नेपालबाट थप विद्युत् किन्न भारत तयार, अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि अध्ययन गरिने



काठमाडौं । नेपाल र भारतको पश्चिम बंगाल राज्यबीच अन्तरदेशीय विद्युत् प्रसारण लाइन निर्माणको सम्भावनाबारे संयुक्त प्राविधिक टोलीद्वारा अध्ययन गरिने भएको छ ।

बिहीबार नेपाल र भारतका उर्जा सचिवबीच भएको छलफलमा भारतले थप विद्युत् लैजाने विषयमा पनि महत्वपूर्ण निर्णय भएका छन् ।

उर्जा मन्त्रालयका सचिव देवेन्द्र कार्की र भारत सरकारको विद्युत् मन्त्रालयका सचिव आलोक कुमारलगायतका पदाधिकारी सम्मिलित बैठकले हाल सञ्चालनमा रहेको पहिलो अन्तरदेशीय ढल्केबर–मुजफ्फर ४०० किलो भोल्ट प्रसारण लाइनबाट आयात निर्यात भइरहेको विद्युत् क्षमतालाई ३५० मेगावाटबाट बढाएर ६०० मेगावाट पुर्याउने निर्णय गरेको छ ।

साथै, हेटौँडा–ढल्केबर–इनरुवा ४०० किलो भोल्ट प्रसारण लाइन सन् २०२३ को डिसेम्बरमा सम्पन्न भएपछि उक्त प्रसारण लाइनबाट आयात निर्यात हुने विद्युतको क्षमतालाई थप बढाउने समेत सहमति भएको छ ।

मन्त्रालयका अनुसार दोस्रो अन्तरदेशिय नयाँ बुटवल–गोखरपुर ४०० किलो भोल्ट प्रसारण लाइनको नेपाल खण्डका लागि आवश्यक लगानी सरकार आफैले व्यवस्था गर्ने संरचनाहरुका लागि आवश्यक लगानी तथा कार्यान्वयनको प्रारुपको हकमा विद्युत् प्राधिकरण र भारत सरकारको पावर ग्रीड कर्पोरेशन अफ इन्डिया लिमिटेडको संयुक्त उपक्रमको कम्पनी सन् २०२२ अप्रिलसम्ममा स्थापना गर्ने समेत निर्णय गरेको छ ।

यसका लागि लिनुपर्ने स्वीकृति तथा उक्त कम्पनी र विद्युत् प्राधिकरणबीच सम्पन्न गर्नुपर्ने ‘इम्प्लिमेन्टेसन एण्ड ट्रान्समिसन सर्भिस एग्रिमेन्ट कार्यलाई सँगै अघि बढाउने सहमति भएको छ ।

त्यसैगरी नेपाल र भारतबीच संयुक्त रुपमा ठूला जलविद्युत आयोजना निर्माण गर्ने सम्बन्धमा दुबै देशको २–३ जना सदस्यहरु सम्मिलित संयुक्त प्राविधिक टोली गठन समेत गर्ने बैठकले निर्णय गरेको छ ।


क्लिकमान्डु