बैंकिङ प्रणालीमा धमाधम फर्कदै बजारको पैसा



काठमाडौं । बैंकिङ प्रणालीबाट सर्वसाधारणले निकालेको पैसा धमाधम प्रणालीमा फर्कन थालेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार दशैं तिहारको समयमा गएको पैसा प्रणालीमा फर्किने क्रम झनै बढेको छ । मंसिर महिनाको तुलनामा पुसमा चलन चल्तिमा रहेको नोट २४ अर्ब २३ करोड २८ लाख २ हजार रुपैयाँले घटेको छ । मंसिर महिनामा ६ खर्ब ५४ अर्ब ८८ करोड १७ लाख ६७ हजार ९१७ रुपैयाँ रहेकोमा पुस समान्तसम्म आइपुग्दा ६ खर्ब ३० अर्ब ६४ करोड ८९ लाख ६५ हजार ७२६ रुपैयाँ रहेको छ ।

राष्ट्र बैंकले प्रकाशित गरेको तथ्याङक अनुसार भदौमा ६ खर्ब ४५ अर्ब ३९ करोड ५९ लाख ९८ हजार ७०० रुपैयाँ रहेकोमा असोजमा चलन चल्तीमा रहेको रकम बढेर ७ खर्ब १३ अर्ब ९८ करोड ८ लाख २२ हजार ९१७ रुपैयाँ पुगेको थियो । कात्तिकमा आइपुग्दा जनताले आफुसँग भएको रकम प्रणालीमा फर्काएका थिए । कात्तिकमा यस्तो रकम ६ खर्ब ८७ अर्ब ७७ करोड ३० लाख ३२ हजार ९१७ रुपैयाँ रहेको थियो । यस्तो रकम मंसिरमा भन्दा पुसमा झनै घटेको छ ।

राष्ट्र बैंक बाहेक अन्य बैंक र सर्वसाधारणमा कति रकम रहेको छ उक्त रकम चलन चल्तीमा रहेको रकममा उल्लेख हुने गरेको राष्ट्र बैंकको भनाइ छ । यस्तो रकम चाडपर्वको समयमा बढ्ने र चाडपर्वपछि घट्ने गरेको छ ।

राष्ट्र बैंकका अनुसार एक महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थालाई दिने ऋण तथा सापटी रकम बढेको छ । मंसिरमा २ खर्ब ४३ अर्ब ५ करोड ६ लाख ३ हजार १८५ रुपैयाँ रहेको सापटी दिएकोमा यो रकम पुसमा बढेर २ खर्ब ४७ अर्ब ८३ करोड १६ लाख ४९ हजार ५३३ रुपैयाँ रहेको छ ।

यस्तै अन्य ऋण तथा सापटी कात्तिकमा रकम पनि बढेको छ । मंसिरमा १५ अर्ब ५५ करोड ५० लाख ४ हजार ७१७ रुपैयाँ रहेकोमा पुसमा यस्तो रकम बढेर १६ अर्ब ४ करोड ९६ लाख ९४ हजार ५४८ रुपैयाँ पुगेको छ ।

राष्ट्र बैंकका अनुसार पुसमा आईएमएफ सम्बन्धी दायित्व ४८ अर्ब ३४ करोड ८५ लाख २२ हजार ५५ रुपैयाँ रहेको छ । यो रकम मंसिरमा पनि यति नै रहेको थियो ।


क्लिकमान्डु