खपत नहुँदा इतिहासकै कम मूल्यमा सिमेन्ट बिक्री गर्दै उद्योगी, भारतभन्दा सस्तो 



काठमाडौं । कोरोना महामारीका कारण अस्तव्यस्त भएको अर्थतन्त्र अहिले पनि पूर्ण रूपमा चलायमान हुन सकेको छैन । कोरोनाले बजारमा सप्लाई चेन नमिल्दा अधिकांश क्षेत्रमा प्रभाव परेको छ ।

जसले गर्दा उपभोक्ता मूल्यवृद्धिको चपेटामा छन् । अहिले अधिकांश वस्तुको मूल्य बढेर छोई नसक्नु अवस्थामा पुगेको छ । एकातिर कोरोना महामारीले आर्थिक संकटमा खेपिरहेका छन् भने अर्कोतर्फ मूल्यवृद्धिले झन् थप संकटमा पारेको छ । 

विकास निर्माणलाई आवश्यक पर्ने डण्डी, गिट्टीलगायत अन्य वस्तुको मूल्य बढ्दा सिमेन्टको भने इतिहासकै कम मूल्यमा बिक्री भइरहेको उद्योगीहरूले बताएका छन् । अन्य विभिन्न वस्तुको मूल्य बढेको बेला बजारमा सिमेन्ट खपत नहुँदा इतिहासकै सबैभन्दा कम मूल्यमा उद्योगीहरूले सिमेन्ट बिक्री गरिरहेका छन् । 

बजारमा उद्योगीहरूले उत्पादन गरेको सिमेन्ट खपत हुन नसक्दा लागतभन्दा कम मूल्यमा बिक्री गर्न बाध्य भएको छ । उद्योगीहरूले पछिल्लो समय नेपालमै गुणस्तरीय सिमेन्ट उत्पादन  गर्न उद्योग सञ्चालनमा ल्याएपछि नेपाल सिमेन्टमा आत्मनिर्भर बनिसकेको छ । साथै, सिमेन्टमा पुरानो उद्योगीहरूले आफ्नो क्षमता बढाएको र नयाँ उद्योग थप गर्दै लगेको छ ।

जसले गर्दा पर्याप्त मात्रामा सिमेन्ट उत्पादन हुने गर्दछ । अहिले नेपालमा ४४ वटा ग्रान्डिङ उद्योग र २१ वटा क्लिङ्कर उद्योग गरेर ६४ वटा उद्योग छन् । उक्त उद्योगमा ३ खर्ब रुपैयाँ लगानी रहेको व्यवसायीहरूले बताएका छन् । पुरानो उद्योगमा लगानी थप गरी क्षमता बढाउँदा र नयाँ उद्योग थप हुँदा यस क्षेत्रमा उद्योगीहरूबिच प्रतिस्पर्धामा उत्पादन गरिरहेका छन् ।

उद्योगीहरूले भारतमा उत्पादन गरेको सिमेन्टसरहको ग्रेडकै सिमेन्ट उत्पादन गरिरहेका छन् । जसले गर्दा नेपालले आयात गर्नुपर्ने अवस्थाको अन्त्य भएको छ । अहिले बजारमा उच्च रूपमा उत्पादन तथा प्रतिस्पर्धा बढेसँगै पर्याप्त मात्रामा सिमेन्ट उत्पादन भइरहेको छ । तर, खपत हुन नसक्दा उद्योगीहरूले लागतभन्दा पनि कम मूल्यमा बिक्री गरिरहेको नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापा बताउँछन् ।

उनकाअनुसार पछिल्लो समय विकास निर्माणको कार्यले गति नलिँदा सिमेन्ट खपत नभएर लागतभन्दा कम मूल्यमा बिक्री गर्न बाध्य भएको हो । त्यस्तै, इन्टरनेशनल सिमेन्ट उद्योगका अध्यक्ष र संघको कार्यसमिति सदस्यसमेत रहेको राजन कुमार झाले अहिले इतिहासकै कम मूल्यमा सिमेन्ट बिक्री भइरहेको बताए ।

‘उद्योगीहरूले हालसम्म सिमेन्ट बिक्री नभएर लागतभन्दा कम मूल्यमा बिक्री गरेको थिएन,’ उनले भने, ‘अहिले उद्योगले उत्पादनमा जोड दिएसँगै सिमेन्ट खपत हुन सकेको छैन । त्यसैले उद्योगीहरूले सस्तो मूल्यमा बिक्री गरिरहेका छन् ।’

अन्य वस्तुको उच्च रूपमा  बढ्दा सिमेन्टको मूल्य इतिहासकै कम भएको छ । बजारमा विभिन्न ब्राण्डका ओपीसी र पीपीसी सिमेन्ट उपलब्ध छन् । उक्त सिमेन्टमा कम्पनीअनुसार बजारमा सिमेन्ट बिक्री भइरहेको छ ।

जसमा ओपीसी र पीपीसीमा १०० देखि ११० रुपैयाँको फरक हुन्छ । अहिले उद्योगीहरूले कम मूल्यमा सिमेन्ट बिक्री गरिरहँदा पनि खपत भने निकै न्यून रहेको उनको भनाइ छ । नेपालमा पेट्रोलको मूल्य इतिहासकै महंगो भएको अवस्थामा इतिहासमै सस्तो सिमेन्ट भएको छ । विगतको दिनमा काठमाडौंमा उद्योगीले पीपीसीको मूल्य ६ सयदेखि ६५० सम्म हुन्थ्यो भने ओपीसी ७५० सम्म हुन्थो ।

उक्त सिमेन्टमा  प्रतिबोरा भाडा १ सय रुपैयाँ लाग्छ । जसमा विगतको दिनमा ५५० पीपीसी सिमेन्टमा प्रतिबोरा १ सय रुपैयाँ भाडा जोड्दा ६५० हुन्थ्यो । त्यसमा नाफा खाएर ७ सयदेखि ७५० रुपैयाँसम्म बिक्री हुन्थ्यो ।

अहिले कतिपय कम्पनीले पीपीसी सिमेन्ट ४३० रुपैयाँसम्म बिक्री गरिरहेका छन् । उक्त रकम भनेको ग्रान्डिङ उद्योगीको  आफ्ना लागतसमेत नउठ्ने झाको भनाइ छ । 

‘उद्योगीले ४३० रुपैयाँ सिमेन्ट बेच्ने हो भने नाफा त धेरै टाढाको कुरा हो । लगानीसमेत उठ्दैन,’ उनले भने । यस्तै, तानसेन सिमेन्टले ४०५ रुपैयाँमा निर्माण व्यवसायीलाई बिक्री गरेको उनको भनाइ छ ।

सिमेन्टमा भाडा जोड्दा काठमाडौंमा ५१० रुपैयाँमा काठमाडौंमा सिमेन्ट झर्ने गरेको उनले बताए । सो मूल्यमा सिमेन्ट पाउनु भनेको इतिहासकै सस्तो रहेको छ । तर, केही उद्योगीले सिमेन्ट र क्लिङ्कर उत्पादन गर्ने भएकाले उक्त उद्योगीले भने केही लागत निकाल्न सक्ने उनको दाबी छ ।  

कोरोना र तरलता अभावले खपत कम

 बजारमा बढी उत्पादन गरिरहेको र खपत कम हुँदा उद्योगीहरूले सस्तो मूल्यमा बिक्री गर्नुपर्ने अवस्था सिर्जना भएको व्यवसायीहरूले बताएका छन् । विगतको दिनमा उत्पादन भएका सम्पूर्ण  सिमेन्ट सहजै बिक्री हुन्थ्यो ।

तर, अहिले उद्योगीले उत्पादन बढाइरहेको अवस्थामा सिमेन्ट खपत हुन नसक्दा सस्तोभन्दा सस्तो मूल्यमा बिक्री गरिरहेको उनीहरूको भनाइ छ । त्यस्तै, सिमेन्ट खपत नहुनुको अर्को मुख्य कारण कोरोना रहेको व्यवसायीको ठम्याइ छ । कोरोनाले गर्दा आर्थिक क्षेत्रमा निकै धक्का पुगेको छ । जसले गर्दा घर निर्माण कार्य सुस्ताएको उनीहरूको बुझाइ छ । कतिपयले कोरानाकै कारण रोजगारी गुमाएका छन् भने कतिपयले व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।

उपभोक्तासँग सिमेन्टको खपत जोडिएकाले पनि यस क्षेत्रमा असर परेको बताउँछन् ।साथै, अर्को मुख्य कारण तरलता अभावले पनि घर बनाउनेतथा विकास निर्माणको कार्यमा बाधा पु¥याएको छ । राष्ट्र बैंकले तरलता अभाव भएकाले कर्जामा कडाइ गरेकाले यस क्षेत्रले गति लिन नसकेको व्यवसायीहरूको बुझाइ छ । 

भारतभन्दा सस्तो मूल्य 

नेपालमै गुणस्तरीय र पर्याप्त मात्रामा सिमेन्ट उत्पादन गर्न थालेपछि सिमेन्ट आयात लगभग ठप्प जस्तै छ ।

कतिपय आयोजनाका लागि नभई नहुने भएकाले भारतबाट सिमेन्ट आयात गरेर अपत गर्नुपर्ने अवस्था छ । तर, आयात गरेर खपत गर्ने भने निकै न्यून छ । नेपालमा उत्पादन बढाएसँगै भारत भन्दा नेपालमा सस्तो मूल्यमा सिमेन्ट पाउन थालेको छ ।  भारतीय सिमावर्ती सहरको तुलनामा नेपाल सिमेन्टको मूल्य सस्तो देखिएको छ ।

भारतमै प्रतिबोरा ५५० भन्दा बढी मूल्यमा बिक्री गरिरहेको अवस्थामा सो भन्दा कम मूल्यमा नेपालमा बिक्री गरिरहेको व्यवसायीहरूले बताएका छन् । त्यसैले, नेपालमा अहिलेको अवस्थामा भारत भन्दा नेपालमा सिमेन्ट  सस्तिएको उनीहरूको दाबी छ ।

 यस्तो छ बजार मूल्य 

नेपालमा धेरै सिमेन्ट उद्योग छन् । उक्त सिमेन्ट उद्योगीहरू आ–आफ्नै मूल्य तोकेको छ ।

अहिले इतिहासकै सस्तो मूल्यमामा सिमेन्ट बिक्री भइरहेका अवस्थामा बजारमा अधिकांश सिमेन्टको मूल्य ६ सय रुपैयाँभन्दा बढी रहेको छ । काठमाडौंमा पाइने सर्वोत्तम सिमेन्ट ओपीसी ५३ ग्रेडको मूल्य अहिले ७०० रहेको छ भने सर्वोत्तम पीपीसी सिमेन्टको मूल्य ५९५ रुपैयाँमा बिक्री भइरहेको छ । सो कम्पनीको मूल्य ठाउँअनुसार फरक रहेको छ ।

 शिवम ओपीसी  सिमेन्ट ४३ ग्रेडको ७७५ र ओपीसीको मूल्य प्रतिबोरा ७६० रुपैयाँमा बिक्री भइरहेको छ । उक्त ओपीसी सिमेन्टको मूल्य ठाउँअनुसार भने ५३५ देखि ८०० रुपैयाँसम्म बिक्री भइरहेको छ । अग्नीको पीपीसीको ६७५ र ओपीसीको ७४० रुपैयाँमा बिक्री भइरहेको छ ।

पीपीसी अर्घाखाँची सिमेन्टको मूल्य ५९५ रुपैयाँ, ओपीसीको ६९४ रुपैयाँमा बिक्री भइरहेको छ । अम्बुजा ओपीसी सिमेन्टको ६२० रुपैयाँ, होङसी ओपीसीको ७८०, होङ्सी पीपीसीको ६९०, जगदम्बा पीपीसीको ६३० रुपैयाँदेखि ६८५ र अल्ट्रा प्रिमियम ओपीसीको ७७० रुपैयाँ रुपैयाँमा बिक्री भइरहेको छ । 

कम्पनीले आफ्नो लागतको आधारमा मूल्य तय हुने भएकाले विभिन्न कम्पनीको आफ्नै मूल्य तोकेको छ । साथै, सिमेन्टको मूल्य ठाउँअनुसार तय हुने भएकाले ठाउँअनुसार फरक–फरक मूल्यमा बिक्री भइरहेको व्यवसायीहरूले बताएका छन् । जसमा उक्त मूल्य ठाउँअनुसार २० रुपैयाँदेखि ५० रुपैयाँसम्म फरक पर्न सकिन्छ । 


अरिष्मा मोक्तान