भ्रष्टाचार गरेको आरोपमा पूर्वमन्त्री श्रेष्ठविरुद्ध मुद्दा दर्ता



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसचिव तथा पूर्वमन्त्री रामकुमार श्रेष्ठविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्दा दर्ता गरेको छ ।

श्रेष्ठले पदमा रहँदा स्रोत नखुलेको सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोप लगाइएको छ ।

श्रेष्ठले सार्वजनिक सेवाको शिक्षक पदबाट २०२६ चैत १८ गतेदेखि सेवामा प्रवेश गरी २०३६ कात्तिक २६ गते शाखा अधिकृत पदमा नियुक्त भइ विभिन्न मितिमा पदोन्नती हुँदै सचिव पदमा बढुवा भएका थिए ।

उनी २०६४ माघ ८ गतेदेखि अवकाश पाएको र २०६९ चैत ६ गतेदेखि २०७० माघ २९ सम्म पर्यटनमन्त्री रहेको उल्लेख गर्दै आयोगले श्रेष्ठले ६ करोड ९० लाख १६ हजार ६२७ रुपैयाँमा निजले गरेको कुल खर्च ११ करो.ड ३५ लाख ४४ हजार २९४ रुपैयाँ घटाउँदा हुन आउने ४ करोड ४५ लाख २७ हजार ६६६ रुपैयाँ बराबरको खर्च तथा लगानीको स्रोत खुल्न नआएको बताएको छ ।

उनले गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति तथा सो सम्पत्तिबाट बढे बढाएको चलअचल सम्पत्ति घरतर्फ, जग्गातर्फ तथा बैंक मौज्दात गरी ६८ लाख ५० हजार ९५३ रुपैयाँ रोक्का राख्न समेत माग गरिएको छ ।


क्लिकमान्डु