प्रविधिमैत्री बन्दै बीमा सेवा: डिजिटल बीमालेखको तयारी, अनलाइनबाटै प्रिमियम



काठमाडौं । सर्वसाधारण जनतामाझ सूचना र प्रविधिको पहुँच पुगेसँगै सरकारी कार्यालय, निजी कार्यालय, बैंक तथा वित्तीय संस्था प्रविधिमैत्री बन्दै गएका छन् ।सूचना प्रविधिमा आएको तीव्र विकासले मानव जीवनमा आमूल परिवर्तन ल्याएको छ । 

भान्छा घरमा प्रयोग गरिने सामान खरिद गर्नेदेखि लिएर रेस्टुरेन्टमा खाना, खाजा खाएको बिल तिर्ने, इन्धनको मूल्य तिर्ने, तरकारीको बिल तिर्ने लगायतका अन्य काम प्रविधिको माध्यमबाटै गर्ने अभ्यासको विकास हुँदै गएको छ ।अन्य क्षेत्र जस्तै बीमा क्षेत्र पनि प्रविधिमैत्री बन्दै गएको छ । 

बीमा कम्पनीहरूले पनि प्रविधिको प्रयोग गर्दै आएका छन् ।तर पनि अन्य क्षेत्रमा जस्तो बीमा सेवामा भने पूर्ण रूपमा प्रविधिको प्रयोग हुन सकेको छैन । यद्यपि बीमा कम्पनीहरूले प्रविधिको आवश्यकता बोध गर्दै अनलाइन सेवा दिँदै आएका छन् । सेवाग्राहीलाई सहज र सरल प्रक्रियाबाट बीमा सेवा उपलब्ध गराउन बीमा कम्पनीहरूले पनि प्रविधिको प्रयोग गर्न थालेका छन् ।

कागजी रूपमा बीमा सुविधा दिँदै आएका बीमा कम्पनीहरु पछिल्लो समय प्रविधिको प्रयोगतर्फ मोडिएका हुन् ।कम्पनीहरूले अनलाइनबाटै बीमालेख खरिद गर्न सक्ने, दाबी गर्न सक्ने, बीमाको प्रिमियम तिर्न सक्ने लगायतका सुविधाको विकास गरेका हुन् । बिस्तारै मान्छेहरू सूचना, प्रविधिसँग अभ्यस्त भइरहँदा बीमा क्षेत्रमा पनि यसको आवश्यकता अझै बढ्दै गइरहेको बीमकहरु बताउँछन् । बीमाको पहुँच बढाउन र लागत घटाउन बीमामा प्रविधिको आवश्यक रहेको उनीहरुको तर्क छ । अन्य क्षेत्रमा जस्तै बीमा क्षेत्रमा पनि प्रविधिको प्रयोग बढाउँदै जानु पर्ने आवश्यकता बढ्दै बीमक संघका अध्यक्ष चंकी क्षेत्री बताउँछन् ।

प्रविधिलाई आत्मसाथ गर्दै अघिबढ्दा राज्यले लिएको लक्ष्य भेट्नलाई समेत सहयोग गर्ने उनको भनाइ छ । हुन त अहिले पनि कम्पनीहरूले धेरथोर मात्रामा भए पनि प्रविधिको प्रयोग गर्दै आएका छन् । तर, यसलाई अझै विस्तार गर्ने हो भने बीमा क्षेत्रले ठुलो फड्को मार्न सक्ने उनको अनुमान छ । बीमा क्षेत्रमा प्रविधिको प्रयोग गर्दै जाने हो भने गाउँका दुर दराजमा रहेका बस्तीमा बीमाको दायरा पुग्ने क्षेत्रीको तर्क छ ।

‘बीमामा प्रविधिको प्रयोग बढाउँने हो भने बीमाको दायरा विस्तार गर्ने सरकारको लक्ष्य पुरा हुन्छ,’ सगरमाथा इन्स्योरेन्सका सीइओ समेत रहेका क्षेत्रीले क्लिकमाण्डूसँग भने, ‘प्रविधिको प्रयोगले बीमाको पहुँच गाउँ गाउँमा पुग्छ,।’

बीमा क्षेत्रमा प्रविधिको आवश्यकता बढ्दै गएको उनले बताए ।

‘छिटो, छरितो हुने हुनाले सहज हुन्छ । आफ्नो समायानुकुल बीमा गर्न सकियो । जसले गर्दा समय बच्यो,’ क्षेत्रीले थपे ‘प्रविधिसँग अभ्यस्त नहुँदा भने गाह्रो हुन्छ । अभ्यस्त नहुँदा पछि पनि परिन्छ,।’

बीमा वर्षमा एकपटक किनिन्छ । जसले गर्दा मान्छेहरू बीमामा प्रविधिसँग अभ्यस्त हुँदैनन् । तर, पछिल्लो समय भने आकर्षण बढेको उनी बताउँछन् । यदि बीमा क्षेत्रमा पूर्णरूपमा प्रविधिको प्रयोग गर्न सक्ने हो भने लागत पनि कम पर्न जाने उनको बुझाइ छ । साना खाले बीमामा अझै प्रविधिले सघाउ पुग्ने उनी बताउँछन् । माइक्रो इन्स्योरेन्स, कृषि बीमा जस्ता साना खाले बीमाको दायरा बढाउन प्रविधिले मद्दत गर्ने उनको बुझाइ छ ।गाउँ गाउँमा कृषकरु पनि मोबाइल फोनको दायरामा आएका छन् ।

सामाजिक सञ्जालमा समेत सामेल भएका छन् । डिजिटल माध्यमलाई अझै विस्तार गर्ने हो भने व्यवसायको आकार पनि बढ्न सक्ने उनको अनुमान छ । डिजिटल बीमालेख जारी गर्न सकिनेसमितिले बीमा कम्पनीहरूलाई डिजिटल (अभौतिक) बीमालेख जारी गर्न बाटो खुलेको छ । अनिवार्यरूपमा भौतिक हुलाक टिकट टाँस्नुपर्ने प्रावधानलाई सहज गर्दै बीमा समितिले बीमा कम्पनीलाई डिजिटल बीमालेख जारी गर्ने बाटो खुला गरिदिएको हो ।

बीमा कम्पनीहरूले जारी गर्ने बीमालेखमा टाँस गरिने हुलाक टिकट वापतको रकममा प्रति बीमालेख २० रुपैयाँ र बीमाशुल्क रसिदमा टाँस गरिने हुलाक टिकट वापतको रकममा प्रति बीमाशुल्क रसिद ५ रुपैयाँ बराबरको रकम नेपाल राष्ट्र बैंक, नेपाल सरकार वा नेपाल राष्ट्र बैंकले राजश्व संकलनको लागि तोकेको बैंकमा राजश्व दाखिला गरी डिजिटल बीमालेख जारी गर्न सक्नेछन् । तर, डिजिटल माध्यमबाट जारी गरिएको बीमालेखको गोपनीयता र सुरक्षाको प्रत्याभूति बीमा कम्पनीहरूले नै गर्नुपर्नेछ ।

जीवन बीमा कम्पनीको हकमा प्रथम बीमाशुल्क, एकल बीमाशुल्क् वा नवीकरण बीमाशुल्क लिँदा एक लाख रुपैयाँ भन्दा बढी रकमको बीमाशुल्क बीमित, बीमा प्रस्तावक, बीमालेख धारक वा बीमितको बीमायोग्य हित भएको व्यक्ति वा संस्थाको बैंक खाताबाट कम्पनीको बैंक खातामा एकाउन्ट पेयी चेक वा डिजिटल माध्यमबाट भुक्तानीमात्रै लिनुपर्ने व्यवस्था समितिले गरिदिएको छ । भौतिकरूपमा (कागजी स्वरूपमा) जारी गरिने बीमालेखको लागि भने हालकै व्यवस्था लागू हुने समितिको भनाइ छ ।

एकाउन्ट पेयी चेक वा डिजिटल माध्यमबाट मात्रै बीमाशुल्क भुक्तानी लिन निर्देशन दिएको छ । समितिका अनुसार जीवन बीमा कम्पनीहरूले प्रथम बीमाशुल्क वा नवीकरण बीमाशुल्क लिँदा एकलाख रुपैयाँभन्दा बढी रकमको बीमाशुल्क, बीमित, बीमा प्रस्तावक, बीमालेख धारक वा बीमितको बीमायोग्य हित भएको व्यक्ति वा संस्थाको बैंक खाताबाट बीमा कम्पनीको बैंक खातामा एकाउन्ट पेयी चेक वा डिजिटल माध्यमबाट मात्रै भुक्तानी लिन सकिने छ ।

समितिका अनुसार निर्जीवन बीमा कम्पनीको हकमा कुनै पनि प्रकारको बीमाशुल्क एक लाख रुपैयाँ भन्दा बढी रकम बीमित, बीमा प्रस्तावक, बीमालेख धारक वा बीमितको बीमा योग्य हित भएको व्यक्ति वा संस्थाको बैंक खाताबाट बीमा कम्पनीको बैंक खातामा एकाउन्ट पेयी चेक वा डिजिटल माध्यमबाट मात्रै भुक्तानी लिन सकिने छ । जीवन बीमा कम्पनीहरूले डिजिटल बीमालेख जारी गर्न थालेका छन् । अभौतिक बीमालेख जारी गर्ने सिटिजन लाइफ इन्स्योरेन्स पहिलो कम्पनी बनेको छ ।

बीमाको प्रिमियम अनलाइनबाटै तिर्न सकिनेबीमा कम्पनीहरूले बीमाको प्रिमियम अनलाइनबाटै तिर्न सकिने व्यवस्था मिलाएका छन् ।

कम्पनीहरूले राष्ट्र बैंकबाट इजाजतपत्र पाएका भुक्तानी सेवा प्रदायक संस्थाहरुसँग सहकार्य गर्दै बीमाशुल्क तिर्न सकिने व्यवस्था मिलाएका हुन् । बीमालेख खरिद गर्न चाहाने बीमितले इसेवा, कनेक्ट आइपीएस, एनसीएचएल, खल्ती, सेलकम, फोन पे, खल्ती लगायतका भुक्तानी सेवा प्रदायक संस्थाबाट बीमाको प्रिमियम तिर्न सक्ने छन् ।

वैदेशिक रोजगार ऐनअनुसार वैदेशिक रोजगारीमा जाने सबै नेपालीहरुले अनिवार्यरुपमा वैदेशिक रोजगार (म्यादी) जीवन बीमा गर्नुपर्ने व्यवस्था छ । यस्तो बीमा गर्दा लाग्ने प्रिमियम पनि अनलाइनबाटै तिर्न सक्ने व्यवस्था कम्पनीहरूले मिलाएका छन् । वैदेशिक रोजगारमा जानेहरुले बीमालेख खरिद गर्न तथा बीमाशुल्क समेत भुक्तानी अनलाइनबाट नै गर्न सक्नेछन् ।

बीमा कम्पनीको मोबाइल एपबाट बीमाबीमा कम्पनीहरूले आफ्नो एपमार्फत नै बीमालेख खरिद गर्न सक्ने व्यवस्था मिलाएका छन् ।कम्पनीहरूले प्रविधिको प्रयोगलाई बढाएर ग्राहकलाई सुलभ सेवा दिने लक्ष्यका साथ कम्पनीहरूले मोबाइल एप संचालनमा ल्याएका हुन्  । हाल सगरमाथा इन्स्योरेन्स, सूर्या लाइफ, एनएलजी इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, सिटिजन लाइफ, सानिमा लाइफ लगायतका कम्पनीहरूले मोलाइल एप संचालनमा ल्याएका छन् ।

कम्पनीहरूले संचालनमा ल्याएको मोबाइल एपबाट बीमितहरुले आफ्नो बीमाको बारेमा जानकार पाउनुका साथै सोही एपमार्फत बीमालेख समेत खरिद गर्न सक्ने व्यवस्था छ । एपमार्फत कम्पनी तथा कम्पनीका बीमा योजनाहरु तथा बीमाशुल्कको सम्बन्धमा जानकारी प्राप्त गर्न सकिने, बीमा योजना र बीमाशुल्क गणना सम्बन्धी लगायतका अन्य सूविधा समेत पाइने छ ।

बीमा समितिले पनि आफ्नो काम कारबाहीलाई छिटो, छरितो बनाउनका लागि एकीकृत सफ्टवेयरको निमार्ण गरेको छ । सफ्टवेयरले बीमा कम्पनीहरूलाई प्रभावकारी ढङ्गले नियमन गर्न सघाउ पुर्याउने समितिको विश्वास छ ।

बीमा कम्पनीहरूबाट कानूनी, उजुरी, नियमन, नीति विश्लेषण र परिपालन सम्बन्धी विषयका साथै दाबी तथा सम्पत्ति शुद्धीकरण सम्बन्धी विवरणहरू, बीमालेख तथा बीमाङ्की, अण्डरराइटिङ्, वित्तीय एवं लेखा परीक्षण र सूचना प्रविधि सम्बन्धी विवरणहरू सफ्टवेयरमार्फत समितिलाई प्राप्त हुन्छन् ।


बिजया बास्कोटा