सेयर बजारमा दोहोरो अंकको गिरावट, देखिएन स्थानीय तह निर्वाचनको प्रभाव



काठमाडौं । सरकारले स्थानीय तह निर्वाचनको समय घोषणा गरेसँगै सेयर बजारमा बढोत्तरी आउने भन्ने चर्चा भएपनि मंगलबार भने बजारमा दोहोरो अंकको गिरावट देखिएको छ ।

कारोबारको सुरुमा केही बढेत्तरी भएर २९२१.१८ बिन्दुमा पुगेको बजार त्यसपछि निरन्तर ओरालो लागेको थियो । जुन अन्तिम समयसम्म पनि कायमै रह्यो । जसले गर्दा बजार १६.३० अंकले घटेको छ ।

सेयर बजारलाई निर्वाचन फाप्छ, निर्वाचनको समयमा बजारमा विभिन्न तरिकाले पैसा आउने र त्यसले गर्दा बजारमा उत्साह ल्याउने विश्वास लगानीकर्ताहरुको रहेको छ । तर मंगलबारको कारोबारले त्यस्तो देखाउन सकेन । जसले गर्दा दोहोरो अंकको गिरावट आयो । मंगलबारको कारोबारले लगानीकर्ता अझै पर्ख र हेरको अवस्थामा रहेको देखाएको छ ।

बजार मापन गर्ने सूचक १६.३० अंकले घटेर परिसूचक २८३५.५८ बिन्दुमा रोकिएको छ । २३० कम्पनीको १ करोड २० लाख ५३ हजार ७५१ कित्ता सेयर ६ अर्ब २८ करोड ७२ लाख १७ हजार ९८५ रुपैयाँको सेयर किनबेच भएको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.८२ अंकले घटेको छ । कारोबारमा अधिकांश समूहको उपसूचकमा गिरावट आएको छ । तर केही समूहमा भने सुधार देखिएको छ ।

जसमा निर्जीबन बीमा ५६.२२, उत्पादन तथा प्रशोधन २७.५४, होटल तथा पर्यटन समूहको उपसूचक ३.७४ अंकले बढेको छ भने बैंकिङ ६.४७, विकास बैंक ५१.२१, जलविद्युत ५३.६५, वित्त समूहको ९.२, जीवन बीमा समूहको उपसूचक १६८.५४ अंकले घटेको छ ।


क्लिकमान्डु