यसरी रुपान्तरित हुँदैछ चन्द्रागिरि ‘स्मार्ट सिटीमा’



काठमाडौं । तपाईं चन्द्रागिरि नगरबासी हुनुहुन्छ ? हुनुहुन्छ, भने अब तपाईं स्थानीय सरकारबाट पाउने सेवा सुविधा लिन नजिकको वडा कार्यालय धाइरहनु पर्दैन ।

यतिमात्र होइन, तपाईंले स्थानीय सरकारलाई बुझाउनुपर्ने सेवा शुल्क, कर र राजस्व अनलाइनमार्फत् तिर्न सक्नुहुनेछ । साथै आफूलाई आवश्यक पर्ने विभिन्न सिफारिस लिन घरैबाट आवेदन दिन सक्नुहुनेछ ।

यसका लागि नगरपालिकाले अहिले धमाधम जीपीएस÷जीआइएस प्रणालीमार्फत् ‘नगर प्रोफाइल’ तयार पार्ने काम तीव्र बनाएको छ ।

यो काम सम्पन्न भइसकेपछि नगरबासीले ‘अनलाइन’ सेवा उपयोग गर्न पाउने छन् ।

‘जीपीएस÷जीआइएस प्रणालीमार्फत् नगर प्रोफाइल तयार पार्ने काम अन्तिम चरणमा पुगिसकेको छ । प्रोफाइलले चन्द्रागिरिलाई ‘स्मार्ट सिटी’ बनाउन सहयोग मिल्नेछ । नगरबासीले घरमा बसेर सबै सेवा पाउने छन् । स्थानीय सरकारले पनि कुन स्थानमा कस्तो विकास आवश्यक पर्छ भन्ने जानकारी पाउने छन्,’ नगरप्रमुख घनश्याम गिरीले भने ।

यसरी बन्दैछ नगर ‘प्रोफाइल’

नगरपालिकाले आफ्नो नगर क्षेत्रको भौगोलिक सूचना लिन ड्रोनको सहायता लिएको छ । १८ दिन लगाएर वडा नं १ देखि १५ सम्मका सबै क्षेत्रमा ‘ड्रोनसर्वे’, ‘स्याटेलाइट म्यापिङ’को काम गरी लगभग नगरका ३५ हजार घरको ट्रयाकिङ भइसकेको छ ।

ड्रोनबाट लिइएका तस्बिरलाई ‘डिजिटाइज’ गर्ने काम धमाधम भइरहेको छ । ती डिजिटाइज तस्बिरलाई अस्थायी नम्बर दिने काम लगभग सम्पन्न भइसकेको जनाइएको छ ।

अब हरेक घरमा गणक तथा प्राविधिक टीम परिचालन हुनेछन् । गणकले घरधनी र अन्यसँग व्यक्तिगत विवरण तथा प्राविधिक टोलीले निजी घर, विद्यालय, धार्मिकस्थल, सार्वजनिकस्थल तथा जमिनका प्राविधिक पक्षका सूचना सङ्कलन गर्नेछन् ।

‘नगरका प्रत्येक घरमा गणक तथा प्राविधिक टोली खटिँदै छन् । ट्याबमार्फत् सूचना सङ्कलन हुनेछन् । यस्तो सूचना नगरपालिकाको नेटवर्किङसँग जोडिने छ । गणकका कामका अनुगमन ट्रयाकिङबाटै गर्न सकिनेछ,’ नगरपालिकाका सूचना प्रविधि अधिकृत सञ्जीव ज्ञवालीले भने ।

उनका अनुसार ७५ गणकले नगरपालिकाले तयार पारेका व्यक्तिगत ५३ र संस्थागत २१ प्रश्नावली भर्नेछन् । एक महिनाभित्र गणकले काम सकाइसक्नुपर्नेछ ।

व्यक्तिगत घरधुरी सर्वेक्षणमा पारिवारिक, शैक्षिक, स्वास्थ्य, जनसाङ्ख्यिक, रोजगारीलगायतका प्रश्न नगरवासीलाई सोधिने छन् । यसमा विद्यालय, मठ मन्दिर, सार्वजानिक, निकाय तथा जमिनको समेत विस्तृत विवरण सङ्कलन गरिने छ । घर तथा बाटोघाटाका लोकेसन पनि व्यक्तिगत विवरणमा उल्लेख हुने छन् ।

नगरपालिकाले सबै निजी घर तथा सार्वजनिक भवनलाई ‘अन्तर्राष्ट्रिय मेट्रिक प्रणाली’ को सिद्धान्तअनुसार युनिक नम्बर प्रदान गर्नेछ । सोही घर नम्बरका आधारमा जीपीएस ट्रयाक गरिने योजना नगरपालिकाले बनाएको छ ।

यसका लागि टोल–टोलमा डिजिटल बोर्ड रहने छन् । यही ट्रयाकका आधारमा नगरपालिकाले आफ्नो हरेक सेवाका गतिविधि अगाडि बढाउने नीति लिनेछ ।

अनलाइनमार्फत् सेवा प्रवाह हुनेछ । यसले नगरपालिकाको सेवा प्रवाहमा समेत चुस्त बनाउने अपेक्षा लिइएको छ ।

अनलाइनमार्फत् सेवा कसरी प्रवाह हुन्छ त ?

सूचना प्रविधि अधिकृत ज्ञवाली भन्छन्, ‘नगरबासीका सबै वितरण डिजिटाइज हुनेछन् । हाम्रा सेवा पनि सोहीअनुरुपको बनाइने छ । यसपछि सेवाग्राहीले फाराम भरेर रिक्वोस्ट पठाउँछन् । यसलाई एसेप्ट गरिन्छ । यसैका आधारमा सेवा प्रवाह हुन्छ । कर भुक्तानी तथा सिफारिस अनलाइनमार्फत गर्ने तयारीमा छौँ ।’

नगर प्रमुख गिरीका अनुसार सम्भवतः आगामी स्थानीय तहको निर्वाचन अघि नै जीपीएस÷जीआएस प्रणालीमार्फत् ‘नगर प्रोफाइल’ तयार हुनेछ ।

यसले नगरको नीति निर्माण, योजना तर्जुमा, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, विपद् व्यवस्थपनमा कोसेढुङ्गाको काम गर्ने उनको विश्वास छ ।

साथै, व्यवस्थित सहर बनाउन मद्दत मिल्नुका साथै नगरपालिकाका सबै सेवा अनलाइमार्फत् नै हुनेछ । नगरबासीले बिना झन्झट सेवा सुविधा पाउने छन् ।

उनका अनुसार यो नगरपालिकालाई स्मार्ट सिटी अभियानको शुरुवात हुनेछ ।

नगरलाई स्मार्ट सिटीमा रुपान्तरण गर्ने उनको चुनावी घोषणापत्रमा उल्लेख छ । यसबाट नगरपालिका र नगरबासी दुबैलाई फाइदा पुग्ने जनाइएको छ ।

नगरपालिकालाई आफूलाई आवश्यक पर्ने जनशक्तिको पहिचान भई तुरुन्त उपयोग गर्न मद्दत मिल्ने छ । विपद्का अवस्थामा खोज, उद्धार तथा राहतमा सहयोग पुग्ने जनाइएको छ ।

नगरका भौगोलिक, सामाजिक, आर्थिक, व्यक्तिगत तथा लगायत सबै विवरणका सूचना बैंकका प्रोफाइल हुने हुनाले कुन स्थानमा कस्तो विकास आवश्यक छ भन्ने नीति निर्माण गर्न प्रोफाइलले सहयोग पुग्ने नगरप्रमुख गिरीले जानकारी दिए ।

स्वदेशी सीप र ज्ञान
‘नगर प्रोफाइल’ बनाउन नगरपालिकालाई स्वदेशी सूचनाविज्ञ संलग्न टीमले सहयोग गरिराखेका छ ।

टीममा डा. केशवकुमार आचार्य, भरतप्रसाद वञ्जाडा र सन्तोष कुँवरलगायत ३० प्राविधिक सहभागी छन् ।

‘यसप्रकारको नगर प्रोफाइल नेपालमा पहिलोपटक बन्दैछ । यसमा नगरपालिकाका लागि आवश्यक सबै किसिमका सूचना, जानकारी तथा तथ्याङ्क सङ्कलन हुनेछ । नगरपालिकालाई भावी योजना बनाउन महत्वपूर्ण सहयोग पुर्यााउँछ । नगरपालिकाको सेवा अनलाइनमा रुपान्तरण गर्न सहयोग मिल्नेछ,’ प्राविधिक कुँवरले भने ।

उनका अनुसार ‘नगर प्रोफाइल’ बनाउने काम अन्तिम चरणमा पुगिसकेको छ । गणकले ट्याबमार्फत् भर्ने प्रश्नावलीको काम सकिएसँगै प्रारम्भिक जानकारी आउने छ ।

‘नगरबासीका व्यक्तिगत विवरण र गोपनीयता सुरक्षित कायम राख्ने छौँ । नगरबासीका आफ्ना जानकारी मात्र हेर्न सक्ने प्रणालीको विकास गर्ने तयारीमा छौं,’ सूचना प्रविधि अधिकृउत ज्ञवालीले भने ।

काठमाडौँ जिल्लाका दक्षिण पश्चिम भेगका थानकोट, दहचोक, नैकाप, नयाँ भञ्ज्याङ, वाड भञ्ज्याङ, बलम्बु, महादेवस्थान, तीनथाना, सतुङ्गल, मातातीर्थ, मच्छेगाउँ र नैकाप पुरानो भञ्ज्याङका तत्कालीन गाउँविकास समिति मिलाएर बनाइएको चन्द्रागिरि नगरपालिकाको पछिल्लो जनसङ्ख्या एक लाख ३६ हजार ९२८ छ ।


क्लिकमान्डु