पुसको तुलनामा माघमा बीमा कम्पनीको व्यवसाय २०% ले घट्यो



काठमाडौं । पुसको तुलनामा माघ महिनामा बीमा कम्पनीहरुको व्यवसाय घटेको छ ।

पुसको तुलनामा माघ महिनामा बीमा कम्पनीहरुको व्यवसाय २०.३० प्रतिशतले घटेको हो ।

बीमा समितिको तथ्यांकअनुसार चालु आवको माघ महिनामा बीमा कम्पनीहरुले १३ अर्ब ११ करोड ५१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

चालुु आवको पुस महिनामा कम्पनीहरुले १६ अर्ब ४५ करोड ५८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका थिए ।

चालु आवको माघ महिनामा संचालनमा रहेका जीवन बीमा कम्पनीले १० अर्ब ३८ करोड ८४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

जुन पुस महिनाको तुलनामा जीवन बीमा कम्पनीहरुको व्यवसाय १८.७४ प्रतिशतले घटेको हो ।

पुस महिनामा जीवन बीमा कम्पनीहरुले १२ अर्ब ७८ करोड ४५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका थिए ।

यस्तै, पुस महिनाको तुलनामा निर्जीवन बीमा कम्पनीको व्यवसाय २५.७३ प्रतिशतले खुम्चिएको समितिको तथ्यांक छ ।

माघ महिनामा निर्जीवन बीमा कम्पनीहरुले दुई अर्ब ७२ करोड ६६ लाख ८२ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

पुस महिनामा निर्जीवन बीमा कम्पनीहरुले तीन अर्ब ६७ करोड १२ लाख ९७ हजार रुपैयाँको व्यवसाय गरेका थिए ।

इन्जिनियरिङ बीमा ८७ प्रतिशतले घट्यो

निर्जीवन बीमा व्यवसायतर्फ सबैभन्दा धेरै इन्जिनियरिङ बीमाको व्यवसाय घटेको छ । इन्जिनियरिङ बीमाको व्यवसाय ८७.२२ प्रतिशतले घटेर ८ करोड ३७ लाख रुपैयाँमा खुम्चिएको छ ।

पुस महिनामा इन्जिनियरिङ बीमाबाट कम्पनीहरुले ६५ करोड ५३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए ।

हवाई बीमा ५० प्रतिशतले घटेर ६ करोड ८९ लाख रुपैयाँमा सीमित भएको छ ।

पुस महिनामा हवाई बीमाबाट कम्पनीहरुले १३ करोड ८४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए ।

यस्तै, निर्जीवन बीमा कम्पनीहरुमा सबैभन्दा भन्दा धेरै बीमाशुल्क संकलन हुने मोटर बीमाको व्यवसाय पनि घटेको छ । यस अवधिमा मोटर बीमाको व्यवसाय २६.२७ प्रतिशतले घटेको छ ।

माघ महिनामा कम्पनीहरुले मोटर बीमाबाट एक अर्ब ७ करोड तीन लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । पुस महिनामा एक अर्ब ४५ करोड १६ लाख २० हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए ।

यस्तै, पुसको तुलनामा माघ महिनामा निर्जीवन बीमा कम्पनीको विविध बीमा र कृषि तथा बाली बीमामा समेत गिरावट आएको समितिको तथ्यांक छ ।

पुसको तुलनमा विविध बीमा २६ प्रतिशत र कृषि तथा बाली बीमा १७.५६ प्रतिशतले घटेको हो ।

माघ महिनामा निर्जीवन बीमा कम्पनीहरुले विविध बीमाबाट २७ करोड ६५ लाख रुपैयाँ र कृषि तथा बाली बीमाबाट १७ करोड ३८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

तथ्यांकअनुसार पुसको तुलनामा माघमा लघु बीमा, सम्पत्ति बीमा र सामुन्द्रिक बीमाको व्यवसाय बढेको छ ।

सम्पत्ति बीमाको व्यवसाय ३०.७८ प्रतिशत, सामुन्द्रिक बीमाको व्यवसाय ४ प्रतिशत र लघु बीमाको व्यवसाय ३.१४ प्रतिशतले बढेको हो ।


क्लिकमान्डु