सहकारीको सन्दर्भ ब्याजदर १६ प्रतिशत तोकियो



काठमाडौं । सहकारी विभागले सहकारी सन्दर्भ ब्याजदर १६ प्रतिशत तोकेको छ ।

आज शुक्रबार बसेको सन्दर्भ ब्याजदर निर्धारण समितिको बैठकले १६ प्रतिशत ब्याजदर तोकेको समितिका सदस्य तथा राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले बताए ।

पटक-पटक सन्दर्भ ब्याजदर निर्धारण समितिको बैठक बसेको भए पनि निष्कर्ष पुग्न सकेको थिएन । सहकारीले अभियानले बैंक तथा वित्तीय संस्थामा देखा परेको तरलता अभाव तथा बढेको ब्याजदर र सहकारीमा क्यापिङका रुपमा रहेको १४.७५ प्रतिशत सन्दर्भ ब्याजदरले गर्दा सम्पत्ति दायित्व व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको भन्दै दबाबमूलक अभियान नै संचालन गरेको थियो ।

सहकारी विभागले गठन गरेको सन्दर्भ ब्याजदर निर्धारण तथा सिफारिस समितिले शुक्रबार आगामी फागुन १५ गतेदेखि लागी हुनेगरी उक्त निर्णय गरेको हो ।

सन्दर्भ ब्याजदर निर्धारण समितिको बैठकमा महासंघका अध्यक्ष मिनराज कडेललाई समेत आमन्त्रण गरिएको थियो । सो बैठकले अब चार/चार महिलना नियमित रुपमा बैठक बसी सन्दर्भ ब्याजदरको विषयमा छलफल गर्ने निर्णय समेत गरेको छ ।

‘बजारमा ब्याजदर बढ्दै गएमा फेरि तत्काल बैठक बसी निर्णय गर्ने समेत सहमति भएको छ,’ मल्लले भने ।

यसअघि गत कात्तिकमा सन्दर्भ ब्याजदर १४.७५ प्रतिशत तोकिएको थियो । यसअघि प्राविधिक उपसमितिको बैठक बसेको थियो ।

सहकारी संस्थाहरुका लागि तोकिने सन्दर्भ ब्याजदर सहकारी संस्थाहरका लागि निर्देशक ब्याजदरका रुपमा रहेन व्यवस्था छ ।

सहकारी ऐन २०७४ को दफा ५१ तथा सहकारी नियमावली २०७५ का परिच्छेद ५(२३) ले सहकारी विभागले सन्दर्भ ब्याजदर तोक्ने व्यवस्था रहेको छ ।

सन्दर्भ ब्याजदर निर्धारण समितिको संयोजकमा रजिष्ट्रार रहने व्यवस्था छ ।

सो समितिका सदस्यहरुमा अर्थ मन्त्रालयका श्याम आचार्य, राष्ट्र बैंकका प्रतिनिधि, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका प्रतिनिधि रघुनाथ महत, सहकारी विकास बोर्डका अनिल पौडेल, राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ल, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवी उप्रेती, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ(नेफ्स्कून)का अध्यक्ष परितोष पौड्याल, नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेम पाठक रहेका छन् ।

सहकारी ऐन २०७४ अनुसार समितिको सिफारिसमा रजिष्ट्रारले सन्दर्भ ब्याजदर तोक्ने व्यवस्था छ ।


क्लिकमान्डु