सहकारी विभागको एकीकृत निर्देशन: निजी कम्पनीको सेयर किन्नदेखि घरजग्गा किन्न रोक



काठमाडौं । सहकारी विभागले पहिलो पटक ८८ बुँदे एकिकृत निर्देशन जारी गरेको छ । विभागले जारी गरेको निर्देशनले सहकारी संस्थाहरुले गर्ने मानोमानीलाई रोकेको छ ।

निर्देशनले सहकारी संस्थाहरुले जलविद्युत् आयोजना, अस्पताल, विद्यालय क्याम्पस, होटल, पेट्रोल पम्पलगायतका परियोजनामा लगानी गर्न नपाउने व्यवस्था छ । लगानी गर्नका लागि विनियममा स्वीकृत गर्नुपर्ने र विनियम स्वीकृत गरेर लगानी गर्दा समेत संस्थाको पूर्णस्वामित्व हुने गरी लगानी गर्नुपर्ने र बचत रकम लगानी गर्न नपाइने व्यवस्था गरिएको छ । यस्ता परियोजनामा प्रवाह हुने बाह्य ऋण कुल सम्पत्तिको ५ प्रतिशतमा नबढ्ने गरी गरेको हुनुपर्ने छ ।

निर्देशनले संस्था, सञ्चालक समिति, लेखा सुपरीवेक्षण समितिका पदाधिकारीमध्ये एकैपटक ४९ प्रतिशतभन्दा बढीले संस्थाबाट ऋण लिन नपाइने व्यवस्था छ ।

सहकारीहरूले १० देखि १५ प्रतिशत रकम तरलता कायम गर्नुपर्ने, तरलता १० प्रतिशतभन्दा न्यून भए व्यवस्थापकले तत्काल सञ्चालक समितिलाई जानकारी गराई आवश्यक उपाय अवलम्बन गर्नुपर्ने निर्देशनमा उल्लेख छ ।

सहकारी संस्थाले टिकटक, भाइबर, फेसबुक जस्ता सामाजिक सञ्जाल, विद्युतीय वा छापा माध्यम प्रयोग गरी चिठ्ठा, उपहारलगायतका प्रलोभनजन्य विज्ञापन वा प्रचारप्रसार गरी सदस्य बनाउने, बचत संकलन गर्ने तथा ऋण उपलब्ध गराउन नपाउने व्यवस्था गरेको छ ।

प्राइभेट कम्पनीको सेयर, डिबेन्चर बोण्ड खरिदबिक्रीका साथै घरजग्गामा लगानी गर्न नपाउने, सामाजिक सञ्जालबाट समेत बचत संकलनका लागि उपहार प्रलोभनसहितको प्रचार गर्न नपाउने, विशिष्टकृत संघमा लगानी गर्दा साधारणसभाबाट स्वीकृत गरेर मात्र लगानी गर्नुपर्ने उल्लेख छ ।

एटीएम, क्युआरकोड, मोबाइल बैंकिङ चलाउन विनियममा उल्लेख गर्नुपर्ने प्राइभेट कम्पनीको सेयर, डिबेन्चर बण्ड खरिद बिक्रीका साथै घरजग्गामा लगानी गर्न नपाउने लगायतका व्यवस्था निर्देशनमा छ ।


क्लिकमान्डु