अग्रणी नेपाल लाइफलाई नेशनलको चुनौती, बोनस दर र लाभांशमा उछिन्यो



काठमाडौं । जीवन बीमा व्यवसाय ‘लिड’ गरिरहेको कम्पनी हो, नेपाल लाइफ इन्स्योरन्स कम्पनी । नेपाल लाइफ पछिल्लो एक दशकदेखि जीवन बीमा व्यवसायमा अधिकांश सूचकमा अग्रता कायम राख्न सफल भएको कम्पनी हो ।

जीवन बीमामध्येकै अब्बल मानिएको नेपाल लाइफको पछिल्लो समय भने सबै सूचकांकहरु खुम्चिदै गएका छन् ।

खुद बीमाशुल्क संकलन, नाफा आर्जन, बजार हिस्सालगायतका सूचकांकमा गिरावट देखिएको हो । जसले गर्दा नेपाल लाइफलाई पछिल्लो समय नेशनल लाइफले चुनौती दिँदै आएको छ ।

नेशनलले बीमितलाई दिने बोनस दर, लगानीकर्तालाई दिने प्रतिफल लगाएका सूचकमा नेपाल लाइफलाई चुनौती दिएको हो ।

नयाँ बीमा कम्पनीले आक्रामक रुपमा बजार बिस्तार गर्दा वर्षौ अघिदेखि बजारमा राम्रो उपस्थिती देखाउँदै आएका पूराना बीमा कम्पनीको बजार हिस्सा घट्न थालेको हो । तथ्यांकअनुसार धेरै बजार हिस्सा गुमाउनेमा नेपाल लाइफ छ । नेपाल लाइफसहितका अन्य पूराना बीमा कम्पनीले बजार हिस्सा गुमाइरहँदा नेशनलले भने बढाइरहेको छ ।

बजार हिस्साको हकमा समेत नेपाल लाइफलाई नेशनलले चुनौती दिएको छ । नेपालमा सरकारी स्वामित्वमा राष्ट्रिय बीमा संस्थान मात्रै सञ्चालनमा थियो । देशभित्र बीमाको बढ्दो आवश्यकतालाई परिपूर्ति गर्ने उद्देश्यले २०४४ मा नेशनल लाइफ एण्ड जनरल इन्स्योरेन्स कम्पनी स्थापना गरी जीवन तथा निर्जीवन दुबै प्रकृतिको व्यवसाय थालनी गरेको इतिहास छ ।

बीमा समितिले २०६३ सालदेखि जीवन र निर्जीवन बीमा व्यवसायका लागि छुट्टाछुट्टै बीमा कम्पनी हुनुपर्ने व्यवस्था लागू गरेपछि नेशनल लाइफले पूर्णरुपमा जीवन बीमा व्यवसाय गर्न थालेको थियो ।

नेशनल लाइफ इन्स्योरेन्स स्थापनाकालको ३४ वर्ष पूरा गरी ३५ वर्षमा प्रवेश गरेको छ । बीमितलाई दिने बोनस दर र लगानीकर्तालाई दिने प्रतिफलमा जीवन बीमा कम्पनीमध्ये सक्षम कम्पनीका रुपमा नेशनल लाइफ चिनिएको छ ।

नेशनल लाइफले आर्थिक वर्ष २०७६/७७ मा आफ्ना बीमितलाई सर्वाधिक धेरै बोनसदर दिएको छ । आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीले सेयरधनीहरुलाई सर्वाधिक प्रतिफल दिन सफल भएको छ ।

बीमितलाई दिने बोनस दरमा चुनौती

नेपाल लाइफको बोनस दरलाई नेशनलले चुनौती दिएको छ । आर्थिक वर्ष २०७६/७७ को एक्चुरी भ्यालुएसन स्वीकृत भएपछि कम्पनीहरुले सार्वजनिक गरेको बीमितलाई दिने बोनस दर तालिका अनुसार सर्वाधिक बोनस दर नेशनल लाइफको छ ।

कम्पनीले सो आर्थिक वर्षका लागि बीमितलाई बीमा अवधिअनुसार प्रतिहजार न्यूनतम ६३ रुपैयाँदेखि अधिकतम ८५ रुपैयाँसम्म बोनस दर दिने घोषणा गरेको छ ।

तर, नेपाल लाइफले बीमा अवधिअनुसार प्रतिहजार न्यूनतम ५६ रुपैयाँदेखि अधिकतम ८२ रुपैयाँ बोनस दर कायम गरेको छ ।

आर्थिक वर्ष २०७५/७६ मा कम्पनीले बीमा अवधिअनुसार बीमितिलाई प्रतिहजार न्यूनतम ६२ रुपैयाँदेखि अधिकतम ८२ रुपैयाँ बोनस दर कायम गरेको थियो ।

लाभांशमा पनि चुनौती
नेशनल लाइफले नेपाल लाइफलाई लगानीकर्तालाई दिने प्रतिफलमा समेत चुनौती दिएको छ । नेशनल लाइफले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट लगानीकर्तालाई २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

आर्थिक वर्ष २०७५/७६ को तुलनमा कम्पनीले लगानीकर्तालाई वितरण गर्ने लाभांश दर बढाएको हो । आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट कम्नीले लगानीकर्ताका लागि १०.५३ प्रतिशत लाभांश वितरण गरेको थियो ।

यता, नेपाल लाइफले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट लगानीकर्तालाई हालसम्म कै कम लाभांश दिने घोषणा गरेको छ । नेपाल लाइफले २०७६/७७ को मुनाफाबाट लगानीकर्तालाई १४.७३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । जुन लाभांश हालसम्म कै कम हो ।

आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट कम्पनीले लगानीकर्तालाई ५१ प्रतिशत लाभांश दिएको थियो ।

बजार हिस्सा गुमाउँदै नेपाल लाइफ, बढाउँदै नेशनल
तथ्यांकअनुसार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बजार हिस्सा गुम्दै गर्दा नेशनल लाइफले भने बढाउँदै गएको तथ्यांकले देखाउँछ । नेपाल लाइफले बीमाशुल्क संकलनमा अग्रता कायम गरे पनि बजार हिस्सा भने गुमाउँदै गएको छ ।

तर, नेशनल लाइफले भने बजार हिस्सा बढाउँदै गएको छ ।

चालु आवको पहिलो महिनामा नेपाल लाइफले बीमाशुल्क संकलन रकम १९.९० प्रतिशतले वृद्धि गरेको छ । तर, १०.४९ प्रतिशत विन्दुले बजार हिस्सा गुमाएको छ । साउन महिनामा कम्पनीको बजार हिस्सा ३९.१५ प्रतिशतबाट २८.६६ मा खुम्चिएको थियो ।

भदौं महिनामा आइपुग्दा कम्पनीले गत आवको सोही अवधिको तुलनामा बजार हिस्सा ३.१५ प्रतिशत विन्दुले गुमाएको थियो ।

भदौं महिनामा कुल जीवन बीमा व्यवसायमा कम्पनीको हिस्सा २७.०७ प्रतिशत थियो । गत आवको भदौं महिनामा कम्पनीको बजार हिस्सा ३०.२२ प्रतिशत थियो ।

बीमा समितिको तथ्यांकअनुसार चालु आवको साउन र भदौं महिनामा नेशनल लाइफको पनि बजार हिस्सा घटेको छ ।

साउन महिनामा कम्पनीले कुल जीवन बीमा व्यवसायमा ६.३८ प्रतिशत हिस्सा ओगटेको थियो । गत आवको सोही अवधिमा कम्पनीले कुल जीवन बीमा बजारको १०.४५ प्रतिशत हिस्सा ओगटेको थियो । सो अवधिमा कम्पनीले ४.०७ प्रतिशत विन्दुले बजार हिस्सा गुमाएको थियो ।

भदौं महिनामा कम्पीको बजार हिस्सा २.१८ प्रतिशत विन्दुले घटेर ६.१५ प्रतिशतमा सीमित भएको थियो । गत आवको भदौं महिनामा कम्पनीले ८.३३ प्रतिशत हिस्सा ओगटेको थियो । असोज महिनामा आइपुग्दा कम्पनीको बजार हिस्सा २७.८८ प्रतिशतबाट घटेर २५.९८ प्रतिशतमा झरेको थियो ।

कात्तिक महिनामा कम्पनीले कुल जीवन बीमा व्यवसायमा २५.९८ प्रतिशत हिस्सा ओगटेको थियो । जुन गत आवको कात्तिक महिनाको तुलनामा २.५३ प्रतिशत विन्दुले घटेको हो । गत आवको सोही अवधिमा कम्पनीको बजार हिस्सा २८.५१ प्रतिशत थियो ।

यस्तै, मंसिर महिनामा कम्पनीले २६.७३ प्रतिशत हिस्सा ओगटेको थियो । जुन गत आवको सोही अवधिको तुलनामा १.९३ प्रतिशत विन्दुले कम हो । गत आवको मंसिर महिनामा कम्पनीले कुल जीवन बीमा व्यवसायमा २८.६६ प्रतिशत हिस्सा ओगटेको थियो ।

चालु आवको साउन र भदौं महिनामा बजार हिस्सा गुमाएको नेशनलले त्यस पछिका महिनामा क्रमशः बजार हिस्सा बढाउँदै गएको छ । कम्पनीले असोज महिनामा ०.३२ प्रतिशत विन्दु, कात्तिक महिनामा ०.१९ प्रतिशत विन्दु र मंसिर महिनामा ०.७३ प्रतिशत विन्दुले बजार हिस्सा बढाएको होे ।

चालु आवको मंसिर महिनासम्मको तथ्यांकअनुसार नेशनलले कुल जीवन बीमा व्यवसायमा ९.७७ प्रतिशत हिस्सा ओगटेको छ । यस्तै, पुस महिनासम्मको अवधिमा पूराना जीवन बीमा कम्पनीतर्फ तीन वटा बाहेक अरु कम्पनीको बजार हिस्सा खुम्चिएको छ ।

यता तीन कम्पनीको बजार हिस्सा बढेको छ । नेशनल लाइफले ०.७८ प्रतिशत विन्दुले, मेट लाइफले ०.५० प्रतिशत विन्दुले र प्राइम लाइफ इन्स्योरेन्सले ०.२८ प्रतिशत विन्दुले बजार हिस्सा बढाएका छन् ।

नेशनल लाइफले कुल जीवन बीमा व्यवसायको ९.५९ प्रतिशत बजार हिस्सा ओगटेको छ । नेपाल लाइफको बजार हिस्सा २.१० प्रतिशत विन्दुले गुमाएको छ ।

खुद नाफामा समेत नेशनलको चुनौती
चालु आवको दोस्रो त्रैमासको अवधिमा सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरुमध्ये पूराना जीवन बीमा कम्पनीको खुद नाफा घटेको छ । जसमध्ये सबैभन्दा धेरै नाफा नेपाल लाइफको घटेको छ ।

नेपाल लाइफको नाफामा ६९.६४ प्रतिशतको गिरावट आएर १३ करोड ४ लाखमा सीमित भएको छ । तथ्यांकअनुसार नेशनलले खुद नाफा आर्जनमा पनि नेपाल लाइफलाई उछिनेको हो ।

यस अवधिमा नेशनल लाइफको नाफामा ३९.०३ प्रतिशतको गिरावट आएको छ । नेशनलले चौथो त्रैमासको अवधिमा १४ करोड ४१ लाख ८६ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।


बिजया बास्कोटा