नेटफ्लिक्समा टिन्डर स्वीन्डलर: फेक अर्बपति सिमोनले महिलासँग यसरी लुटे १ अर्ब



गत फेब्रअरी २ तारिख नेटफ्लिक्समा एउटा क्राइम डकुमेन्टी रिलिज भयो ‘टिन्डर स्वीन्डलर’ ।

‘टिन्डर’ एउटा डेटिङ एप हो । र, ‘स्वीन्डलर’को अर्थ हो, ठग ।

डकुमेन्ट्रीको मुख्य पात्र एक महा ठग हो । जसको नाम हो सिमोन लिभाएभ । वास्तविक नाम सिमोन हयात । यो इजयारली नागरिक हयातमाथि इजरायलमै छँदा फर्जीको मुद्दामा फसिकेको हुन्छ । तर पक्राउ पर्नुअघि नै इजरालयबाट भाग्न सफल हुन्छ ।

इजरालयबाट भागेपछि पनि ठग्ने काम गर्न भने उसले छाडेन । उसले डेटिङ एप टिन्डरका माध्यमबाट कैयन युवतीहरुसँग सम्पर्क स्थापित गर्यो । उनीहरुलाई आफ्नो मायामा फसायो र कैयन मनगढन्ते कथा सुनाउँदै अर्बौ रुपैयाँ बराबरको रकम ठगी गर्न सफल भयो ।

नेटफ्लिक्समा डकेमेन्ट्री रिलिज भएपछि टिन्डरले सिमोन लिभाएभलाई बन्देज गरेको जानकारी दिएकाे छ । नेटफ्लिक्समा १ घण्टा ५४ मिनेट ८ सेकेण्डको उक्त डकुमेन्ट्रीमा सिमोनका कुख्यात कामहरुलाई सरल र सहज ढंगले प्रस्तुत गर्न खोजिएको छ ।

सिमोन हयातबाट ठगिएका तीन महिला इलिन, प्रनिला र सिस्ली

यो वास्तविक घटना हो । र, घटनाक्रम यसरी शुरु हुन्छ ।

लामो समयदेखि सक्रियरुपमा ‘एलएलडी डाइमण्ड’ नामक कम्पनीले हिराको कारोबार गरिरहेको छ । यसका मालिक हुन् लेभ लिभाएभ ।

सोभियत संघमा जन्मिएका लेभ लिभाएभ पछि इजरालय पुगे । पछि उनले इजरालयको नागरिकता लिए । हाल उनी रुसमा बस्छन् । भलादमिर पुटिन र अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पसँग पनि उनको राम्रो सम्बन्ध छ ।

लिभाएभले सञ्चालन गर्ने हिराको कारोबारको सञ्जाल ठूलो छ । सन् २०१८ मा प्रकाशित फोर्ब्सको रिपोर्ट अनुसार उनको सम्पत्ति १ बिलियन डलर अर्थात् १ खर्ब रुपैयाँभन्दा बढी छ । उनलाई किङ अफ डाइमण्डका नामबाट पनि चिनिन्छ । लिभाएभका ९ जना सन्तान छन् ।

तर सन् २०१७ मा उनको दशौं सन्तानका रुपमा एक व्यक्ति सामाजिक सञ्जालमा चम्कियो । उसको इष्टाग्राममा विलासी जीवनको तस्बिरहरु जस्तै ब्राण्डेड कपडा लगाएका तस्बिर, लग्जरी पानी जहाज, प्राइभेट जेट र महंगा भनिने कारमा घुमेका र सँगै खिचाएका तस्बिरहरु थिए ।

यी व्यक्तिकाे दाबी थियो कि ‘म लेभ लिभाएभको सन्तान हुँ । नाम हाे सिमाेन लिभाएभ ।’

तर यो कुरा स्वयम् लेभ लिभाएभलाई भने कुनै पनि जानकारी वा सूचना थिएन । यो व्यक्तिको वास्तविक नाम थियो, सिमोन हयात । जसले आफूलाई सिमोन लिभाएभ भनेर चिनाएको थियो ।

सिमोनको जन्म पनि इजरालयको तेल अभिव सहर नजिकैको ब्राक नामक स्थानमै भएको थियो । उनका पिता यहुदी पुजारी थिए ।

शुरुवाती दिनदेखि नै सिमोन विलासी जीवनका सौखिन थिए । र, यसका लागि उनी कुनै पनि काम गर्दथे ।

यतिसम्म कि सन् २०११ मा आफ्नै साथीको चेक चोरी गरेका थिए । उनी बैंकमा चेक साट्न गएकै समयमा पक्राउ परेका थिए । तर सजाय सुनाउनु अघि नै उनी इजरालयबाट भाग्न सफल भए । यो घटना सानो रकमको भएकाले जाँच एजेन्सीहरुले पनि विशेष ध्यान दिएनन् ।

सिमोन इजरालयबाट भागेर फिनल्याण्ड पुगे । त्यहाँ पनि उनले ठगी धन्दा कायमै राखे । तर उ पक्राउ पर्यो । तीन जना महिलासँग धोखाधडी गरेको आरोपमा उसलाई सजाय सुनाइयो । सिमोनले २ वर्षसम्म फिनल्याण्डको जेलमा जीवन बिताए ।

जेलबाटै उनलाई इजरालयलाई सुपुदर्गी गरियो । तर इजरालयमा सजाय सुनाउनु अघि नै ऊ त्यहाँबाट फेरि भाग्न सफल भए ।

यतिञ्जेलसम्म आफ्नो वास्तविक नामबाट गरिरहेको उसले अब भने आफ्नो सम्बन्ध अर्बपति व्यवसायी लेभ लिभाएभसँग भएको दाबी गर्दै नाम राख्यो, सिमोन लिभाएभ ।

र, ठगीका लागि नयाँ मञ्च खोजी गर्दै टिन्डरमा प्रवेश गर्यो ।

टिन्डर एउटा डेटिङ एप हो । जहाँ तस्बिरहरु लेफ्ट स्वाइप गरे अस्वीकार गरेको र राइट स्वाइप गरे फ्रेन्ड रिक्वेस्ट पठाएको अर्थ लाग्छ । यदि आफूले राइट स्वाइप गरेको व्यक्तिले पनि आफ्नो तस्बिरलाई राइट स्वाइप गरेपछि ‘म्याचिङ’ हुन्छ । अर्थात्, अब एकले अर्कासँग च्याट गर्न सकिन्छ, सम्बन्ध स्थापना गर्न सकिन्छ ।

यही मञ्चमा आफ्नो विलासी जीवन झल्कने तस्बिर पोस्ट गर्दै सिमोनले नयाँ ‘मुर्गा’ खोज्न थाल्यो । जसबाट सिमोनले विभिन्न महिलाहरुलाई आफ्नो प्रेममा पार्दै १ अर्ब रुपैयाँभन्दा बढी ठगी गर्न सफल भयो ।

यसैमध्ये एक हुन् सिस्ली ।

सिस्ली नर्वेकी नागरिक हुन् । उनी लण्डनमा रहँदा उनकाे भेट टिन्डरबाट सिमोनसँग हुन्छ । अर्थात् टिन्डरमा म्याचिङ हुन्छ ।

म्याचिङपछि उनीहरुबीच कुराकानी हुन्छ । र, केही समयपछि सिमोनले उनलाई भेट्न लण्डनको भव्य होटलमा निमन्त्रण गर्छन् । दुबै जनाको होटलमा भेट हुन्छ ।

कुराकानीका समयमा सिमोनले लेभ लिभाएभ आफ्नो पिता भएको र उनको कम्पनी एलएलडी डाइमण्ड आफ्नो भएको दाबी गर्छन् । साथै, आफू डिबोर्सी भएको र पहिलो पत्नीबाट एउटा छोरी समेत भएको बताउँछन् । भव्य होटलमा मिष्ठान्न भोजन र रमाइला वार्तालापपछि छुट्टिने समय आउँछ ।

छुट्टिने समय आएपछि सिमोनले सिस्लीलाई आफ्नो प्राइभेट जेटमा बिजनेश ट्रिपका लागि बुल्गेरिया जान लागेको भन्दै उनलाई पनि सँगै यात्राका लागि प्रस्ताव गर्छन् । सिस्लीले अकस्मात आएको निकै अनौठो र रोमाञ्चक प्रस्ताव स्वीकार गर्दै ब्याग प्याकका लागि घरसम्म पुगेर फर्कने योजना बनाउँछिन् ।

सिमोनले रोल्स रोयस गाडीमा सिल्सीलाई घरसम्म पठाएर ब्यागप्याक गर्न लगाउँछन् । उनीहरु प्राइभेट जेटमा यात्रा गर्छन् । त्यसपछि उनीहरुको प्रेम दिनप्रतिदिन बढ्दै जान्छ । उनीहरु तीन महिनासम्म हरेक दिन माया र प्रेमले भरिएका कुराकानी गर्छन् । लण्डनमा सँगै बस्नका लागि अपार्टमेन्ट पनि हेर्छन् ।

समय बित्दै जाँदा उनीहरुबीचको प्रेम सम्बन्ध झांगिँदै जान्छ । यसैबीच एकदिन सिस्लीलाई मोबाइलमा म्यासेज आउँछ । म्यासेजमा केही तस्बिर हुन्छन् । जसमा सिमोनको बडीगार्ड पिटरको टाउकोमा रगत लागेको देखिन्छ ।

तस्बिरसँगै सिमोनले आफूलाई आफ्ना सत्रुहरुले आक्रमण गरेको भन्दै तत्कालका लागि सत्रुसँग बच्नका लागि आफूले क्रेटिड कार्ड चलाउन नमिल्ने दाबी गर्दै आफूलाई केही समयका लागि रकम माग गर्छन् र सिस्लीलाई उनकै नाममा अमेरिकन एक्सप्रेस क्रेडिट कार्ड बनाएर पठाइदिन मनाउँछन् ।

सिस्लीले सिमोनले भनेअनुसार नै गरिन । सिमोनले सिल्सीका नामबाट पैसा खर्च गर्दै । तर बिल भने सिल्सीमाथि थपिँदै गयो । तर सिमोनले थोरै पैसाले पुगेन । सिमोनको अनुरोधमा सिस्लीले लोन लिइन । लोनका लिनका लागि सिमोनले आफ्नो भनी दाबी गरेको कम्पनीमा सिस्लीलाई जागिर दिएको र मासिक ९४ हजार डलर तलब हुने भन्दै फेक लेटर बनाएर पठायो ।

त्यही लेटरका आधारमा सिस्लीले विभिन्न ९ वटा बैंकबाट कर्जा लिँदै सिमोनलाई दिन थालिन् । यसबीच सिमोनले एक पटक क्रेडिट कार्डको बिल तिरेको जानकारी दिँदै भौचर पठायो । तर पैसा भने कहिल्यै बैंकमा आएन । २ लाख ५० हजार डलर खर्च गरिसकेपछि सिस्लीलाई सिमोनले एक दिन ५ लाख डलरको चेक दिन्छन् ।

सिमोनले सिस्लीलाई भन्छ, ‘तिमीले मेरा लागि निकै ठूलो गुन लगायौ, म यसबाट तिमीप्रति मनैदेखि कृतज्ञ हुन्छ, त्यसैले कर्जाभन्दा दोब्बर रकम अर्थात् ५ लाख डलरको चेक दिँदैछु ।’

चेक लिएर सिस्ली फर्किइन । तर हप्ता दिन पर्खँदा पनि चेक साटिएन् । हरेक दिन बैंक खाता चेक गर्दा पनि एक डलर पनि पैसा ट्रान्सफर भएन । तबसम्म बैंकहरुले उनलाई कर्जा भुक्तानीका लागि फोन र इमेलमार्फत् दबाब दिन थाले ।

केही समयपछि सिमोनले सिस्लीसँग कुराकानी गर्न बन्द गर्यो । तब सिस्लीले नर्वे र लण्डनको प्रहरीमा उजुरी गरिन् र नर्वेको एक अखबारले ६ महिनासम्म अध्ययन अनुसन्धान गरेपछि समाचार प्रकाशित भयो ।

प्रहरीको अनुसन्धानमा सिमोनले सिस्लीको पैसाबाट स्वीडेनकी एक महिलाका लागि टिकट खरिद गरेको भेटियो । अर्थात् एउटा महिलासँग पैसा लिएर अर्की महिलामाथि लगानी सिमोनले गरिरहेको थियो । उनको नाम थियो, ‘प्रनिला’ । प्रनिला पनि सिमोनसँग टिन्डरमा भेट भएपछि ठगिएकी महिला हुन् ।

अखबारमा समाचार प्रकाशित भएपछि अर्की महिला एलिन सार्लेटलाई झट्का लाग्यो । कारण, उनी पनि सिमोनसँग लामोसमयदेखि प्रेम सम्बन्धमा थिइन । उनीसँग पनि एउटै तरिका, एउटै तस्बिर प्रयोग भइ करोडौं रुपैयाँ ठगी भइसकेको थियो ।

यतिसम्म आइपुग्दा एलिनले सिमोनलाई पक्राउ गरेरै छाड्ने दृढ संकल्प गरिन् । उनले सिमोनलाई सामान्य कुराकानीमा अल्झाइराखिन् । र, सन् २०१९ मा सिमोनलाई ग्रीसको एथेन्समा गिरफ्तार गरियो र इजरालयमै पठाइयो ।

इजरालयमा उनलाई सन् २०११ मा भएको घटनाको आरोपमा जेल चलान गरियो । तर ५ महिनामै छुट्न सफल भयो । हाल सिमोन इजरालयमा खुला घुमिरहेका छन् ।

नेटफ्ल्क्सिमा उनीहरुको कथाले भरिएको टिन्डर स्वीन्डलर रिलिज भएपछि सिमोनबाट पीडितमध्येका तीन महिलाहरु इलिन, प्रनिला र सिस्लीहरु चर्चामा छन् । विश्वभर उनीहरुका विषयमा समाचार प्रकाशित भइरहेका छन् । समाचार पढ्नेहरुले उनीहरुलाई ‘गोल्ड डिगर’लगायतका आरोपहरु लगाइरहेका छन् ।

यद्यपि हाल उनीहरु तीनै जना मिलेर कर्जा तिर्नका लागि ६ लाख डलर बराबरको चन्दा संकलन गरिरहेका छन् । जसमध्ये हालसम्म ‘गो फन्ड मि डट कम’मा २ हजार ३ सयभन्दा बढीबाट करिब ५० हजार डलर अर्थात् ६० लाख रुपैयाँ चन्दा संकलन भइसकेको छ ।


क्लिकमान्डु