बन्दीपुर केबलकारका लागि टावर जडान शुरु



काठमाडौं । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन अवस्थामा रहेको बन्दीपुर केबलकारको टावर जडानको काम शुरु भएको छ ।

पूर्वाधार निर्माणलाई तीव्रता दिइरहेको बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले टावर जडानको काम शुरु गरेको हो ।

बन्दीपुर गाउँपालिका–४ ठुल्ढुङ्गाबाट शरु हुने केबलकार सोही वडाको बरालथोकसम्म पुग्छ । लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माका अनुसार तीनवटा टावर जडान सम्पन्न भएको छ । केबलकारका लागि कूल ११ वटा टावर जडान गरिनेछ ।

‘तीन महिनाभित्र टावर जडान सम्पन्न गर्ने लक्ष्य लिएका छौं, अहिले धमाधम काम भइरहेको छ,’ उनले भने ।

केबलकार परियोजनाअन्तर्गत माथिल्लो स्टेशनमा पाँचतारे होटल पनि निर्माण भइरहेको छ । बीचमा कोभिडका कारण केही काम सुस्ताए पनि अहिले कामले तीव्रता पाएको शर्माले बताए ।

उनका अनुसार तल्लो स्टेशनमा पनि पूर्वाधार निर्माणको काम भइरहेको छ ।

‘कोभिडको प्रभावका कारण परियोजनाको काममा ढिलासुस्ती भयो, कोभिडको जोखिम कम हुँदै गएकाले समग्र कामलाई पनि तीव्रता दिएका छौं,’ उनले भने ।

लिमिटेडले होटल र केबलकारको स्तरोन्नति गरेको छ । केबलकार र होटलको क्षमता बढेकाले लगानी पनि वृद्धि भएर २ अर्ब ६० करोड पुगेको छ ।

यसअघि केबलकारको क्षमता प्रतिघण्टा तीन सय रहेकामा त्यसलाई बढाएर पाँच सय पुर्याइएको छ । होटलको कोठा सङ्ख्या ६६ रहेकामा त्यसलाई बढाएर ८७ पुर्याइएको छ ।

शर्माका अनुसार केबलकारको संरचनाको काम ९५ प्रतिशत सकिएको छ । विसं २०७५ साउन पहिलो साता शिलान्यास भई विसं २०७७ फागुन १ गते केबलकार सञ्चालन गर्ने लक्ष्य लिइएको र कोभिड–१९ को प्रभावका कारण उक्त लक्ष्य प्रभावित भएको थियो ।

अब विसं २०७९ फागुन १ गते बटम स्टेशनको सम्पूर्ण काम र केबलकारको सम्पूर्ण काम सकेर व्यावसायिक सञ्चालन गरिने शर्माले जानकारी दिए ।

कम्पनीले विसं २०७९ वैशाख १ गतेदेखि होटललगायत सम्पूर्ण पूर्वाधार प्याकेजसहित फुलफेजमा पर्यटन पूर्वाधारयुक्त केबलकार परियोजना सञ्चालनमा ल्याउने रणनीति बनाएको थियो ।

माथिल्लो स्टेशनको बहुआयामिक चारतारे होटलसहितको निर्माण सम्पन्न गरी विसं २०८० असोज १ गते परियोजना मूल योजना सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

कम्पनीले त्यसभन्दा अगावै विसं २०७८ फागुन १ गते रेष्ट्रोजोन सञ्चालनमा ल्याउने भएको छ ।

‘केबलकारभित्र रेष्ट्रोको सुविधा प्रत्येक आकर्षण र हट प्रडक्ट बन्छ, प्रत्येक दिनको अफ आवर साँझ ५ बजेदेखि ९ बजेसम्म यो सेवा दिने तयारीमा छौं,’ शर्माले भने । उनका अनुसार तल्लो र माथिल्लो स्टेशनमा रेष्टुराँ हुने भएकाले रेष्ट्रो प्याकेजमा सेवा दिन सक्नेछ ।

यहाँ ल्याण्डस्क्यापिङ र कृत्रिम झरना पनि बनाइनेछ । बन्दीपुरको ऐतिहासिकता झल्कने गरी बन्दीपुर घडीः बन्दीपुर गार्डेन बनाउने लक्ष्य लिइएको छ ।

यस गार्डेनभित्र बटम स्टेशनको पाँच तला माथिबाट पानीको आकर्षक झरना बनाइनेछ । यसले पर्यटकलाई लोभाउने विश्वास गरिएको शर्माले बताए । यसैगरी वाटरपार्क, म्युजिकल वाटर शो बनाउने लक्ष्य छ ।

बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गास्वाँराबाट बरालथोकसम्म जोडिने केवलकारबाट एसियाकै ठूलो दाबी गरिएको विमलनगरस्थित सिद्धगुफा पनि अवलोकन गर्न सकिनेछ ।

ठूल्ढुङ्गास्वाँराबाट सुरू हुने केबलकार सिद्धगुफाको छेउ हुँदै बन्दीपुरको उचाइसम्म पुग्नेछ । केवलकारले एक किलोमिटर ६०० मिटर यात्रा गर्नेछ ।

आरकेडी रियल स्टेट एण्ड कन्स्ट्रक्शन प्रालि, पन्चासे केबलकार एण्ड टुर्स प्रालि, टुरिजम इन्भेष्टमेन्ट फण्ड लिमिटेड, बन्दीपुर गाउँपालिका र स्थानीयवासीको लगानीमा केवलकार परियोजना निर्माणको कामलाई अगाडि बढाइएको हो ।

लगानीदाता कम्पनी नेपाल र विदेशमा बस्ने नेपालीहरूको कम्पनी हो, जहाँ एक हजार १०० भन्दा बढी लगानीकर्ता रहेका छन् ।


क्लिकमान्डु