चैतमा सहकारीको ब्याजदर नबढ्ने
काठमाडौं । चैत महिनामा सहकारीको ब्याजदर नबढने भएको छ । वाणिज्य बैंकले चैत महिनाको ब्याजदर नबढाउने भएपछि सहकारीले पनि चैतमा ब्याजदर नबढाउने भएका हुन् ।
राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलका अनुसार अब बैंकका ब्याज बढ्दा सहकारीको पनि ब्याज बढ्ने छ, बैकको घट्दा सहकारीको पनि घट्ने छ । बैंकको ब्याजदरले सहकारीको ब्याजदरमा पनि प्रभाव पर्ने भएको भन्दै वाणिज्य बैंकको ब्याज नबढे सहकारीले पनि नबढाउने बताए ।
‘हामी ब्याजदर बढाउनुपर्छ भन्ने पक्षमा छैनौ, ‘आफ्ना सदस्यहरुलाई सस्तोमा ब्याज घटाउनुपर्छ, ब्याजदर सस्तो हुनुपर्छ भन्ने नै हो’ अध्यक्ष कडेलले भने ‘ बैंकले ब्याजदर घटाएको बेला हामीले १४.७५ प्रतिशत पनि बनाएको हो । अहिले बढेको बेलामा बढेको छ ।’ बैंकको नबढेको खण्डमा सहकारीले मात्रै ब्याजदर नबढाउने उनको भनाइ छ । आगामी दिनमा बैंकमा ब्याजदर बढ्दा बढाउन र घट्दा घटाउनको लागि तीन महिना नै कुर्नुपर्ने बाध्यता नरहेको उनको तर्क छ । ऐनमा नै ब्याजदर आवश्यकताको आधारमा तलमाथी गर्न सकिने उल्लेख रहेको अध्यक्ष कडेलले बताए ।
अहिले पनि कतिपय बैंकले १५.७५ प्रतिशतसम्ममा कर्जा दिने गरेको उनको भनाइ छ । सहकारीमा राखेको पैसा ब्याजदरका कारण डुबेको भन्दै कसैले पनि थोरै बढी ब्याज बढी पायो भनेर त्यसमा धेरै आकर्षित हुन नसकेको बताए । बचतमा बढी ब्याजदर भएपछि ऋणमा पनि बढी ब्याजदर लाग्ने गरेको बताए ।
१६ प्रतिशत ब्याजदरलाई रेफ्रेन्सको रुपमा मात्रै लिनुपर्नेमा ऐन र नियममा क्यापिङको हिसाबमा राखेको उनको भनाइ छ । यसमा अधिकतम सिमा कायम गरेर आधारदरमा निश्चित प्रिमियम जोडेर कर्जा लगानी गर्ने व्यवस्था हुनुपर्ने बताए ।
सहकारी पत्रकार समाज र महासंघले आयोजना गरेको अन्तकृया कार्यक्रममा अध्यक्ष कडेलले सिभिल सहकारी र ओरियन्टल सहकारीलाई हेरेर राजनीतिक दलका नेता, कर्मचारी तथा समग्र राज्यले नै सहकारीलाई हेर्ने धारणा नकारात्मक बनाएको बताए । उनले सबै सहकारीले नराम्रो मात्रै नगरेको भन्दै भएका राम्रो कामलाई पनि हेर्न आग्रह गरे ।