ट्राफिक नियम उल्लंघन गर्नेलाई निर्ममतापूर्वक कारबाही गर्नुपर्छ : मन्त्री झाँक्री



काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले ट्राफिक नियम उल्लंघन गर्नेलाई निर्ममतापूर्वक कारबाही गर्नुपर्ने बताएकी छिन् ।

ट्राफिक नियम उल्लंघनका कारण सर्वसाधारणले हैरानी खेप्नु परेको भन्दै उनले यस्तो गर्नेलाई निर्ममतापूर्वक कारबाही गर्नुपर्ने बताएकी हुन् ।

‘हाम्रो संस्कृतिमा कारबाही नै ठूलो कुरा रहेछ । एक जनाले नियम उल्लंघन गर्दा धेरैको समय र पैसाको नोक्सानी हुन्छ । यसको चेन इफेक्ट थुप्रैलाई परेको हुन्छ । ट्राफिक नियम अटेरी गर्नेलाई त निर्ममतापूर्वक कारबाही गर्नैपर्छ’ उनले भनिन् ‘यसबाट राजस्व पनि उत्पन्न हुन्छ र मान्छेको बानी पनि पर्छ ।’

राजधानीमा ट्राफिक प्रहरीलाई प्राविधिक उपकरण हस्तान्तरण गर्दै मन्त्री झाँक्रीले ट्राफिक अनुशासन महत्वपूर्ण रहेको बताइन् । मन्त्री झाँक्रीको निर्देशनमा काठमाडौं उपत्यका विकास प्राधिकरणमार्फत २० थान ह्वील लक र ८८ थान ट्राफिक लाइट प्रदान गरिएको छ ।

कार्यक्रममा काठमाडौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त जानुका ढकालले धोबीखोला कोरिडोरलाई व्यवस्थित गरेर सवारी आवागमनमा प्राधिकरणले सहजीकरणको प्रयास गरिरहेको बताइन् ।

ट्राफिक प्रहरी महाशाखा प्रमुख उमेशराज जोशीले नियम उल्लंघन गर्नेको संख्या दिनप्रतिदिन बढ्दै गएको जानकारी गराए । यसअघि दैनिक झण्डै ८ देखि १० लाख रुपैयाँ राजस्व संकलन हुने गरेकोमा हाल १८ लाखसम्म राजस्व संकलन भइरहेको बताए । मन्त्रालयमार्फत प्राप्त थप उपकरणले यो अनुपात बढ्ने उनको भनाइ छ ।


क्लिकमान्डु