महंगी बढ्दा उपभोक्ता अधिकारकर्मीहरु चुप लागेर बसेको भन्दै सांसदको असन्तुष्टि



काठमाडौं । दैनिक उपभोग्य बस्तुहरुको मूल्य ह्वात्तै बढ्दासमेत उपभोक्ता अधिकारकर्मीहरु चुप लागेर बसेको भन्दै संसदीय समितिले असन्तुष्टि जनाएको छ ।

संघीय संसद् प्रतिनिधिसभा अन्तरगतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवले खाने तेल, चिनीलगायतका दैनिक उपभोग्य बस्तुमा ह्वात्तै मूल्यवृद्धि हुँदा पनि उपभोक्ता अधिकारकर्मीहरु चुप लागेर बसेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।

विश्व उपभोक्ता अधिकार दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले बजार अनुगमन नगरेकै कारण मूल्य वृद्धि भएको उल्लेख गर्दै त्यसमा ध्यान दिन पनि सचेत गराए ।

व्यापारीहरुले तेस्रो मुलुकबाट आयात गरेर ल्याएको खानेतेल फेरी प्याकिङ गरेर त्यतै पठाउँदा नेपालमा खाने तेलको अभाव भएकोतर्फ उल्लेख गर्दै सभापति श्रीवास्तवले सरकारले त्यसबारे छानवीन गरेर यथार्थकुरा बाहिर ल्याउनुपर्ने बताए । उनले सरोकारवाला निकायसँग छलफल गरेर मात्रै भन्सार शुल्क मिनाह गर्न पनि सरकारलाई निर्देशन दिए ।

सभापति श्रीवास्तवले भने, ‘विशेष गरेर मन्त्रीजीमार्फत् के भन्न चाहन्छु भने केही दिन अगाडि सरोकारवाला पक्षसँग छलफल गरेर मात्रै भन्सार शुल्क मिनाह गर्ने काम सरकारले गर्नु पर्दछ । जनताको दैनिक उपभोग्य सामग्रीहरु जस्तो चामल आउँछ, गहँु आउँछ । औषधिहरु आउँछ । शैक्षिक सामग्रीहरु आउँछ । त्यस्ता कुराहरुमा बरु मिनाह दिनु राम्रो होला । तर, अनाआवश्यक वस्तुमा दिँदा नियत सफा देखिएन । त्यसकारण यस सम्बन्धमा के कसो हो भएको हो ? अव मूल्य वृद्धिको विषयमा यसलाई विस्तृत छानवीन गरियो भने स्पष्ट हुन्छ । यहाँ त देखिएको पनि छ । अनुगमनको क्रममा २÷२ जरिवाना गर्नु हुन्छ । तर, करोडौं घोटाला गर्नेलाई धरौटीमा छाडिदिनु हुन्छ । अनि मूल्यवृद्धि त्यसै भईरहेको छ । जस्तो खानेतेलको कस्तो रहेछ सिष्टम भन्दाखेरी तेस्रो मुलुकबाट खानेतेल यहाँ ल्याउने, त्यसलाई फेरी प्याकिङ गर्ने, फेरी तेस्रो मुलुकमा पठाउने । नेपालमा खपत गर्ने समेत उनीहरुले कन्जुस्याई गर्ने । जस्ले गर्दा यसमा अभाव हुन्छ अनि मूल्यवृद्धि भएर गईरहेको छ । अहिले खानेतेलको मूल्य यहाँहरु आफैलाई अनुभव भइरहेको छ । चिनीमा त्यस्तै छ । मूल्यवृद्धि हुँदा पनि उपभोक्ता चुप लागेर बसेका छन । कुनै आवाज आएको सुनिएको छैन ।’


क्लिकमान्डु