नेमकिपाबाहेक एमसीसी ल्याउन सबै दलको प्रत्यक्ष भूमिका छ, संसदमा उभिएर झुट नबोलौंः गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा एमसीसी ल्याउनका लागि नेमकिपा बाहेक सबै राजनीतिक दलको भूमिका रहेको बताएका छन् ।

आइतबार संसदमा एमसीसीका सैद्दान्तिक छलफलका क्रममा बोल्दै उनले पूर्वप्रधानमन्त्री झलनाथ खनाल र पूर्वमन्त्री गिरिराजमणी पोख्रेलले झुट बोलेको बताए ।

‘यो संसदभित्र भएका नेमकिपाबाहेकका सबै राजनीतिक दलले एमसीसी ल्याउन भूमिका खेलेका छन्, यहाँ बसेर झुट बोल्नु गलत हो ।’

झलनाथ खनालले आफ्नो कार्यकालमा एमसीसीका विषयमा कुनै पनि प्रक्रिया अघि नबढाएको भन्दै झुट बोलेको भन्दै थापाले खनाल प्रधानमन्त्री र उपप्रधानमन्त्री र अर्थमन्त्री भरतमोहन अधिकारीको सरकारले एमसीसी अनुदानका लागि अमेरिकालाई पत्र लेखेको बताए ।

उनले गिरिराजमणि पोख्रेललाई इंकित गर्दै भने, ‘२०७४ साउन १९ गतेको मन्त्रिपरिषद बैठकले पारित गर्दा तपाईं कहाँ हुनुहुन्थ्यो, उपस्थिति र हस्ताक्षर छैन ?’

‘यहाँ आएर संविधानभन्दा माथि हुन्छ एमसीसी भन्दै हावादारी कुरा गर्ने ? यस्ता सन्धी र सम्झौता हामीले संसदबाट कतिवटा पारित गर्यौं ? हेर्नुपर्दैन । अरुण तेस्रो र मेलम्चीको सम्झौता पल्टाएर कहिल्यै हेर्नु भएको छ ?’

उनले पूर्वाधार विकासका लागि राष्ट्रिय लगानीले मात्रै नपुग्ने र यसका लागि वैदेशिक ऋण वा अनुदान आवश्यकता अनुसार नै एमसीसी सम्झौता रहेको बताए ।

‘हामीले भारतसँग बिप्पा, चीनसँग बीआरआई गर्यौ र अमेरिकासँग एमसीसी सम्झौता गरेका थियौं,’ उनले भने, ‘एमसीसी त्यसैको निरन्तरता हो ।’


क्लिकमान्डु