बजारबाट १० अर्ब उठाउँदै सरकार, तरलतामा थप चाप पर्ने



काठमाडौं । नेपाल राष्ट्र बैकले ४ वर्ष अवधिको लागि १० अर्ब रुपैयाँको विकास ऋणपत्र २०८२‘ङ’ निष्काशन गर्ने भएको छ ।

राष्ट्र बैंकले ४ वर्षको लागि निष्काशन गर्न लागेको विकास ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न पाउने छन् । यो ऋणपत्र धितो राखेर कर्जा लिन दिने सकिने छ ।

ऋणपत्र माघ १६ गते ३ बजेसम्म अनलाइन प्रणालीबाट बोलकबोल पेश गर्नुपर्ने छ । माघ १७ गते निष्काशन हुने ऋणपत्रको साँवा २०८२ माघ १७ गते भुक्तानी गरिने छ । अर्धबार्षिक रुपमा भुक्तानी हुने ब्याजमा ब्याजकर लाग्ने छ ।

ऋणपत्रमा प्रतिस्पर्धी वा अप्रतिस्पर्धी रुपमा सहभागी हुन सकिने छ । प्रतिस्पर्धीको लागि ८५ प्रतिशत अर्थात ८ अर्ब ५० करोड र अप्रतिस्पर्धीको लागि १५ प्रतिशत अर्थात १ अर्ब ५० करोड रुपैयाँ छुटयाईएको छ ।

यसको ब्याजदर बोलकबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँड गरिने रकमसम्म कायम भएको कटअफ ब्याजदरलाई एकल ब्याजदर कायम गरी सोही एकल ब्याजदरमा सो ब्याजदर र सो ब्याजदर भन्दा तलका सबै बोलकबोलवालाहरुलाई ऋणपत्र उपलब्ध गराइने छ ।

सरकारले बजारबाट पुनः १० अर्ब रुपैयाँ उठाउँदा बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम (तरलता) मा चाप पर्ने देखिएको छ । अहिले नैं र्बैंकमा तरलता अभाव रहेको छ । तै पनि सरकारले बजारबाट पैसा उठाउन लागेको हो । यसअघि पनि सरकारले १० अर्ब बजारबाट उठाइसकेको छ ।


क्लिकमान्डु