अनुजमणि र मनिष कुमारीबाट बाहिरिए, कामू सीइओको जिम्मा खनाललाई



काठमाडौं । कुमारी बैंकमा कामू प्रमुख कार्यकारी अधिकृतको जिम्मा रामचन्द्र खनालले पाएका छन् । कुमारी बैंकमा प्रमुख सञ्चालन अधिकृतको भूमिकामा रहेका खनाललाई कामू सीइओको जिम्मेवारी दिएको हो ।

सोमबार बसेको सञ्चालक समितिले अनुजमणि तिमिल्सिना र मनिष तिमिल्सिनाले दिएको राजीनामा स्वीकृत गर्दै खनाललाई कामू सीइओको जिम्मेवारी दिने निर्णय गरेको हो ।

बैंकमा कामू प्रमुख कार्यकारी अधिकृत रहेका अनुजमणि तिमिल्सिना र डेपुटी सीइओ मनिष तिमिल्सिना स्वेच्छिक अवकास लिएर बाहिरिएका हुन् ।

गायक योगेश्वर अमात्यको जग्गा नक्कली धितो राखेर कुमारी बैंकले ऋण दिएपछि कामू सीइओ तिमिल्सना र डेपुटी सीइओ मनिषको भूमिकामा प्रश्न उठेको थियो । बैंकले धितो नक्कली भएको थाह पाएपनि प्रहरीलाई खबर गरेको थिएन । पछि अमात्यको उजुरीको आधारमा मात्र कुमारी बैंकले गायक अमात्यको नक्क्ली धितो राखेर ऋण दिएको खुलेको थियो ।

कुमारी बैंकको सञ्चालक समितिले अर्को व्यवस्था नहुँदासम्म खनाललाई कामू सीइओको जिम्मेवारी दिएको हो । सुरेन्द्र भण्डारीको कार्यकाल असार मसान्तमा सकिएपछि अनुजमणिलाई कामू सीइओको जिम्मेवारी दिएको थियो ।

कुमारी बैंक स्रोतका अनुसार अनुज र मनिष १२ महिनाको तलब लिएर बाहिरिएका हुन् । यसबाहेक उनीहरुले सुविधामा पाएको गाडी समेत बैंकले जागिर छाड्दा दिएको कुमारी बैंक स्रोतले जानकारी दियो ।


क्लिकमान्डु