वाणिज्य बैंकहरुको साढे १६% सेयर १७ कम्पनी र ३ व्यक्तिसँग, को हुन् ती ?



काठमाडौं । सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरुको चुक्ता पुँजी अहिले ३ खर्ब ६० अर्ब ७८ करोड रुपैयाँ छ । बैंकको सेयरको स्वामित्व प्रवर्द्धक र सर्वसाधारण गरी २०औं लाख लगानीकर्तासँग छ ।

तर, आज हामी बैंकिङ प्रणालीकै ठूला २० मालिक को हुन् ? भनेर जानकारी दिन गइरहेका छौं ।

वाणिज्य बैंकहरुको कूल चुक्ता पुँजीमध्ये साढे १६ प्रतिशत स्वामित्व १७ वटा कम्पनी र ३ जना व्यक्तिसँग छ । यो भनेको रकममा ५९ अर्ब ८७ करोड रुपैयाँ हुन आउँछ । औसतमा हेर्दा २० ठूला मालिकसँग प्रतिव्यक्ति÷प्रतिकम्पनी ३ अर्ब रुपैयाँ रहेको देखिन्छ ।

हामीले यो आलेख तयार पार्दा बैंकमा १० प्रतिशतभन्दा बढी सेयर स्वामित्व भएका लगानीकर्तालाई ठूला लगानीकर्ताका रुपमा लिएका हौं ।

यसरी हेर्दा २७ बैंकमध्ये १२ बैंकमा मात्रै १० प्रतिशतभन्दा बढी स्वामित्व भएका लगानीकर्ता रहेको देखिन्छ । त्यस्ता लगानीकर्ताको संख्या गरी कूल २० वटा छ । बैंकहरुले प्रकाशित गरेको वार्षिक प्रतिवेदनमा उल्लेख भएको तथ्यांका आधारमा यो आलेख तयार पारिएको हो ।

एनबी बैंक, एसबीआई बैंक, माछापुच्छ्रे बैंक, लक्ष्मी बैंक, एनएमबि बैंक, नेपाल बैंक, एभरेष्ट बैंक, हिमालयन बैंक, स्टयान्डर्ड चार्टर्ड बैंक, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र कृषि विकास बैंकमा मात्रै १० प्रतिशतभन्दा बढी लगानी गर्ने लगानीकर्ता छन् ।

यी हुन् व्यक्तिगततर्फका ठूला लगानीकर्ता
जसमध्ये एभरेष्ट, माछापुच्छ्रे र लक्ष्मी बैंकमा मात्रै १० प्रतिशतभन्दा बढी होल्डिङ भएका व्यक्ति छन् । एभरेष्टमा बिके श्रेष्ठकी छोरी प्रतिमा श्रेष्ठका १४.८४ प्रतिशत अर्थात् १ अर्ब ४० करोड ४९ लाख ५३ हजार २५६ रुपैयाँको सेयर स्वामित्व छ ।

त्यस्तै, लक्ष्मी बैंकमा राजेन्द्र खेतानकी छोरी स्नेहा खेतानको ११.३० प्रतिशत अर्थात् १ अर्ब ३० करोड ५३ लाख १ हजार ९८५ रुपैयाँको हिस्सा रहेको छ ।

त्यसैगरी, माछापुच्छ्रे बैंकमा सुरेन्द्र महतोको ११.११ प्रतिशत अर्थात् १ अर्ब ५ लाख ९० हजार ३०० रुपैयाँ बराबरको स्वामित्व छ ।

यी हुन् ठूला संस्थागत लगानीकर्ता
संस्थागततर्फ सबैभन्दा ठूलो लगानीकर्ता नेपाल सरकार हो । राष्ट्रिय वाणिज्य बैंकमा सरकारको ९९ प्रतिशतभन्दा बढी स्वामित्व छ ।

त्यस्तै, दोस्रो ठूलो संस्थागत लगानीकर्ता पनि सरकार नै हो । नेपाल बैंकमा सरकारको ५१ प्रतिशत अर्थात् ७ अर्ब ३४ करोड १० लाख ११ हजार ४० रुपैयाँ रहेको छ । त्यस्तै, कृषि विकास बैंकमा पनि सरकारको ५१ प्रतिशत अर्थात् ५ अर्ब ६० करोड ४८ लाख ६४ हजार १९९ रुपैयाँ लगानी छ ।

यस्तै नेपाल बंगलादेश बैंकमा आइएफआईसी बैंक, ढाका बंगलादेशको ४१ प्रतिशत अर्थात ३ अर्ब ६८ करोड २७ लाख ४२ हजार ६०० रुपैयाँ सेयर स्वामित्व रहेको छ ।

यस्तो छ, निजी क्षेत्रका बैंकको अवस्था
स्टयान्डर्ड चार्टर्ड बैंकमा स्टयान्डर्ड चार्टर्ड गिनलेजको ४६.८१ प्रतिशत र स्टयान्डर्ड चार्टर्ड बैंक यूकेको २३.४ प्रतिशत हिस्सा छ । बैंकमा गिनलेजको ४ अर्ब ४१ करोड ३९ लाख २७ हजार ४१७ रुपैयाँ र यूके बैंकको २ अर्ब २० करोड ६४ लाख ९२ हजार २३६ रुपैयाँको सेयर स्वामित्व छ ।

त्यसैगरी, नबिल बैंकमा एनबी इन्टरनेशनलको ४८.६८ प्रतिशत अर्थात् ९ अर्ब ३९ लाख ४३ हजार ८३१ रुपैयाँ बराबरको सेयर स्वामित्व छ ।

लक्ष्मी बैंकमा लक्ष्मी कर्प नेपालको १४.६० अर्थात् लक्ष्मी कर्पको १ अर्ब ६८ करोड ६४ लाख ९६ हजार ३७० रुपैयाँ बराबरको स्वामित्व छ ।

यस्तै एनएमबि बैंकमा एफएमओ नेदरल्याण्डको १३.६९ प्रतिशत अर्थात् २ अर्ब ५१ करोड ४४ लाख २ हजार ५१ रुपैयाँको सेयर स्वामित्व छ ।
एभरेष्ट बैंकमा पञ्जाब नेशनल बैंकको २०.०३ प्रतिशत अर्थात् १ अर्ब ८९ करोड ६३ लाख ८ हजार २०५ रुपैयाँको सेयर स्वामित्व छ ।

त्यसैगरी, ठूला संस्थागत लगानीकर्ता धेरै हुने बैंकमा हिमालयन पर्छ । हिमालयन बैंकमा हबिब बैंकको २० प्रतिशत अर्थात् २ अर्ब ५९ करोड ३७ लाख ४५ हजार रुपैयाँ, कर्मचारी सञ्चय कोषको १४.८७ प्रतिशत अर्थात् १ अर्ब ९२ करोड ८४ लाख ४९ हजार ४०७ रुपैयाँ बराबरको लगानी छ ।

साथै, एन टे«डिङ कम्पनीको १२.७७ प्रतिशत अर्थात् १ अर्ब ६५ करोड ६१ लाख ६ हजार १८२ रुपैयाँ, म्युचुअल टे«डिङ कम्पनीको ११.८५ प्रतिशत अर्थात् १ अर्ब ५३ करोड ६७ लाख ९३ हजार ९१२ रुपैयाँ र आभा इन्टरनेशनल प्रालिको ११.३४ प्रतिशत अर्थात् १ अर्ब ४७ करोड ५८ लाख ४० हजार ९०५ रुपैयाँको सेयर स्वामित्व छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकमा राष्ट्रिय बीमा कम्पनीमा १२.०६ प्रतिशत अर्थात् १ अर्ब ९६ करोड ११ लाख २४ हजार ६०० रुपैयाँको सेयर स्वामित्व छ ।

नेपाल एसबीआई बैंकमा स्टेट बैंक अफ इन्डिया र कर्मचारी सञ्चय कोषको सेयर स्वामित्व छ । बैंकमा स्टेट बैंक अफ इन्डियाको ५५ प्रतिशत अर्थात् ५ अर्ब २२ करोड १४ लाख ६७ हजार ३५० रुपैयाँ र सञ्चय कोषको १५ प्रतिशत अर्थात् १ अर्ब ४२ करोड ४० लाख ३६ हजार ५५० रुपैयाँको सेयर स्वामित्व छ ।

बाँकी रहेका १५ वटा बैैंकमा १० प्रतिशतभन्दा बढी कुनै व्यक्ति वा कम्पनीको सेयर स्वामित्व छैन । यद्यपि तीमध्ये आधा दर्जन बढी बैंकमा भने घुमाउरो तरिकाले एउटै परिवारको भने १० प्रतिशतभन्दा बढी सेयर छ ।

उदाहारणका लागि प्रभु बैंकमा प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचन, उनका कम्पनी र परिवारको ३० प्रतिशतभन्दा बढी स्वामित्व छ भने ग्लोबल आइएमई बैंकमा पनि चन्द्र ढकाल, उनका कम्पनी र परिवारको ३० प्रतिशतभन्दा बढी छ । त्यसैगरी, नेपाल इन्भेष्टमेन्ट बैंकमा पनि पृथ्वीबहादुर पाँडे, उनका कम्पनी र परिवारको नाममा ३० प्रतिशतभन्दा बढी स्वामित्व छ ।

त्यसैगरी, एनआइसी एशिया बैंकमा विशाल ग्रुपका अग्रवाल परिवार र उनीहरुका निजी कम्पनीको र लक्ष्मी बैंकमा खेतान परिवार र उनका निजी कम्पनीको ३० प्रतिशतभन्दा बढी स्वामित्व छ ।

यसरी हेर्दा सबैन्दा ठूलो सेयरधनी नेपाल सरकार र सरकारी स्वामित्वकै संस्थाहरु रहेको देखिन्छ भने निजी क्षेत्रतर्फ पनि सीमित घरानाको स्वामित्व बढी देखिन्छ ।


सोभित थपलिया