किसानलाई ‘वन स्टेप सोलुसन’ ल्याउने योजनामा अविनाश, वेयर हाउसपछि कोल्ड स्टोरेज सञ्चालन गर्ने



बिराटनगर । एक दशकअघि औद्योगिक घराना बोहरा ग्रुपका अविनाश बोहरा भारत भ्रमणमा थिए ।

उनले त्यहाँ आइसीटीले चलाउने चौपाल नेटवर्कका बारेमा जानकारी पाए । अविनाशको परिवारको व्यवसायिक यात्रा कृषि उपजमा आधारित उद्योगबाट भएको थियो ।

अविनाशका हजुरबुवाले धानको कुटानी पिसानी मिल खोलेको थिए । बोहरा परिवारको परिचय नै चामल उद्योगले चिनाएको थियो ।

भारत यात्राका क्रममा आइसीटीको चौपाल नेटवर्कले किसानको क्षमता बढाउन गोदाम वेयर हाउस र कोल्ड स्टोर (शितगृह) देखेपछि बोहरालाई त्यस्तै स्टोर नेपालमा चलाउने योजना बनाए ।

बोहराले चलाउने उद्योग कृषिसँग सम्बन्धित भएको हुँदा कृषि उपजको स्टोरेज गर्नु पहिलो आवश्यकता थियो । किसानले नै उत्पादन गर्ने सुर्ती खेतीमा आधारित देशकै ठूलो बिडी कारखाना बोहरा ग्रुपले चलाएको थियो ।

सुर्तीको पात अभाव हुनुको कारण दैनिक १ लाख खिल्लीसम्म उत्पादन गर्ने बिडी उद्योगलाई बोहरा ग्रुपले बन्द गर्नुपरेको थियो ।

खाद्यान्यमा आधारित उद्योग चलाएको बोहरा ग्रुपको लागि कृषि उपजको स्टोरेज नगर्दा उत्पादन गर्न नसक्ने स्थिती थियो ।

बोहरा ग्रुपका प्रवन्ध निर्देशक अविनाश बोहरा वेयर हाउसकको सफलतापछि किसानलाई सहयोग गर्न कोल्ड स्टोरेज ल्याउने तयारीमा छन् । मोरङ जिल्लाको कटहरिमा बनेको कोल्डस्टोर नेपालमा अहिलेसम्मकै ठूलो भएको दाबी बोहराको छ ।

‘कृषि प्रधान देश भनेपनि किसानको अवस्था कमजोर भएपछि क्षमता बढाउनको लागि वेयर हाउस र कोल्ड स्टोर चाहिने देखेर त्यसमा लगानी गरेका छौं,’ उनले भने, ‘वेयर हाउस एक दशकअघिदेखि सञ्चालनमा थियो भने कोल्ड स्टोर ३ महिनाभित्रमा सञ्चालनमा आउने छ ।’
बोहरा ग्रुपको सिम्रन फर्मले कोल्ड स्टोर र वेयर हाउस सञ्चालन गर्नेछ ।

उनको कोल्ड स्टोरेज डेढ कठ्ठा क्षेत्रफलमा फैलिएको छ । कोल्ड स्टोरमा मात्र जग्गा बाहेक २० करोड लगानी हुने जानकारी बोहराले दिए ।

वेयर हाउस तथा कोल्ड स्टोरमा जग्गासहित ८० करोडको लगानी भएको बोहरा बताउँछन् । वेयर हाउस र कोल्ड स्टोर डेढ बिगाह जग्गामा फैलिएको छ ।

किसानले वेयर हाउसमा राखेको फलफुल कति तापक्रममा रहेको र त्यसको जानकारी मोबाइलबाट पाउने छन् ।

वेयर हाउसमा अहिलेको नयाँ प्रविधि प्रयोग गरिएको र किसानलाई मोबाइलबाट नै कहिले आफ्नो फलफुल निकाल्नुपर्ने हो त्यसको जानकारी दिइने प्रणलीको विकास गरिएको बोहराले जानकारी दिए ।

कृषिमा आधारित उद्योग चलाएको बोहराको अनुभवमा नेपालमा वेयर हाउस र कोल्ड स्टोर नभएको कारण किसानले लाभ पाउन सकेका छैनन् ।

उदाहरणका लागि अहिले बजारमा पाइने भारतीय सुन्तलालाई नै लिन सकिन्छ । भारतमा कोल्ड स्टोरको सुविधा भएको कारण बजारमा अहिले भारतीय सुन्तला पाइन्छ भने नेपालमा कोल्ड स्टोरको संख्या पर्याप्त नभएकाले सिजनमा बाहेक अन्य समयमा बजारमा नेपाली सुन्तला पाइदैन । अन्य फलफूलको हकमा पनि समस्या उस्तै छ ।

किसानले उत्पादन गरेको खाद्यान्य तरकारी फलफूल वेयर हाउस र कोल्ड स्टोर नभएकाले उचित मूल्य पाउन नसकेको अवस्था छ ।

पछिल्लो दशकमा कृषि उपजमा बैंकहरुको लगानी समेत डुबेको छ भने उत्पादन पनि बढेको छ । तर, भण्डारणका लागि चाहिने वेयर हाउस र कोल्ड स्टोर नहुँदा कतिपय ल्याउन नपर्ने कृषि उपजका वस्तुहरु समेत आयात गर्नुपर्ने स्थिती देखिएको विश्लेषण बोहराको छ ।

वेयर हाउस र कोल्ड स्टोर नहुँदा ऋण पाउन मुस्किल

कृषिमा लगानी बढाउने राज्यको नीति भएपनि यसको वास्तविक फाइदा किसानले उठाउन सकेका छैनन् ।

किसानले सहज रुपमा कृषि ऋण नपाउने र बैंकहरुले किसानसँग भएको जग्गाको धितोमा ऋण नदिने हुँदा किसानले ऋण पाउन सकेका छैनन् ।

बोहराले वेयर हाउस र कोल्ड स्टोरमा खाद्यान्य तरकारी राखिसकेपछि पाउने रिसिप्टको आधारमा बैंकबाट किसानले ऋण पाउने व्यवस्था गरिएको जानकारी दिए ।

‘किसानको उत्पादन बढाउनको लागि रिसिप्टको आधारमा बैंकबाट ऋण पाइने व्यवस्था हामीले गरेका छौं, यसका लागि पहिलो चरणमा एसबीआई बैंकसँग सम्झौता भएको छ भने अन्य बैंकसँग हुने क्रममा छ,’ बोहराले भने ।

यसले किसानलाई एउटा बाली उत्पादन गरेपछि अर्को बाली लगाउनका लागि आवश्यक पर्ने नगद व्यवस्थापन गर्न सजिलो हुन्छ ।

उदाहरणका लागि मंसिर महिनामा धानलाई किसानले वेयर हाउसमा लगेर राखेर गहुँ खेतीको ऋण पाउनसक्छ ।

मंसिर महिनामा धान उत्पादन बढी हुने हुँदा यसको मूल्य सस्तो हुन्छ । गहुँ खेती गर्नका लागि किसानले सस्तो मूल्यमा धान बेच्नुपर्ने अवस्था छ ।वेयर हाउस भएपछि किसानले धानलाई २ महिनापछि महंगो मूल्यमा बिक्री गर्न सक्छ ।

बोहराले १ नम्बर प्रदेशका पहाडी र तराईका जिल्ला फलफूल उत्पादन गर्ने किसानलाई लक्षित गरेर कोल्ड स्टोरेज ल्याएको बताउँछन् ।

‘किसानको क्षमता नबढेसम्म कृषिमा आधारित उद्योगहरु चलाउन सकिन्न, यसका लागि वेयर हाउस र कोल्ड स्टोर आवश्यक पर्छ, यही काम हामीहरुले गर्न लागेको हो,’ बोहराले क्लिकमाण्डूसँग भने ।

किसानलाई वन स्टेप सोलुसन दिने योजना
उद्योगी बोहरा कोल्ड स्टोरपछि किसानले भोगेको बिउको समस्या समाधानलाई काम गर्ने योजनामा छन् ।

किसानले उत्पादन शुरु गर्दादेखि उत्पादन भएपछि भण्डारणसम्मका काम एकै ठाउँबाट उपलब्ध गराउने योजना आफूले बनाएको बोहरा सुनाउँछन् ।

‘उत्पादनदेखि भण्डारणसम्मको काम एकै ठाउँमा होस् भन्ने हाम्रो लक्ष्य हो,’ उनले भने, ‘अहिले भण्डारणमा काम गरेका छौं, पछि उत्पादनका लागि सहयोगी हुने काम गर्ने योजना छ,’ उनले सुनाए ।


आशीष ज्ञवाली