लोकप्रिय बन्दै मिदासको मेरो डाक्टर एप, ८ महिनामा ३५ हजारभन्दा बढी बिरामीले लिए सेवा



काठमाडौं । मिदास टेक्नोलोजीको हेल्थकेयर एपबाट ८ महिनाको अवधिमै ३५ हजारभन्दा बढी बिरामीले सेवा लिइसकेका छन् ।

साथै हालसम्म ‘मेरो डाक्टर’ मोबाइल एप १ लाखभन्दा बढी पटक डाउनलोड समेत भइसकेको कम्पनीको भनाइ छ ।

साथै, मेरो डाक्टरमा सूचीबद्ध अस्पतालहरुबाट ३ महिनाको अन्तरालमा १० हजारभन्दा बढी अस्पतालको ओपीडी टिकट बिरामीहरूले आफैं अस्पतालमा नगई घरबाटै भुक्तानी गरी आस्पतालका सेवा लिन सफल भएका छन् ।

यसरी घरबाटै अस्पतालको ओपीडी टिकट लिँदा लाइन लाग्ने झन्झटबाट मुक्ति मिल्नुका साथै समयको पनि बचत भएको अनुभव सेवाग्राहीहरूले गरेको कम्पनीको भनाइ छ ।

मिदास टेक्नोलोजी, स्वास्थ्य सूचना प्रविधिको क्षेत्रमा एक विश्वसनीय कम्पनी हो । विगत दुई दशकदेखि अस्पतालका सेवालाई डिजिटलाइज्ड गर्ने कार्यमा मिदासले अग्रणी भूमिका खेल्दै आएको छ ।

कम्पनीले इलेक्ट्रोनिक मेडिकल रेकर्ड (ईएमआर) को आधारमा अस्पताल र स्वास्थ्य संस्थाहरूको व्यवस्थापन पूर्णरूपमा डिजिटलाइज गर्न प्रविधिको विकास गरेको छ । मिदासले देशभरका १ सय ५० भन्दाबढी अस्पतालहरूलाई व्यवस्थापन पद्वतिमा सहयोग गर्दै आइरहेको छ ।

मेरो डाक्टर मोबाइल एप तथा वेभमार्फत् अनलाइन टेलिमेडिसनका सेवाको साथै विभिन्न स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ ।

मेरो डाक्टरमार्फत् स्वास्थ्य सेवाहरू प्रयोग गरेर, कुनै पनि व्यक्तिले भिडियो परामर्श लिन, विशेषज्ञ तथा सामान्य चिकित्सकहरुसँग कुराकानी गर्न, निर्धारित औषधिहरू प्राप्त गर्न, अस्पतालको ओपीडी टिकट भुक्तानी गर्न, स्वास्थ्य प्रोफाइलहरू अद्यावधिक गर्न, वा आफनो मेडिकल रेकर्डहरू, कहीं र कुनै पनि समयमा हेर्न सकिन्छ ।

मेरो डाक्टरमार्फत् उपलब्ध केही पूर्णकालीन चिकित्सकहरुसँग बिरामीले दैनिक रुपमा बिहान ७ बजेदेखि राति ९ बजेसम्म निः शुल्क परामर्श लिन सक्नेछन् ।

साथै, इच्छुक बिरामीहरुका लागि २ सय ५० भन्दा बढी विशेषज्ञ डाक्टरमार्फत् अनलाइन टेलिकन्सल्टेन्सी सेवा पनि उपलब्ध गराउँदै आएको छ ।


क्लिकमान्डु