हिमालयन बैंकले इन्भेष्टमेन्टसँग मर्जर फेल भएको साधारणसभाको माइन्यूट राष्ट्र बैंकमा पठायो



काठमाडौं । हिमालयन बैैंकले इन्भेष्टमेन्ट बैंकसँग मर्जर हुन नसकेको माइन्यूट नियामक निकाय नेपाल राष्ट्र बैंक र धितोपत्र बोर्डमा पठाएको छ ।

हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंकको मर्जर फेल भएको छ । हिमालयन बैंकको गत पुस ३० गते सम्पन्न बार्षिक साधारणसभामा इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जाने प्रस्ताव अस्विकृत गरेको थियो ।

बैंकले साधारणसभाको उक्त माइन्यूट केन्द्रीय बैंक र धितोपत्र बोर्डमा पठाइसकेको हिमालयन बैंकका सीइओ अशोक राणाले जानकारी दिए । राणाका अनुसार गत साता बैंकले साधारणसभाको माइन्यूट दुबै निकायमा पठाएको छ ।

बहुमत सेयरधनी मर्जरको पक्षमा भएपनि मर्जरको लागि चाहिने दुईतिहाई मत नपुगेपछि नेपाल इन्भेष्टमेन्टसँग मर्जरको विषय अन्त्य भएको छ।यो सँगै दुबै बैंकले राष्ट्र बैंकमा डीमर्ज (मर्जरसम्बन्धी यसअघि भएको समझदारी खारेज गरी पाउँ) भन्ने प्रस्ताव पठाउनु पर्छ । त्यो प्रस्ताव भने राष्ट्र बैंकमा पठाइएको छैन ।

यो साता हिमालयन बैंकको सञ्चालक समितिको बैठक बसेर डिमर्जको प्रक्रिया अघि बढाउने राणाले जानकारी दिए । हिमालयन बैंकको सञ्चालक समितिले आवश्यक निर्णय गरेपछि दुबै बैंकको मर्जर कमिटिको संयुक्त बैठक बसेर संयुक्तरुपमै राष्ट्र बैंकमा डिमर्जका लागि आवेदन दिनुपर्छ ।

‘यो साता हाम्रो सञ्चालक समितिले निर्णय गर्छ, त्यसपछि दुबै बैंकको मर्जर कमिटि बसेर संयुक्तरुपमा डिमर्जको निर्णय गरी राष्ट्र बैंक पठाउने छौं,’ राणाले भने ।

हिमालयन बैंकका सञ्चालक समितिका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ मर्जरको पक्षमा थिएनन् । कर्मचारी सञ्चय कोष पनि मर्जरमा जान मानेको थिएन । दुबै बैंकले गत बैशाखमा मर्जरमा जाने सहमति गरेका थिए ।

कर्मचारी सञ्चय कोषले इन्भेष्टमेन्ट बैंकको सम्पत्ति तथा दायित्व मूल्याकंन (डीडीए) वास्तविक नभएको र यथास्थितीमा १ः१ को अनुपातमा मर्जरमा जान नसकिने धारणा पहिले नै बुझाएको थियो ।

इन्भेष्टमेन्ट बैंकले थप सार्वजनिक निष्कासन (एफपिओ) जारी गर्दा तिनुपर्ने कर नतिरेको भन्दै महालेखाले बेरुजु देखाएको तथा इन्भेष्टमेन्ट बैंकको लाजिम्पाटको घरमा मुद्दा चलेको लगायतका विषयले हिमालयनसँग नेपाल इन्भेष्टमेन्ट मर्ज हुँदा १ः०.७८ अर्थात् नेपाल इन्भेष्टमेन्ट बैंकको १०० कित्ता बराबर हिमालयनको ७८ कित्ताको दरले हुनुपर्ने भन्दै अहिले स्थितीमा मर्जरमा जान नहुने लिखित जानकारी दिएको थियो ।


क्लिकमान्डु