अब एकै ठाउँबाट बीमा सम्बन्धी परामर्श पाइने



 काठमाडौं । वर्तमान समयमा समयको माग अनुसार देशमा बीमा सम्बन्धी जनचेतना अपर्याप्त छ । अर्थात न्यून छ । नेपालमा आज पनि बीमाको आवश्यकता बोध गरेर बीमा गर्ने परिपाटीको विकास हुन सकेको छैन । 

जसले गर्दा बीमितले आफूले खरिद गर्न लागेको बीमा योजनाका बारेमा जानकार हुँदैनन् । र, कतिपय बीमितले आफ्नो बीमा योजनालाई निरन्तरता समेत दिन सक्दैनन् । बीमाको आवश्यकता बोध गरेर बीमा गर्छु भन्नेहरूले पनि उपयुक्त रूपमा परामर्श पाउन सक्दैनन् ।

नेपालमा सर्वसाधारणले बीमालाई राम्रो नजरले हेर्दैनन् । जसको पछाडि कम्पनीहरुले समयमा नै दाबी भुक्तानी नदिनु प्रमुख कारण हो ।बीमा कम्पनीहरुले बीमितलाई समयमा नै दाबी भुक्तानी नदिँदा कम्पनीहरुले बीमितप्रतिको विश्वास गुमाउँदै गईरहेका छन् ।

 बीमामा विश्वास दिलाउन र बीमा सम्बन्धी आवश्यक सबै खाले परामर्श एउटै ठाउँबाट दिने लक्ष्यका साथ नेपालमा इन्स्योरेन्स कन्सल्टेन्सी नेपाल (आइकन) स्थापना भएको छ ।बीमा क्षेत्रमा लामो समयदेखि आबद्ध भएका व्यक्तिहरूको समूहको सहकार्यमा उक्त कन्सल्टेन्सीको स्थापना गरिएको हो । जसमा बीमा सम्बन्धी विज्ञता हाँसिल गरेका व्यक्तिहरू आबद्ध छन् ।

आवश्यकता अनुसार सो समूहमा अझै अन्य व्यक्तिहरूलाई समेत सहभागिता गराउने कन्सल्टेन्सीले जानकारी दिएको छ ।  कन्सल्टेन्सीका अनुसार बीमा सम्बन्धी २५ वर्षभन्दा माथिको अनुभव बटुलेका विज्ञहरूको उपस्थित छ । उक्त कन्सल्टेन्सीबाट बीमा गर्न चाहने व्यक्ति, फ्याक्ट्री, आयोजनाहरूले बीमा सम्बन्धी सबै खाले परामर्श लिन सक्ने छन् ।

सबै प्रकारका बीमा सम्बन्धी जनचेतना, कर्मचारी दक्षता प्रवर्धन र दक्ष कर्मचारी आपूर्ति गर्ने लक्ष्यका साथ सो कन्सल्टेन्सी स्थापना गरिएको हो ।कन्सल्टेन्सीले बीमितका साथै बीमा क्षेत्र सम्बन्धीत अन्य सबै निकायलाई पनि आवश्यक परामर्श दिने छ ।

बीमित, बीमा कम्पनी तथा नियामक निकायलाई समेत उक्त कन्सल्टेन्सीले आवश्यता अनुरुप बीमा परामर्श दिइने कन्सल्टेन्सीका मार्केटिङ म्यानेजर सजनी भडेलले जानकारी दिइन् । उनका अनुसार बीमा बजारमा देखिएका विद्यमान विकृतिको अन्वेषण गरी विकृति उन्मूलन गर्ने उद्देश्य समेत कन्सल्टेन्सीको छ ।

सम्पूर्ण बीमा उद्योगलाई टेवा पुग्ने गरी दक्ष जनशक्तिको उपस्थितिमा व्यक्तिगत तथा स्वतन्त्र बीमा सम्बन्धी परामर्श उपलब्ध गराउने उद्देश्यले उक्त कन्सल्टेन्सी स्थापना गरिएको हो ।

‘इन्स्योरेन्स कन्सल्टेन्सी’ले के के काम गर्छ ?

बीमालेख खरिद गरेका तर दाबी भुक्तानी समयमा नै नपाएका बीमितले यस कन्सल्टेन्सीको सहयोग लिन सक्नेछन् । दाबी भुक्तानी नपाएका बीमितलाई कन्सल्टेन्सीले परामर्श दिन्छ ।

न्याय दिलाउनका लागि कम्पनी तथा बीमा समितिसमक्ष समेत पुग्ने काम कन्सल्टेन्सीले गर्छ ।बीमा गर्न इच्छुक भएका तर कुन बीमा योजना खरिद गर्ने, कुन कम्पनीमा गर्ने अथवा कति रकमको गर्ने भन्ने अन्योलमा रहेका व्यक्तिलाई यस कन्सल्टेन्सीले सहयोग गर्ने छ ।

साथै, कम्पनीले दाबी भुक्तानीको प्रक्रिया समेत कम्पनी र बीमितका बीचमा रहेर काम गर्ने छ  । बीमामा विश्वास बढाउने लक्ष्यका साथ कम्पनी स्थापना गर्न लागिएको कन्सल्टेन्सीका चार्टड कन्सल्टेन्ट तथा लुम्बिनी जनरल इन्स्योरेन्सका पूर्वडेपुटी सीइओ बिके श्रेष्ठले जानकारी दिए ।

‘कम्पनीहरुले बीमालखे बिक्री गर्दा बीमा योजनाको बारेमा पूर्णमा बुझाउदैनन्’ श्रेष्ठले भने, ‘बीमितले बीमालेखमा लेखिएका कुराहरु बुझ्दैनन् । जसले गर्दा दाबी भुक्तानीमा समस्या देखिन्छ ।’

बीमा बजारमा देखिएका विकृतिलाई रोक्ने लक्ष्यका साथ कन्सल्टेन्सी स्थापना गरिएको उनको भनाइ छ । उनले बीमा सम्बन्धी सबै खाले परामर्श दिने तथा बीमा क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्नु कन्सल्टेन्सीको मूख्य लक्ष्य रहेको बताए । उनका अनुसार कन्सल्टेन्सीले बीमितलाई परामर्श दिने काम गर्ने छ ।

त्यसका साथै, सो कन्सल्टेन्सीले कम्पनीहरुले चाहेको खण्डमा नयाँ बीमालेख निमार्णको काम समेत गर्ने छ । कन्सल्टेन्सीले  निर्जीवन बीमा तथा जीवन बीमा कम्पनीलाई तालिम दिने छ । साथै, बीमा कम्पनीहरुको सफ्टवेयर निमार्णको काम समेत गर्ने छ ।बजारमा नयाँ बीमा कम्पनी आउने भएमा ती कम्पनीहरुको कागजातको सबै प्रक्रिया समेत कन्सल्टेन्सीले गर्ने छ । उनका अनुसार कन्सल्टेन्सीले पोलिसी अनुवाद गर्ने काम समेत गर्ने छ । 

कन्सल्टेन्सीले बजारमा बीमा सम्बन्धी दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य समेत लिएको छ । आवश्यकताअनुसार परामर्श र बीमा उद्योगमा जागिर खान चाहानेहरुको लागि जागिरको अवसर र जागिर सम्बन्धी परामर्श समेत दिने छ । ज-जसलाई जे को आवश्यकता छ त्यसै अनुसार बीमासम्बन्धी परामर्श सेवा उपलब्ध कन्सल्टेन्सीले गराउने छ । 

उपत्यका बाहिर सम्पर्क कार्यालय स्थापना गर्ने

उपत्यका बाहिर पनि शाखा कार्यालय खोल्नका लागि माग आएको उनले जानकारी दिएको छ । उनका अनुसार कन्सल्टेन्सीले तत्कालका लागि शाखा कार्यालय खोल्ने सोच नबनाए पनि सम्पर्क कार्यालय खोल्न लागेको छ । उपत्यका बाहिर विराटनगर, वीरगन्ज, बुटवल र दाङमा सम्पर्क कार्यालय स्थापना गर्ने लक्ष्य कन्सल्टेन्सीले लिएको छ ।


बिजया बास्कोटा