नेपालको ऊर्जा भारतमा बेच्ने वातावरण सहज बनाउन मन्त्री भुसालको आग्रह



काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले भारतीय ऊर्जा बजारमा नेपालले उत्पादन गरेको ऊर्जा व्यापारको वातावरण सहज तुल्याइदिन आग्रह गरेकी छिन् ।

भारतका ऊर्जा सचिव आलोक कुमार सहितको प्रतिनिधिमण्डलले भेटमा मन्त्री भुसालले यस्तो आग्रह गरेकी हुन् । मन्त्री भुसालले असल मित्रराष्ट्रले आफ्नो छिमेकी मुलुकको समृद्धिमा सहयोग गर्ने विश्वास व्यक्त गरिन् । भेटमा समग्र ऊर्जाको विकास, व्यापार र आपसी हितका विषयमा छलफल भएको छ ।

छलफलमा मन्त्री भुसालले नेपालसँग भएको जलविद्युत आपसी सहकार्यबाट प्रयोगमा ल्याई दोहोरो आवश्यकता परिपूर्ति गर्नुपर्ने बताइन् । आर्थिक समृद्धिको बाटोमा अगाडि बढ्नुपर्नेमा जोड दिँदै उनले उत्पादन तथा व्यापारमा द्वीपक्षीय सहज सहकार्यको आवश्यकता औंल्याइन् । ‘हामीसँग भएको ऊर्जा स्रोतको प्रयोग आपसी सहकार्यबाट दुवै देशको विकासका लागि प्रयोग गर्नुपर्छ’ उनले भनिन् ‘त्यसका लागि द्विपक्षीय सहकार्य आवश्यक छ ।’

‘हामीबीच ऊर्जाको व्यापार सहज हुनुपर्छ । जहाँबाट दुवै देशको विकासका लागि मद्दत पुग्छ र तेस्रो मुलुकमा ऊर्जा व्यापारका लागि सहज अवस्था सिर्जना गर्नुपर्छ’ ऊर्जा सहकार्यबारे थप प्रष्ट पार्दै मन्त्री भुसालले भनिन्, ‘यस अर्थमा सचीवस्तरीय बैठक फलदायी हुने मैले विश्वास लिएको छु ।’

त्यस अवसरमा भारत सरकारका ऊर्जा सचिव आलोक कुमारले ऊर्जा व्यापारले आपसी सम्बन्धलाई थप बलियो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । ऊर्जा व्यापारका लागि सहज वातावरण बनाउन आफूहरु सकारात्मक रहेको बताउँदै उनले भने, ‘भारत, बङ्गलादेशसँग व्यापार अनुमती दिनका लागि हामी सकारात्मक छौँ ।’

काठमाडौंमा चलिरहेको बैठकले सफल नतिजा दिने आशा व्यक्त गर्दै उनले भने, ‘मलाई आशा छ, यो बैठकमा हामी सफल हुनेछौँ ।’ सचिव आलोकले अरुण तेस्रो तीब्र गतिमा अगाडि बढेको जानकारी गराए । उनले यो आयोजना चाँडो सम्पन्न गर्न आग्रह गरेको र यसले आपसी मित्रता थप प्रगाढ बनाउने विश्वस व्यक्त गरे ।


क्लिकमान्डु