गठबन्धनलाई मनाएरै भए पनि एमसीसी संसदमा पेश गर्न कांग्रेस नेताहरुको सुझाव



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिका सदस्यहरुले गठबन्धनलाई मनाएरै भए पनि एमसीसी संसदमा पेश गर्न कांग्रेस नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएका छन् ।

बिहीबार केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा धारणा राख्ने केही सदस्यले सत्ता गठबन्धन टुटे पनि एमसीसीको प्रक्रिया अघि बढाउन सुझाव दिएका थिए ।

नेपाली कांग्रेसका प्रवक्ता प्रकासशरण महतले एमसीसी र सरकारी विधेयकहरु सभामुखले रोक्न नमिल्ने बताएका छन् ।

‘एमसीसीबारेमा अन्योल समाप्ती गर्दै संसदीय प्रक्रियामा लैजानुपर्छ भन्ने कांग्रेसको निर्णय हो,’ प्रवक्ता महतले भने, ‘सत्ता गठबन्धनमा सहमति जुट्छ भन्नेमा हाम्रो सहमति छ ।’

एमसीसीका विषयमा सत्ता गठबन्धनका दुई घटक माओवादी केन्द्र र नेकपा समाजबादी एकीकृतले एमसीसीको विरोध गर्दै आएका छन् ।

पछिल्लो समय प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संयुक्तरुपमा एमसीसीको हेडक्वार्टरलाई पत्र लेख्दै एमसीसी पास गर्ने प्रतिबद्धता जनाएका थिए ।

उक्त प्रतिबद्धतापत्र केही दिनअघि सार्वजनिक भएपछि प्रचण्डको चौतर्फी आलोचना भएको छ ।


क्लिकमान्डु