकरणको वित्तीय स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पर्ने बताए । सन्धिखर्क सबस्टेसन निर्माणका लागि २०७५को जेठमा पावरटेक वाइबा जेभीसँग ठेक्का सम्झौता भएको थियो । सबस्टेसनको अनुमानित लागत करिब ३७ करोड रुपैयाँ रहेको छ ।

कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पाल्पा, बाग्लुङ जिल्लाको विद्युत आपूर्ति सुधार गर्न, ट्रिपिङको समस्या समाधान गर्न, प्राविधिक चुहावट घटाउन र निजी क्षेत्रका जलविद्युत आयोजनाहरुको विद्युत प्रवाहका लागि बुर्तिवाङ–पौदी–अमराई–तम्घास–सन्धिखर्क–गोरुसिंगे १३२ केभी प्रसारण लाइन आयोजना आयोजनाको निर्माण गरिएको हो । आयोजनाअन्तर्गत गुल्मीको तम्घास, पाउदी अमराई र बाग्लुङको बुर्तिबाङमा सबस्टेसन निर्माणाधीन छन् ।


क्लिकमान्डु