बलेफी हाइड्रोपावरको आइपीओमा स्थानीयले दिएनन् माग अनुसार आवेदन, फेरी थपियो समय



काठमाडौं । बलेफी हाइड्रोपावर कम्पनीको आइपीओमा माग अुनसार आवेदन नपरेपछि आवेदन दिने थपिएको छ ।
कम्पनीले आयोजना प्रभावित स्थानीयलाई आइपीओ निष्काशन गरेको थियो । जसमा माग अनुसार आवेदन नपरेपछि बलेफी हाइड्रोपावरले आइपीओमा आवेदन दिने समय थपेर फागुन २७ गतेसम्म पुर्याएको छ ।

कम्पनीले माघ २७ गतेदेखि आइपीओ बिक्री खुला गरेको हो । यसअघि फागुन १९ गतेसम्म आवेदन दिन समय थपेको थियो । त्यो अवधिमा पनि माग अनुसार स्थानीयले आवेदन नदिएपछि पुनः समय थपेर २७ गतेसम्म पुर्याइएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयलाई १८ लाख २७ हजार ९७० कित्ता सेयर निष्कासन गरेको छ ।

जसमा सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका–२, ३ र ४ का स्थानीयलाई १० लाख ९६ हजार ७८२ कित्ता, जुगल गाउँपालिका– ५ र ७, बलेफी गाउँपालिका–१, ३, ६ र ७ र सुनकोशी गाउँपालिका– ७ का स्थानीयलाई ७ लाख ३१ हजार १८८ कित्ता सेयर छुट्याएको छ ।
आइपीओमा स्थानीयले प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० देखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन पाउनेछन् । स्थानीयले माग अनुसार आवेदन नदिएको खण्डमा नबिकेको सेयर थपेर सर्वसाधारणलाई कम्पनीले निष्काशन गर्ने छ ।

आइपीओमा सिन्धु विकास बैंकको खाडीचौर, जलबिरे तथा लामोसाँगु शाखा र महालक्ष्मी विकास बैंकको खाडीचौर शाखाबाट आवेदन दिन सकिने छ । कुमारी बैंकको जलबिरे, एनसीसी बैंकको ढाँडे, ग्लोबल आइएमई बैंकको चौतारा शाखा, लक्ष्मी बैंककोे खाडीचौर र चौतारा शाखाबाट पनि आइपीओ दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।


क्लिकमान्डु