पुरनकर्जामा थप कडाइ, राष्ट्र बैंकले बढायो ब्याजदर



काठमाडौं । नेपाल राष्ट्र बैंकले पुरनकर्जामा कडाइ गरेको छ । पुनरकर्जा कार्यविधि २०७७ मा चौथो संशोधन गर्दै बैंकले लघु घरेलु तथा साना उद्यम पुनरकर्जा, विशेष पुनरकर्जा र साधारण पुनरकर्जामा ब्याजदर बढाएको हो ।

जसअनुसार यसअघि केन्द्रीय बैंकले लघु, घरेलु तथा साना उद्यम पुनरकर्जामा २ प्रतिशत ब्याजदर लिनेमा त्यसलाई बढाएर ४ प्रतिशत बनाएको छ । उक्त कर्जामा बैंकबाट यस्तो पुनरकर्जा लिँदा ५ प्रतिशत बुझाए पुग्थ्यो भने अब ७ प्रतिशत ब्याज तिर्नुपर्ने भएको छ ।

त्यसैगरी विशेष पुनरकर्जामा केन्द्रीय बैंकले १ प्रतिशत ब्याजदर लिन्थ्यो भने ग्राहकले बैंकबाट ३ प्रतिशत ब्याजदरमा पुनरकर्जा पाउँथे । तर अब भने केन्द्रीय बैंकले विशेष पुनरकर्जामा २ प्रतिशत ब्याजदर लिने र ग्राहकसँग बैंकहरुले ५ प्रतिशत ब्याजदर लिनेछन् ।

साथै, साधारण पुनरकर्जामा केन्द्रीय बैंकले लिने ३ प्रतिशत ब्याजदर बढाएर ५ प्रतिशत बनाइएको छ भने ग्राहकले यसअघि ५ प्रतिशतमा पाउँदै आएको यस्तो पुनरकर्जाको ब्याजदर ७ प्रतिशत बनाइएको छ ।

नयाँ व्यवस्था अनुसार एकमुष्ट रुपमा प्रदान गरिने पुनरकर्जाका लागि बैंकले इजाजतपत्रप्राप्त संस्थाहरुबाट आवेदन आह्वान गर्नेछ । तर नयाँ व्यवस्था अनुसार बैंकले यस्तो आवेदन आह्वान गर्दा आवश्यक शर्तहरु भने तोक्न सक्नेछ ।

साथै, पछिल्लो आर्थिक वर्षको रिटर्न अन इक्विटी २० प्रतिशत वा सोभन्दा बढी रहेको उद्योग व्यवसायमा प्रवाहित कर्जाहरु भन्ने व्यवस्थामा संशोधन गरी पछिल्लो दुई आर्थिक वर्षको औसत रिटर्न अन इक्विटी ३ प्रतिशतभन्दा बढी रहेका उद्योग व्यवसायमा प्रवाहित कर्जाहरु भन्ने व्यवस्था गरेको छ ।

केन्द्रीय बैंकले पुनरकर्जा कार्यविधि अनुसार पुनरकर्जा प्राप्त गरिसकेका ऋणीलाई पनि अयोग्यको सूचीमा राखेको छ ।


क्लिकमान्डु