राष्ट्र बैंकको बिफ्रिङ: अर्थतन्त्र समस्यामा, एकतिर भ्वाङ टाल्दा अर्कोतिर प्वाल



काठमाडौ । नेपाल राष्ट्र बैंकले बैंकर र व्यवसायीसँग अर्थतन्त्र समस्यामा रहेको स्वीकार गरेको छ ।

शुक्रबार नेपाल राष्ट्र बैंकले बैंकर र व्यवसायसँग गरेको छलफलमा राष्ट्र बैंकले अहिले भएको विदेशी सन्चितीले ७ महिनाको पनि वस्तु तथा सेवा आयात धान्न नसक्ने स्थिती आएको अवगत गराएको हो । बैठकमा सहभागी एक बैंकरका अनुसार राष्ट्र बैंकले घुमाएर शुक्रबारकको बैठकमा अर्थतन्त्रमा समस्या आएको स्वीकार गरेको हो ।

राष्ट्र बैंकले लकडाउन हटेपछि दक्षिण एशियामा नै जीडीपीको तुलनामा कर्जा बढ्ने देश नेपाल भएको र राष्ट्र बैंकले एकतिरको समस्या समाधान गर्न खोज्दा अर्कोतिर समस्या आउने गरेको जनाएको छ ।

बैठकमा उपस्थित उद्योगी व्यवसायीहरुले कोभिडपछि विस्तारै लयमा आउन लागेको व्यवसायमा बैंक तथा वित्तीय क्षेत्रमा देखिएको तरलता अभावले समस्या भएको बताएका थिए । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले विश्व बजारमा उपभोग्य वस्तुको मूल्य बढेको तथा रेमिट्यान्स घटेको तथा अन्र्तराष्ट्रिय राजनीतिले समेत मूल्यलाई अझै प्रभाव पार्ने हुँदा अर्थतन्त्रमा चुनौती थपिएको बताए ।

‘कोभिडको कारण रोकिएको माग एकैपटक बढ्दा आयात बढेको हो,योसँगै रेमिट्यान्सको बृद्धिदर खासै देखिएन,जसले गर्दा सन्चितीमा चाप पर्यो,’गोल्छाले राष्ट्र बैंकले आयोजना गरेको बैठकमा भने ।

यस्तै गोल्छाले बैठकमा राष्ट्र बैंकले गरेको चालु पूँजी कर्जाको व्यवस्थाले समस्या ल्याउने भन्दै पुरानै व्यवस्था कायम हुनुपर्ने माग गरे । यस्तै निर्माण व्यवसायीका पैसा सरकारले नदिएको कारण समेत बजारमा पैसा अभाव भएको भन्दै उनले बैंकहरुलाई लागत बढे अनुसार मात्र ब्याज बढाउन सुझाव दिए ।
‘लागत बढेपनि कर्जाको ब्याजदर बढ्नु स्वभाविक हो, तर,प्रिमियम धेरै बढाउनु भएन,’गोल्छाले बैठकमा भने । उनले आयातमा राख्नुपर्ने नगद मार्जिनमा बैंकहरुले ब्याजदर दिनुपर्ने माग राखेका थिए ।

नेपाल उद्योग परिसंघका अध्यक्ष बिष्णु अग्रवालले कर्जा नपाएको कारण व्यवसाय गर्न असजिलो स्थिती आएको र बैंकहरुले मनपरी ढंगले ब्याजदर बढाउन लागेको बताए ।

‘बैंकहरुले कर्जाको ब्याजदर बढाएको कारण व्यवसायीरु मारमा छन्,यसरी ब्याजदर बढाउनु भएन,’अग्रवालले राष्ट्र बैंकको बैठकमा भने ।

बैंक तथा वित्तीय संस्था परिसंघ अध्यक्ष पवन गोल्यानले अनुत्पादक क्षेत्रमा बैंकहरुको कर्जा गएको भन्दै यसलाई नियन्त्रण गर्दै जानुपर्ने बताए ।

बैठकमा सहभागी व्यवसायीले बैक तथा वित्तीय संस्थाले ब्याजदर अत्याधिक बढाएको भन्दै बैंकहरुको आलोचना गरेका थिए । बैंकरहरुले भने लागत बढेपछि ब्याजदर बढाएको भन्दै व्यवसायीले डेढवर्ष अगाडि सस्तो ब्याजदरमा ऋण पाएको कुरा भुलेको बताएका थिए ।


क्लिकमान्डु