अनलाइनबाट हुने ठगी बढ्यो, प्रहरीमा गत वर्षभन्दा २९ प्रतिशतले बढ्यो उजुरी



इन्टरनेट प्रयोगकर्ताको संख्या बढेसँगै प्रविधिको दुरुपयोग गर्दै सोझा र लोभीलाई प्रलोभनमा पारेर र झुक्याएर ठगी गर्ने क्रम बढेको नेपाल प्रहरीले तयार पारेको एक प्रतिवेदनले देखाएको छ ।

काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणको तथ्यांक अनुसार मंसिर मसान्तसम्म ८९ प्रतिशत जनताले मोबाइल ब्रोडब्याण्ड इन्टरनेट प्रयोग गर्ने गरेका छन् । त्यसको अर्थ हुन्छ देशभरमा ११ प्रतिशत जनता मात्रै इन्टरनेटको पहुँचमा छैनन् ।

फिक्स लाइन (तारबाट जोडिने) इन्टरनेटको पहुँच पनि २९ प्रतिशत जनतामा पुगेको छ ।

दुरसञ्चार प्राधिकरणको तथ्यांकले पछिल्लो समय देशभर इन्टरनेट प्रयोगकर्ताको संख्या बढेको देखाउँछ । स्मार्टफोन प्रयोगकर्ताको संख्या बढेसँगै मोबाइलमा इन्टरनेट चलाउनेको संख्या बढेको हो । इन्टरनेट प्रयोगकर्ताको संख्या बढेसँगै प्रविधि प्रयोग गर्दै हुने अपराध पनि उच्च दरमा बढेको छ ।

चालु आर्थिक वर्षको ७ महिनामा गत वर्षभन्दा २९ प्रतिशतबढी अनलाइनबाट ठगी सम्बन्धी उजुरी प्रहरी कार्यालयमा परेका छन् । नेपाल प्रहरीको साइबर ब्यूरोको तथ्यांक अनुसार गत आर्थिक वर्षमा अनलाइन ठगी सम्बन्धी २ सय ४४ उजुरी परेकोमा चालु आर्थिक वर्षको ७ महिनामै प्रहरी कार्यालयमा ३१५ उजुरी परेका छन् ।

अनलाइन प्रयोगकर्ता बढेसँगै यसको प्रयोग गर्दै वित्तीय अपराध बढ्दै जानु गम्भीर भएको नेपाल प्रहरीको साइबर ब्यूरोले अर्थमन्त्री जनार्दन शर्मालाई बुझाएको प्रतिवेदनमा उल्लेख छ ।

क्लिकमाण्डूलाई प्राप्त उक्त प्रतिवेदन अनुसार अनलाइन माध्यमबाट ठगी गर्नेले चिट्ठा परेको भन्ने, विदेशबाट सामान पठाएकाले भन्सार बुझाउन रकम पठाउन लगाई ठगी गर्ने, सस्तो मूल्यमा मोबाइल पाउने भन्दै ठग्ने, फेसबुक आईडी ह्याक गरी ठगी गर्ने र अनलाइन खेलका नाममा ठगी गर्ने प्रवृति देखिएका छन् ।

चिट्ठा परेको छ भन्दै फेसबुक, इमेल, ह्वाट्स एपमा म्यासेज पठाउने र बैंकका डिटेल जानकारी लिएर बैंक खातामा रहेको पैसा नै ट्रान्सफर गरिएको भन्दै प्रहरीमा उजुरी गर्नेको संख्या बढेको प्रतिवेदनमा उल्लेख छ ।

गत आर्थिक वर्षमा चिट्ठा परेको भनेर ठगीएका ४४ जनाले प्रहरी कार्यालयमा उजुरी गरेको यो आर्थिक वर्षको ७ महिनामै यस्ता ६१ वटा उजुरी परेका छन् ।

समाजिक सञ्जाल प्रयोग गर्दै पहिला साथी बन्ने, केही समयपछि महँगो समान उपहार पठाउने लागेको विश्वास दिलाउने त्यसपछि सोही गिरोहको कुनै व्यक्ति भन्सारको कर्मचारी भएको नाटक गर्ने र भन्सारबाट सामान छुटाउनु पर्ने भएको भन्दै पैसा पठाउन लगाइ ठगी गर्ने क्रम बढेको प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।

‘समाजिक सञ्जालका नयाँ प्रयोगकर्ताले साथी बनेको केही समयमै महँगो उपहार पठाउँछु भन्दा पनि विश्वास गर्छन्,’ अनुसन्धानमा संलग्नले एक प्रहरी अधिकारी भन्छन्, ‘छोटो समयमै मानिसलाई विश्वास गर्ने र धेरै लोभ भएका व्यक्ति अनलाइन माध्यमबाट ठगिने देखिन्छ ।’

सस्तो मूल्यमा मोबाइल खरिद/बिक्रीमा ठगी गर्ने, फेसबुक आईडी ह्याक गरी ठगी गर्ने, डिजिटल वालेटबाट ठगीएको भन्दै प्रहरीमा उजुरी गर्ने पनि बढेका छन् । गत आर्थिक वर्षमा अनलाइनबाट ७ करोड ७८ लाख रुपैयाँ बराबर ठगिएको भन्दै प्रहरीमा उजुरी परेको थियो ।

चालु आर्थिक वर्षको ७ महिनामा यस्तो ठगी गर्ने क्रम ह्वात्तै बढेको छ । प्रहरीको तथ्यांक अनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्म मात्रै ६ करोड ५५ लाख रुपैयाँ ठगिएको भन्दै प्रहरीमा ३१५ वटा उजुरी परेका छन् ।

प्रहरीमा उजुरी गर्ने क्रम मात्रै बढेको छैन, प्रहरीले दर्ता गर्ने उजुरीको संख्या पनि बढेको छ । गत आर्थिक वर्षमा ४९ वटा मात्रै उजुरी प्रहरीले दर्ता गरेकोमा चालु आर्थिक वर्षको ७ महिना २ सय १६ उजुरी दर्ता भएका छन् ।

गत वर्ष प्रहरीले एउटामात्रै मुद्दा दर्ता अदालतमा दायर गरेको थियो । यो आर्थिक वर्षको ७ महिनामै ७ वटा मुद्दा अदालतमा दर्ता भइसकेका छन् । यस्तै, गत आर्थिक वर्षमा अनलाइन ठगीमा ५ वटा विषयमा मिलापत्र गरेको प्रहरीले चालु आर्थिक वर्षमा १५ वटा विषयमा मिलापत्र गरिसकेको छ ।

‘ठगिएको रकम फिर्ता दिन लगाई मिलापत्र गर्ने गरिएको छ,’ एक अधिकारी भन्छन्, ‘अनलाइन ठगीका विषयमा अनुसन्धान गरेर प्रमाण संकलन गरेर अदालतमा मुद्दा चलाउन निकै कठिन छ ।’

अनलाइन ठगीका सञ्चालकहरु प्रायः भारतमा बसी सोझा साझा नेपालीहरुलाई अनलाइन बिजनेशमा जागिर दिने प्रलोभन देखाउँदै प्रयोग गरिरहेको प्रहरीको अनुसन्धानले देखाएको छ । यस्तै डिजिटल माध्यमबाट ठगी धन्दा चलाउनेमा नेपाली नागरिकहरु पनि रहेको प्रहरीको भनाइ छ ।

‘अनलाइन गेम खेलाएर ठग्ने, डिजिटल वालेट प्रयोग गर्दै ठगी गर्नेमा नेपाली पनि संलग्न छन्,’ प्रहरीका अधिकारी भन्छन्, ‘नेपाली इन्टरनेट प्रयोगकर्तालाई सचेत गराउन सकिएन् भने अनलाइन माध्यमबाट ठगी गर्नेको सञ्जाल झनै फैलने देखिन्छ ।’

अनलाइन ठगीको कसूरदारलाई मुलुकी अपराध संहिता, २०७४ बमोजिम अनुसन्धान गर्ने गरिएकोमा कतिपय अनलाइन ठगीलाई यस संहिताले मात्रै पूर्णरुपमा समेट्न नसक्ने हुँदा कसूरदारले सहजै उन्मुक्ति पाउन सक्ने अवस्था रहेको प्रहरीको भनाइ छ ।

अर्थमन्त्रीलाई प्रहरीले बुझाएको प्रतिवेदनमा अनलाइन माध्यमबाट बढ्दो ठगी नियन्त्रण गर्न विद्यमान कानूनहरु संशोधन गर्नुपर्ने सुझाव दिइएको छ ।

यस्तै विदेशबाट कानूनी सहायता प्राप्त गर्न खानतलासी, बैंक खाता तथा सरकारी विवरण प्राप्त गर्न एवं प्रतिवादीलाई पक्राउ गर्नका लागि आवश्यक पारस्परिक कानूनी सहायता तथा सुपुर्दगी समेतको प्रयोजनका लागि केही मुलुकहरुसँग पारस्परिक कानूनी सहायता तथा सुपुर्दगी सन्धी गर्न पहल गर्नुपर्ने प्रहरीको सुझाव छ ।

अन्य व्यक्तिका नामका रहेको सीम प्रयोग गरी काम सकिएपछि फ्याक्ने गर्दा सम्बन्धित व्यक्तिलाई अपराधसँग जोड्न समस्या भएको र प्रयोग भएको सीमकार्ड र कल रेकर्ड नहुँदा अनुसन्धानमा जटिलता हुने गरेको प्रहरीको भनाइ छ ।

फेसबुक आइडी ह्याक गरी रकम ठगी गरेको सम्बन्धमा इन्टरनेट धनी र फेसबुक प्रयोगकर्तालाई समेत प्रतिवादी बनाई मुद्दा दायर गर्नुपर्ने अवस्था रहेकाले कानूनमा संशोधन आवश्यक रहेको प्रहरीको सुझाव छ ।

‘फेसबुक कसले ह्याक गर्दै ठगी गरेको हो भन्ने विषयमा प्रमाणित गर्न कठिन भएको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘अनलाइनमार्फत् जुवा मुद्दामा बिगोको यकिन विवरण नखुलेकाले बिगो कायम गर्न समस्या देखिएको छ । नेपाल बाहिरबाट सञ्चालन हुने सामाजिक नेटवर्किङ साइटहरू, मोबाइल एप्लिकेशन, इमेल सेवाप्रदायक लगायतका विद्युतीय प्लेटफर्मका आधिकारिक निकायसँग द्विपक्षीय सम्झौता नभएकाले त्यस्ता माध्यमबाट हुने अपराध नियन्त्रणमा समस्या देखिएको छ । ’

नेपालमा रहेका केही इन्टरनेट सेवा प्रदायक संस्थाहरूले डाटाहरूलाई उचित रूपमा भण्डारण गर्न नसक्दा पनि अनुसन्धानमा समस्या देखिएको प्रहरीको भनाइ छ ।


शरद ओझा