केपी ओलीको बिरोधपछि मतपत्रको रंग फेर्ने तयारी



काठमाडौ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा प्रयोग हुने मतपत्रको रंग परिवर्तन गर्ने तयारी गरेको छ।

नेकपा एमालेका अध्यक्ष तथा प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीको बिरोधपछि आयोगले मतपत्रको रंग फेर्ने तयारी गरेको हो ।

आयोगले स्थानीय तह निर्वाचनमा हरियो रंगको मतपत्र प्रयोग गर्ने तयारी गरेको थियो । हरियो रंगको मतपत्रमा निलो रंगको स्वस्तिक छाप प्रष्ट देखिने भन्दै आयोगले स्थानीय तह निर्वाचनमा हरियो रंगको मतपत्र प्रयोग गर्ने निर्णय गरेको थियो ।

तर, ओलीले हरियो रंगको मतपत्र बनाएर सत्तारुढ दल नेपाली कांग्रेसको निर्वाचन चिन्ह रुखलाई प्रबर्द्धन गर्न खोजेको भन्दै असन्तुष्टि व्यक्त गरेपछि आयोगले मतपत्रको रंग फर्ने तयारी गरेको हो ।

स्रोतका अनुसार, आज आइतबार मतपत्रको रंग फेर्ने प्रस्ताव तयार गर्दै आयोगको बैठकमा पेश गरिएको छ ।

‘हरियो रंगको सट्टा हल्का निलो रंगको मतपत्र बनाउने प्रस्ताव तयार भएको छ,’ स्रोतले भन्यो, ’सोमबार बस्ने आयोगको बैठकले मतपत्र परिवर्तन सम्बन्धी निर्णय गर्न सक्छ। तर, मतपत्र परिवर्तन गर्ने विषयमा आयुक्तको एक मत भने छैन ।´

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मतपत्रको रंग परिवर्तन गर्ने भन्दै आयोगका कर्मचारीलाई प्रस्ताव तयार गर्न लगाएका थिए।

आयोगका केही आयुक्तले पटक-पटक मतपत्रको रंग परिवर्तन गर्नु उपयुक्त नहुने बताएका छन् ।

‘हरियो रंगको मतपत्र बनाउने निर्णय प्राविधिक रूपमा उपयुक्त हुने भएपछि गरिएको थियो,´ आयुक्तको भनाइ उदृत गर्दै स्रोतले भन्यो,’ त्यसैले एउटा नेताले बिरोध गर्दैमा मतपत्रको रंग पटक-पटक परिवर्तन गर्नु हुन्न ।´


क्लिकमान्डु