४१ बीमा कम्पनीमा एकमात्र महिला सीईओ, व्यवस्थापनमा भने बढ्दै छ संख्या



काठमाडौं । मुलुकमा बीमा कम्पनीको इतिहास सात दशक लामो छ । यो लामो समयमा बीमा कम्पनीमा महिला कर्मचारीको सन्तोषजनक छैन ।

हुन त नेपालको बैंक तथा वित्तीय संस्थामा महिला कर्मचारीको संख्या वृद्धि हुँदै गएको छ । समाजको विकाससँग यसक्षेत्रमा महिलाको प्रवेश बढेको हो ।

घरभित्रको काम सम्हालिरहेका महिला पछिल्लो दशकमा भने हरेक क्षेत्रमा अगाडि बढ्दै गएको देखिन्छ ।

कुनै समय चुलो, चौका र भान्सामा सीमित महिलाको उपस्थिती पछिल्लो समय राज्यको हरेक तह र तप्कामा बाक्लिदो छ ।

मुलुकको राष्ट्रपति महिला । राजनीतिक दलहरुमा मात्र होइन, प्रशासन, सुरक्षा संयन्त्र, बैंक तथा वित्तीय क्षेत्र लगायतका अन्य निकायमा समेत महिलाको उपस्थिति बढ्दै गएको छ ।

उपस्थित मात्र होइन, नेतृत्व गर्ने स्थानमा समेत महिलाहरु पुगेका छन् र अब्बल कार्यसम्पादन गरेर देखाएका छन् ।

घरधन्दामा सीमित रहँदा आर्थिक रुपमा पिछडिएका महिलाहरु वित्तीय क्षेत्रमा सक्रिय देखिन थालेका छन् ।

अन्य पेशाको तुलनामा महिलाका लागि बैंक तथा वित्तीय क्षेत्र सुरक्षित, प्रतिष्ठित, आकर्षक तलब तथा राम्रो सेवासुविधा भएको क्षेत्र मानिन्छ ।

त्यसकारण पनि अहिले ती क्षेत्रमा महिलाको रुचि बढ्दै गएको हो ।

७० वर्षे बीमाको इतिहासलाई हेर्दा यो सहभागिता सन्तोषजनक भने होइन । अझै पनि कतिपय बीमा कम्पनीको उच्च व्यवस्थापन तहमा महिला सहभागिता नै छैन ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा उच्च व्यवस्थापन पदमा मात्रै होइन संचालक समितिमा समेत महिलाको उपस्थित न्यून छ ।

केही बीमा कम्पनीको उच्च व्यवस्थापन समूहमा भने महिलाको प्रतिनिधित्व छ । तर, प्रमुख कार्यकारी अधिकृत (सीईओ) स्तरमा रहेर काम गर्ने महिला भने नगन्य छन् ।

नेपालका बीमा कम्पनीमा एक मात्रै महिला सीइओ

हाल नेपालमा जीवन बीमा, निर्जीवन बीमा र पुनर्बीमाको व्यवसाय गर्ने ४१ कम्पनी छन् । त्यसमध्ये एक कम्पनीमा मात्रै महिलाको नेतृत्व छ ।

७० वर्षे बीमाको इतिहासमा एक निर्जीवन बीमा कम्पनीले मात्रै महिला प्रमुख कार्यकारी अधिकृत पायो ।
युनाइटेड इन्स्योरेन्समा उपासना पौडेल प्रमुख कार्यकारी अधिकृत (सीईओ)को रुपमा कार्यरत छिन् । पौडेलले ०७८ वैशाख महिनादेखि सीइओ भएर कम्पनीको नेतृत्व गरिरहेकी हुन् ।

उनी यसअघि कम्पनीको डेपुटी सीईओ थिइन् ।

बीमा क्षेत्रका लागि महिला पनि सक्षम छन् भन्ने उदाहरण हुन् पौडेल ।

४१ बीमा कम्पनीमा एक मात्रै महिला प्रमुख कार्यकारी अधिकृत भएपनि केही बीमा कम्पनीको उच्च व्यवस्थापन तहमा महिला सहभागिता छ ।

बीमा कम्पनीको व्यवस्थापन तहमा यस्तो छ महिला उपस्थिति

पछिल्लो समय बीमा कम्पनीको उच्च व्यवस्थापनमा भने महिला नेतृत्व बढ्न थालेको छ । अधिकांश बीमा कम्पनीको उच्च व्यवस्थापन टीममा महिलाको सहभागिता रहेको तथ्याङ्क छ ।

सविता मास्के शिखर इन्स्योरेन्स कम्पनीमा महाप्रबन्धक पदमा आवद्ध छिन् । मास्केसँग बीमा क्षेत्रमा २ दशकभन्दा बढी समयसम्म काम गरेको अनुभव छ ।

जोश्ना पाण्डे सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको वरिष्ठ प्रबन्धकको रुपमा कार्यरत छिन् । सार्वजनिक प्रशासनमा स्नाकोत्तर गरेकी पाण्डे २००४ मा राष्ट्रिय बीमा कम्पनी लिमिटेडबाट बीमा क्षेत्रमा प्रवेश गरेकी हुन् ।

सानिमा जनरल इन्स्योरेन्सको डेपुटी जनरल म्यानेजरमा रेना रिजाल नियुक्त भएकी छिन् ।

बैंकिङ तथा बीमा क्षेत्रमा दुई दशक बढीको अनुभव बटुलेकी रिजाललाई इन्स्योरेन्सले माघ महिनामा मात्रै सो पदमा नियुक्ति दिएको हो ।

बीमा कम्पनीहरुले वेभसाइटमा राखेको विवरणअनुसार जीवन तथा निर्जीवन बीमा कम्पनीको उच्च व्यवस्थापनमा महिलाको सहभागिता रहेको देखिन्छ ।

जीवन बीमा कम्पनीतर्फ लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) नेपालको उच्च व्यवस्थापनमा सिर्जना नेपाल, जेनेरियम श्रेष्ठ छिन् ।

नेशनल लाइफमा एसिस्टेन्ट म्यानेजरका रुपमा समीक्षा अधिकारी छिन् ।

यस्तै, महालक्ष्मी लाइफ, सिटिजन लाइफ र प्रभु लाइफको उच्च व्यवस्थापन तहमा एक÷एक जना, एशियन लाइफमा २, सूर्या लाइफमा २, प्रभु लाइफमा एक, नेपाल लाइफमा ४ जनाको उपस्थित छ ।

निर्जीवन बीमा कम्पनीको उच्च व्यवस्थापन तहमा पनि महिला सहभागिता छ ।

महिला प्रमुख कार्यकारी अधिकृत रहेको कम्पनी यूनाइटेड इन्स्योरेन्सको उच्च व्यवस्थापन तहमा ४ जना महिला छन् ।

यस्तै, हिमालयन जनरल, सगरमाथा इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, एभरेष्ट इन्स्योरेन्स र जनरल इनस्योरेन्स कम्पनीको उच्च व्यवस्थापनमा एक/एक जना महिलाको सहभागिता छ ।

प्रिमियर इन्स्योरेन्सको उच्च व्यवस्थापन तहमा तीन, आइएमई जनरल इन्स्योरेन्समा ४, प्रुडेन्सियल इन्स्योरेन्समा २, लुम्बिनी जनरलमा २, सिद्धार्थ इन्स्योरेन्समा २ जना महिला कार्यरत रहेको तथ्यांक छ ।


क्लिकमान्डु